२८ बैशाख २०८१, शुक्रबार

 

बागलुङको शैक्षिक अवस्थामा सुधार ल्याउदै छु —मिश्र

बागलुङको शैक्षिक स्थिति कस्तो अवस्थामा छ ?
संख्यात्मक हिसाबले बागलुङ जिल्लाको शैक्षिक अवस्थाको कुरा गर्दा ५सय ८८ ओटा विद्यालय, ११ ओटा क्याम्पस, ३९१ ओटा बाल विकास केन्द्र, ३ ओटा मदरसा, २६ ओटा सामुदायिक अध्ययन केन्द्र, ३ ओटा वेद विद्याश्रम, निम्न माध्यमिक र माध्यमिक तहका १÷१ ओटा खुला विद्यालय र २ ओटा प्राविधिक शिक्षालयहरु सञ्चालनमा रहेका छन् । ति मध्ये प्राथमिक विद्यालय सञ्चालन हुने विद्यालयहरु ३६७ ओटा रहेका छन् भने माध्यमिक तह कक्षा ९ र १० पढाइ हुने विद्यालयको संख्या ८७ छ भने माध्यमिक तह कक्षा १२ सम्म पढाइ हुने विद्यालयहरुको संख्या ६४ रहेको छ । जिल्लाको १५ वर्ष माथिको उमेर समूहको जनसंख्याको साक्षरता ७१ प्रतिशत छ भने १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्याको साक्षरता प्रतिशत ९८ प्रतिशत रहेको छ । खुद विद्यार्थी भर्ना प्रतिशत ९८ प्रतिशत रहेको छ । शैक्षिक उपलव्धिका हिसाबले बागलुङ जिल्लाको शैक्षिक उपलव्धि राष्ट्रिय शैक्षिक उपलव्धिको हाराहारीमा भएकोले यसलाई कमजोर भन्न नमिले पनि सुधारको प्रशस्त स्थान छ ।
बागलुङलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सक्ने सम्भावना के छ र यस जिल्लालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नका लागि गर्नु पर्ने प्रयास के हुन ?
हालसम्म बागलुङ जिल्लाको बाल विकास शिक्षाको अवस्था हेर्दा यसलाई बाल विकास शिक्षाको गन्तव्य बनाउन सकिने सम्भावना रहेको छ । बाल विकास केन्द्रहरुको व्यवस्थापन र केन्द्रहरुमा हुने सिकाइ वातावरणका कारण धेरै स्थानबाट बागलुङका बाल विकास केन्द्रहरुको अवलोकन गर्न र बागलुङको असल अभ्यासहरुलाई अवलोकनकर्ताको कार्यक्षेत्रमा अवलम्वन गर्ने उद्देश्य लिएर राष्ट्रिय र अन्तराष्ट्रिय व्यक्तिहरुले बागलुङका बाल विकास केन्द्रहरु अवलोकन गरेको अवस्था छ ।
यस जिल्लालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नका लागि राम्रा र प्रभावकारी बाल विकास केन्द्रको अवलोकन गर्न बागलुङ जाऔँ भन्ने नारालाई कार्यान्वयन गर्न आवश्यक छ । बागलुङ जिल्लामा क्षेत्रीय स्तरको बाल विकास शिक्षाको आवाशीय तालिम केन्द्रको विकास गर्न सकियो भने यस क्षेत्रभित्रका मात्र नभई अन्यत्र जिल्ला र बाल विकासका अन्तराष्ट्रिय तालिमहरु यहाँ सञ्चालन गर्न सकिने अवस्था छ । यसो भयो भने बागलुङलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।
बागलुङ जिल्लामा शिक्षाको क्षेत्रमा देखिएका समस्या र चुनौतिहरु के के हुन् ? ति समस्या र चुनौतिहरुलाई समाधान गर्न के के सुधारका कामहरु गर्नु भएको छ?
अन्य जिल्लाको भन्दा बागलुङ जिल्लाका शिक्षाका समस्याहरु भिन्न छैनन् । सदरमुकाम केन्द्रित शिक्षक वितरण, भौगोलिक विकटता, शिक्षक एवं विद्यार्थीको नियमितता, शिक्षकमा भएको दक्षताको पूर्ण उपयोग, कक्षा कोठामा आधुनिक प्रविधिको प्रयोग, शिक्षण –सिकाइमा गुणस्तरीयता, शिक्षकको पेशागत विकास, सार्वजनिक विद्यालयहरुका प्राथमिक तहमा न्यून विद्यार्थी संख्या, विद्यालयबाट विद्यार्थी बाहिरिने आदि बागलुङ जिल्लाको औपचारिक शिक्षा क्षेत्रमा देखिएका समस्याहरु हुन् भने अनौपचारिक शिक्षाको क्षेत्रमा सबै पेशा र व्यवसायमा रहेका सिकारुहरुका लागि आवश्यक ज्ञान र सिप सहितको आजीवन शिक्षाको अवसर प्रदान गर्नु चुनौतिको रुपमा रहेको छ ।
