१ जेष्ठ २०८१, मंगलवार

 

छोरीलाई चिठी !

- बी.पी.कोइराला

प्यारी छोरी, प्यारी चेतना,
धेरै दिनमा तिमीलाई चिठ्ठी लेख्न बसें । तिमीलाई यता धेरै महिनादेखि न लेखे पनि, म खूब संझिरहन्छु । लाग्छ, मेरो मुटुमा तिम्रो तस्वीर टाँसिया छ नउक्किने गरी । तिमीले भने मलाई बिर्सिसक्यौ, तिमीले मलाई संझिरहनु पनि कसरी ? मबाट छुट्टिदा तिमी सानी डेढ (१.५) वर्षकी थियौ, र त्यसपछि आजसम्म १ दिन पनि मसँग बसेकी छैनौ । सुशीलाबाट मेरो बारेमा कुरा सुन्दा मलाई तिमी एकसाथ पराइ त भन्ठान्दिनौ होली, तर गहिरो खालको माया भने तिमी आफ्नो मुटुमा बटुल्न सक्दिनौ हौली मेरा खातिर ।
तिमीलाई म अबदेखि हरेक महिना चिठ्ठी लेख्ने गर्छु न बिराएर । यसरी चिठ्ठीबाट तिम्रो नजिकै हुन्छु । तिमी पनि मलाई बराबर चिठ्ठी लेख्ने गर्नु ।
तिमीलाई पैले पैले चिठ्ठी लेख्दा यहाँका चरा–चुरुगीहरुका बारेमा लेख्थेँ । आजकाल पनि थरिथरिका चुरा चुरुंगीहरु आउँछन् र साँझतिर त एकचोति भयंकर कोलाहल गरेर जेलको शान्तिलाई भंग गरिदिन्छन् । रात बास बस्ने गरी आउने सारौंका हुलको कोलाहलले त एकछिन आकाश नै थर्किन्छ, र राति जति चोटी घंटी बज्छ, उति चोटि उनीहरु पनि निद्राबाट बिउँझिएर चिरिबिरी गर्न थाल्छन् । तर आज म तिमीलाई चरा चुरुंगीहरुको बारेमा लेख्दिन, यद्यपि तिनीहरुले मेरो एक्लो जेल–जीवनमा साथीले गर्ने काम गरेका छन् ।
यहाँसम्म कि मलाई पटक्क मन नपर्ने कौवाहरु पनि यहाँ मेरो साथी जस्ता भएका छन्, जोसँग खानेकुराहरु बाँटेर खान मन लाग्छ ।
अबदेखि तिमीलाई चिट्ठीमा विज्ञानका कुरा लेख्ने गर्छु । मलाई यता विज्ञानमा रुचि भइरहेको छ, र त्यस विषयमा लेखिएका सजिला सजिला कुराहरुलाई पढेर तिनलाई बुझ्न मन लाग्छ । तिमी सोधौली विज्ञान जसलाई साइन्स पनि भन्छन् – के हो ? र किन मलाई यस बूढो उमेरमा त्यसका लागि चाख लाग्यो । त्यो मेरा पछि पछिका चिट्ठीमा खुल्दै जाला, जब तिमीलाई साइन्सका कुरामा चाख जगाउन सकूँला । आज यस चिट्ठीमा साइन्स के हो ? त्यसलाई तिमीलाई बुझाउने कोशिश गर्छु । म पनि भर्खरै यस विषयमा पढ्न थालेको, त्यसो हुनाले साइन्सका बारेमा तिमीलाई धेरै बढ्ता मलाई आउँदैन । अरु कुरो बुझोको हुनाले यस कुरालाई पनि बुझ्न मलाई तिमीलाई जति गहारो पर्ने छैन । तेत्ती मात्र म तिमीभन्दा बढ्ता छु ।
अब विज्ञान भन्ने के कुरो हो त्यसलाई बुझ्ने कोशिश गरौं । तिमी सुशीलालाई आमा भन्दछयौं । यदि मैले तिमीलाई सोधेँ, किन प्यारी चेतना तिमीले सुशिलालाई आमा भनेकी ? – भने तिमी अकमकाउने छौ र शायद मेरो प्रश्नको उत्तर दिन सक्ने छैनौ । यदि उत्तर दियौ भने पनि शायद यति मात्र भन्ने छौ कि सुशिला मलाई माया गर्छिन् त्यसो हुनाले उनी मेरी आमा हुन् । तर फेरि म सोधुँला – चेतना प्यारी तिमीलाई त धेरैले माया गर्छन् विराटनगरमा, बनारसमा, काठमाडौंमा जहाँ पनि तिमीलाई माया गर्ने मानिस छन्, के तिनीहरु सबै