बागलुङ जिल्लामा शिक्षा क्षेत्रमा देखिएका शैक्षिक समस्याहरुलाई न्यूनीकरण गर्नका लागि जिल्ला शिक्षा कार्यालयले विभिन्न प्रयासहरु गरेको छ । जिल्लाका शैक्षिक समस्याहरु समाधान गर्न र शिक्षामा सुशासन, पारदर्शिता र सरोकारवालाको सहभागिता लगायत शैक्षिक गुणस्तरीयताका लागि जिल्लाका प्रधान अध्यापकहरुसँग कार्यालयले कार्यसम्पादन सम्झौता गरेको छ । कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको अवस्थाको सुनिश्चितताका लागि अनुगमन सूचक तयार गरी प्रयोगमा ल्याइएको छ । अनुगमनलाई प्रभावकारी बनाउन प्रयास गरीएको छ । एक विद्यालय एक पुस्तकालय र एक शिक्षक एक झोलाको कार्यान्वयन गरीएको छ । विद्यालयहरुमा वित्तिय अनुशासन कायम गर्नका लागि लेखा परीक्षणलाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ । अब चाडै नै शिक्षा समितिलाई पूर्णता दिइ शिक्षक दरवन्दी मिलान कार्यलाई अगाडि बढाइने छ । यसले विद्यार्थी भएका विद्यालयहरुमा शिक्षकको आपूर्ति हुनेछ ।शुन्य दरवन्दी भएका विद्यालयहरुमा शिक्षक दरवन्दी आपूर्ति गरीएको छ ।
साक्षरतालाई दिगो र परिणाममुखी बनाउन के गर्नु पर्छ? विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई शिक्षाको अवसर कसरी प्रदान गर्न सकिन्छ ?
साक्षरता शिक्षा बिद्यालय शिक्षाको अवसर प्राप्त नगरेका निरक्षरहरुका लागि दिइने शिक्षा हो । बागलुङको सन्दर्भमा विगतमा राष्ट्रिय साक्षरता अभियान र साक्षर नेपाल अभियानले सघन रुपमा साक्षरता कार्यक्रम सञ्चालन गरी बागलुङ जिल्लालाई २०७३ असार महिनामा साक्षर जिल्लाको रुपमा घोषणा गरीए तापनि अझै करिब ५ प्रतिशतको हाराहारीमा निरक्षरहरु बाँकी रहेका र साक्षर भैसकेका नवसाक्षरहरुका लागि साक्षरोत्तर शिक्षाको अवसर प्रदान गर्न बाँकी नै रहेको छ । बाँकी रहेका निरक्षर र नवसाक्षरहरुलाई साक्षरता शिक्षा र साक्षरोत्तर शिक्षाको अवसर प्रदान गर्ने काम भै रहेको छ । तर अहिले हामीले गरेको प्रयास भने अप्रयाप्त छ । नवसाक्षरहरुले प्राप्त गरेको साक्षरता सिपलाई दिगो बनाउन साक्षरता सिपको उपयोग गर्ने अवसरको सृजना गर्नु पर्दछ । यसका लागि नवसाक्षरहरुको घरको वातावरण नवसाक्षर मैत्री र साक्षरता सिपको उपयोगका लागि उनीहरुले पढ्ने र लेख्ने सामग्रीको आवश्यकता पर्दछ । सामुदायिक पुस्तकालयहरुको व्यवस्थाले मात्र यस प्रकारको अवस्थाको सृजना गर्न सकिन्छ । त्यसकारण समुदायमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुमा पुस्तकालयको स्थापना गर्नु पर्दछ ।सामुदायिक सिकाइ केन्द्रहरुलाई आजीवन सिकाइ केन्द्रका रुपमा विकास गर्न आवश्यक छ ।
आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन थप के मेहनत गर्नु पर्दछ ?
विद्यालयहरुमा विद्यार्थी टिकाउन विद्यार्थीको अभिभावकको आर्थिक अवस्था मात्र नभएर अन्य कारकतत्वहरु समेत जिम्मेवार हुन्छन् । अभिभावकको सामाजिक–आर्थिक अवस्था, संस्कृति, विद्यालयको शैक्षिक वातावरण, विद्यालय र घरको दूरी, शारीरिक अपाङ्गता, बालिका र अपाङ्गता भएका बालबालिका प्रति गरिने व्यवहार, विद्यालय व्यवस्थापन र विद्यालयको भौतिक संरचना आदि समेत जिम्मेवार हुन्छन् । त्यसकारण आर्थिक रुपमा विपन्न अभिभावकका बालबालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था, विद्यालयको संरचनाको सुधार, छात्रा र अपाङ्ग मैत्री वातावरणको सिर्जना, शिक्षण –सिकाइ वातावरणमा सुधार आदिलाई विद्यार्थी टिकाउने माध्यमका रुपमा अवलम्वन गर्न सकिन्छ ।

(जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्र सँग गरिएको कुराकानी)

प्रतिक्रिया दिनुहोस्