तिम्रा आमा हुन् ? तिमी हाँसेर भनौली – आमा हुनलाई स्वास्नी मानिस हुनुपर्छ, तेत्ति पनि नबुझ्ने बाबा । तेत्ति त मैले बुझेको छ प्यारी छोरी, तर तिमीले झन् अर्काे नयाँ कुरा झिक्यौ– स्वास्नी मानिस भन्ने नयाँ कुरो । के हो लोग्ने मानिस र स्वास्नी मानिस भनेको कुरो ? तर तिमीले मेरो पैलेकै सवालको जवाफ दिइसकेकी छैनौ, किनभने जति स्वास्नीमानिसहरुले तिमीलाई माया गर्छन् सबै तिम्री आमा होइनन् । यौटी स्वास्नीमानिस मात्र तिम्री आमा हुन् जसको नाउँ छ सुशिला । यदि विज्ञानको कुरा गर्ने हो भने तिमीलाई धेरै खाँचो पर्दैन आमा को हो भन्ने बुझ्न । तिम्रो मनको मायाको आँखाले सुशिलालाई आमा भनेर देखेको छ । तर विज्ञान अथवा साइन्सले आमा भन्ने को हो भन्ने चिन्न खोज्दा मनको मायाको आँखाले हेर्दैन । त्यसले अर्कै किसिमबाट आमा भन्ने मानिसलाई चिनाउँछ ।
९।। वर्ष पैले तिमी थिइनौ । कतै पनि, आकाश, पाताल, पृथ्वी कतै पनि तिमी थिइनौ । तिमी सबभन्दा पैले बन्नपुग्यौ सुशिलाको पेटमा, सानो सानो आँखाले पनि नभेट्टाउने एकदम थोप्लो जस्तो भएर । ९ महिना जति सुशिलाको अँध्यारो पेटमा टाँस्सिएर बसिरहैं । त्यस अँध्यारो कोप्चो ठाउँमा त्यो सानो थोप्ला ९ महिनासम्म बढ्दा बड्दा हात, गोडा, टाउको र अरु अंगप्रत्यंग भएकी गुडिया जस्ती यौटी सानी केटी बन्दै गई र ९ महिनापछि त्यो सानी, एक हातभन्दा पनि सानी आमाको पेटबाट निस्की । त्यै केटी आज तेत्री ठूली चेतना भएकी छ । पेटमा छँदा तिमी कहाँबाट खाने कुरा खान्थ्यौ ? सुशिलाले जे जे कुरा खान्थी त्यसैबाट सानो भाग तिमीले पनि पाउँथ्यौ, तर तिमी मुखभन्दा नाइटोले आफूलाई चाहिएको भोजन खान्थ्यौ किनभने पहिले पहिले त तिम्रो मुख पनि बनिसकेको थिएन । अब तिमीले विज्ञानको आँखाले हेर्दा आमा भनेको के हो र मायाको आँखाले हेर्दा आमा भनेको के हो त्यसको फरक अलि अलि बुझ्यौ हौली । पछि पछि तिमीलाई चिट्ठीमा यस कुरालाई विस्तारसँग संझाएर लेखूँला जब मानिस कसरी बन्छ भन्ने विज्ञानका कुरा लेख्नुपर्दा । ऐले केवल विज्ञान भनेको के हो त्यसलाई बुझाउन खोजेको मात्र हो । अर्काे उदाहरण दिएर यसलाई अझै राम्ररी बुझाउने कोसिस गर्छु । तर यौटा कुरा सोध्छु पैले – झूठो र साँचो भनेको के हो र साँच्चै भनूँ भने चेतना मलाई पनि राम्ररी थाहा छैन झूठो र साँचो भनेको के हो । ठूला ठूला विद्वान् ज्ञानी पण्डितहरुले पनि जानेका छैनन् क्यार झूठो र साँचो भन्ने कुरालाई । तर राम्ररी नजाने तापनि अलि अलि, कामचलाउका लागि, सबैलाई थाहा छ, नत्र हामी बाँच्न नै सक्ने थिएनौं । आगोले पोल्छ भन्ने कुरा साँचो हो । डोरीलाई साँप भन्ठान्नु हो । सपनाका कुरा पनि विपनामा झूठो हुन्छ । यसरी मानिसले झूठो र साँचो छुट्ट्याउँछन् । सानै केटाकेटीदेखि, छुट्याउन जानेन भने त्यो या त आगोमा डढेर मर्ला या पानीमा डुबेर । पग पगमा हामीहरुले झुठो र साँचो छुट्याउँदै हिड्नुपर्छ । तर त्यस्ता पनि कुराहरु छन् जसमा झूठो र साँचो भन्न गाहारो हुन्छ । दूध मिठो हुन्छ खाँदा भन्ने कुरो साँचो पनि हुन्छ मीठो लाग्ने मानिसलाई, र नमीठो लाग्नेलाई झूठो । आगोले पोल्छ भन्ने कुरो सबैका लागि साँचो हो । अब साइन्स (विज्ञान) चाहिं त्यस्तो साँचो कुरो भन्न खोज्छ जो सप्पैका लागि साँचो हुन्छ “आगोले पोल्छ भन्ने कुरो साइन्सको विषय हो, तर आगो राम्रो हुन्छ” भन्नु साइन्सको विषय होइन । १।। महिना पहिले १५ दिनको फरकमा सूर्य र चन्द्रग्रहण लागेको थियो । तिमीले देख्यौ कि देखिनौ ? सूर्यका उपर कालो टाटो लागेको थियो । त्यस्तै चन्द्रमाका उपर पनि कालो धब्बा लागेको थियो । त्यो देखेर तिमीलाई छक्क लाग्यो होला र सुशिलालाई सोध्यौ हौली किन त्यसो भने भनेर । मान्छेले जति कुरो नयाँ देख्छ त्यसको बारेमा जान्न खोज्छ । हाम्रा आँखाका अगाडि कति कति नयाँ कुरा परिरहन्छन् र तिनीले हामीलाई कुतकुत्याउँछन् के हुन् ती भनेर जान्नलाई । केटाकेटीहरुले झन् खोजीनीति गरिरहन्छन् । त्यसैले आमा–बाहरु झर्केर भन्छन् –कति कुरा सोधिरहेको, चुप लागेर बस । तर खोजीनीति गर्नु मानिसको पहिलो लक्षण हो, र खोजीनीति गर्ने बानीले गर्दा मानिसले धेरै कुरा थाहा पाएको छ र सधै केही न केही नयाँ नयाँ कुरा फेला पारिरहन्छ । त्यै खोजीनीति गर्दा मानिसले चन्द्रमालाई देखेर मनमा सोच्छ – त्यो उज्यालो डल्लो के हो आकाशमा, र कैले त्यसमा टाटो जमेको देखेर मनमा फेरि सोच्छ – के भयो आज चन्द्रमालाई ?
हामीहरुको मनमा जान्ने खुलदुली जागिरहन्छ । त्यो खुलदुलीलाई मेटाउन हामी यताउति खोजीनीति गर्न थाल्छौं, नजीकैको कुरोले खुलदुली मचाएको छ भने त्यसलाई छुन्छौं, कोट्याउँछौं, र त्यो के कुरा रहेछ भन्ने जान्न कोशिस गर्छाैं । कुकुरहरु पनि भैमा सुँघी हिंडछन् । बाँदरहरुको त खोजीनीति गर्ने बानी प्रख्यातै छ – भन्छन्, के बाँदर जस्तो चुलबुल गरिरहेको । मानिसहरुमा सबभन्दा बढ्ता छ चुलबुले बानी यद्यपि दोष भने बाँदरले पाएको छ । मानिसले जान्ने खुलदुलीलाई र अनेक किसिमले शान्त गर्छ–पैले त साइन्सको किसिमले, र यदि त्यो लागेन भने “कल्पना” को किसिमले । चन्द्रमा तेति टाढा छ, आकाशमा, छुन पाइँदैन, त्यसो हुनाले पैले पैले मानिसले त्यो के हो भन्ने साइन्सको किसिमले बुझ्न सकेनन् । र “कल्पना” को किसिमले त्यसको बारेमा सोचेर चित्त बुझाएर भने–त्यो आकाशमा निवास गर्ने देउता हो । र कैले कैले त्यसमा लागेको टाटो चाहिं त्यस देउताको शत्रु यौटा दैत्य हो जसले बीच बीचमा चन्द्रमालाई निलिदिन्छ । तर त्यस दैत्यको घाँटी छिनिएको हुनाले त्यसले मुखबाट त चन्द्रमालाई खान्छ तर उसको छिनिएको घाँटीबाट चन्द्रमा फेरि निस्किन्छन् ।
चन्द्रग्रहणका सम्बन्धमा यस्तो कुरा भन्नु साइन्स होइन ः यौटा कथा मात्र हो, ‘कल्पना’ मात्र हो । झूठो र साँचोका सम्बन्धमा अघि मैले जुन कुरा उठाएको थिएँ त्यसबाट साइन्सले ‘कल्पना’ को यस्तो कथालाई झूठो सावित गर्छ, पछि पछि तिमीलाई लेख्ने चिट्ठीहरुमा चन्द्रमाको बारेमा चर्चा आउने छ, र ग्रहणको बारेमा म लेख्ने छु । यहाँ त मैले यत्ति मात्र भन्न खोजेको हो कि कथा (कल्प्ना र गल्प र साइन्स (विज्ञान) मा के फरक छ ।
यहाँ म यौटा अर्काे उदाहरण दिन्छु तिमीलाई कुरा बुझाउन । हामीहरु पृथ्वीमा छौं । गोडा तलको भुई सप्पै पृथ्वी हो । त्यै पृथ्वीमा बनारस शहर पनि छ जहाँ तेतिका घरहरु छन् र लाखौं मानिस बस्छन् र जहाँ गंगा नदी पनि बग्छिन्, पृथ्वीमै काठमाडौं, विराटनगर, लन्दन, न्यूयोर्क र अनेकानेक ठूला ठूला शहरहरु छन् । पृथ्वीमै अजङगका पहाडहरु छन् । अकाशमा देखिने सूर्य, चन्द्रमा र तारा बाहेक जति कुरा हामी देख्छौं ती सब पृथ्वीमै अब सोच्न सक्छौ कि पृथ्वी कत्रो विशाल कत्रो ठूलो होला । अब यो पृथ्वी, हामीलाई लाग्छ, एक ठाउँमा अडेर बसेको छ, टम्म भएर हलचल नगर्दै । तर त्यसो छैन पृथ्वी आकाशमा हुर्रिएर कुदिरहेको छ बडो वेगसँग र हरेक वर्षभित्र त्यो लाखौं माइल लामो यात्रा गर्छ । पृथ्वीलाई हवाइ जहाज भन्ठानेर सोच जुन हवाइ जहाजमा ३ अरब मानिस चढेका छन् । मानिस मात्र होइन, शहरका शहर, पहाडका पहाड, नदीका नदी साराका सारा जसमा चढेर यात्रा गरिरहेका छन् । तेति मात्र होइन लड्डू घुमेको जस्तो पृथ्वी फन्न चक्कर पनि काटिरहेको छ । तिमीलाई लाग्दो हो यस्तो कुरो कसरी हुनसक्ला । तर कुरा भने यस्तै छ । पृथ्वी चुपचाप एकै ठाउँ अडेर अचल बसेको जस्तो लाग्छ तर साँचो कुरो भने त्यो होइन । साइन्सले प्रमाण दिन्छ र भन्छ – पृथ्वी कुदिरहेको छ । पृथ्वीका सम्बन्धमा तिमीलाई लागेको कुरा झूठो रहेछ ।
मैले झूठो र साँचो के हो भन्ने कुरा संझाउन खोज्दा ३÷४ वटा उदाहरण दिएँ– आगोको, दूधको, ‘कल्पना’को, चन्द्रमाको, तिमीलाई लागेको पृथ्वीको । र यी सप्पै उदाहरणमा साइन्सको पनि चर्चा गरेर मैले– साइन्स के हो ? भन्ने कुरालाई तिमीलाई संझाउने कोशिस गरेँ । तर तै पनि तिम्रो दिमागमा कुरा स्पष्ट भएन होला । मलाई लाग्छ कि अरु अरु चिट्ठीहरुमा म साइन्सले भनेका कुरा भन्दै जाउँला, पृथ्वीका सम्बन्धमा, चन्द्रमाका सम्बन्धमा, तारा, सूर्य, हावा, पानी, सुन, चाँदी, फलाम, पशुपंक्षी, मानिस, कीरा, फटेँग्राका सम्बन्धमा अनि तिमीलाई साइन्सको मर्म पनि खुल्दै आउला । अर्काे चिट्ठीमा म सायद पृथ्वीको बारेमा तिमीलाई लेखूँला । यस चिट्ठीको उत्तरमा लेख्नू कि मैले लेखेका कुरा तिमीले बुझ्यौ कि बुझिनौ, र तिमीलाई कस्तो लाग्यो, चाख लाग्यो कि लागेन ।
तिमीले मलाई चिट्ठीमा आफूले पढ्ने बारेका कुरा, आफ्नो साथीहरुका बारेमा, र मनमा जे जे कुरा आउँछ लेख्नू सबै लेख्नू । म यहाँ तिमीलाई संझेर बसिरहन्छु, र हावा मार्फत् तिमीलाई माया पठाइराख्छु । उमालाई मैले धेरै धेरै संझेको छ भन्नू ।
तिम्रो माया गर्ने
बाबा

सुन्दरीजल,  १६, अक्टुबर, १९६९

प्रतिक्रिया दिनुहोस्