३ श्रावण २०८३, आईतवार

 

व्यवस्थित ‘ड्रम्पिङ साइड’ नहुँदा बढ्यो प्रदुषण

- असारपछि मात्र ‘सेग्रिगेसन हाउस’ सञ्चालनमा आउने

वरिपरि ड्याम्म तुवालोजस्तो धुँवा देख्दा लाग्छ,बनमा डढेलो लाग्यो होला । तर,बागलुङको सिमाना मालढुंगामा बजारबाट निस्कने फोहोरमा आगो लगाईदिदाँ सहरमा प्रदुषण बढ्दै गएको छ । फोहोर फाल्ने मूख्य थलो मालढुंगामा दुर्गन्ध र धुँवाले त्यहाँका बासिन्दालाई मात्रै पिरोलेको छैन, नजिकै कालिका मन्दिरमा आउने दर्शनार्थी तथा कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटकहरुलाई समेत प्रत्यक्ष असर गरेको छ । फोहोरको फाल्ने निश्चित ठाउँ र मापदण्ड विना जलाउँदा पर्यावरणीय र धार्मिक पर्यटनमा प्रत्यक्ष असर गर्न पर्न थालेको छ । बजारबाट निस्केको संकलित फोहोर मालढुंगामा लगेर जलाउँदा नजिकै रहेको प्रशिद्ध कालिका मन्दिरमा धुवाँ र फोहोरको दुर्गन्धले वातावरण प्रदुषित बन्दै गएको छ ।
कालिका मन्दिर परिशरमा डढेलोको खतरा
फोहोरमा आगो लगाईदा एक त दुर्गन्ध र धुँवामय बनेको छ भने अर्कोतर्फ कालिका मन्दिर परिशरमा डढेलो लाग्ने खतरा उत्तिकै छ । जैविक र अजैविक फोहोर नछुट्याई थुपारिएको फोहोरमा जलाउँनाले बर्षेनी कालिका मन्दिर परिशरमा डढेलो लाग्दै आएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । उनले भनेँ, ‘फोहोर फाल्न उपयुक्त स्थान यो होइन,प्रदुषणले प्रसिद्ध कालिका मन्दिर,पवित्र कालीगण्डकी नदी,करिडोर तथा लोकमार्गको संगम भएकाले प्रत्यक्ष असर पर्छ । यो त धार्मिक तथा पर्यटकीय हिसावले बाधक छ ।’ उनले मालढुंगा बाहेक अन्य ठाउँमा फोहोर विसर्जन गर्नका लागि नगरपालिका तथा अन्य संघसंस्था निकाय सँग समन्वय गरि सहयोग गर्ने बताए ।
धार्मिक पर्यटनमा बाधा
फोहोरमा आगो लगाउँदा निस्केको धुँवाले पर्यावरणीय वातावरणमा हस ल्याइरहेको छ । कालिका मन्दिर मूनि दक्षिणमा तर्फ रहेको सो ठाउँमा फोहोर डढाउँदा प्रत्यक्ष असर मन्दिर र मन्दिरमा आउने तीर्थालु एवं दर्शनार्थीहरुमा पर्ने गरेको छ । व्यवस्थित डम्पिङ साइड नहुँदा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोडिएर जाने मालढुंगामा फोहोर थुपारिने गरिएको छ । प्रसिद्ध कालीगण्डकी नदीमा जलयात्रामा आउने पर्यटकहरुलाई पनि प्रत्यक्ष असर पुर्याएको छ । माथि कालिका तल कालीगण्डकी नदि जस्तो पवित्र स्थलमा अव्यवस्थित रुपमा फोहोर फाल्दा वायु र जलचर प्राणीहरुमा समेत असर पुगेको देखिन्छ । धार्मिक,सांस्कृतिक तथा पर्यावरणीय र पर्यटकीय क्षेत्रको रुपमा रहेको ठाउँमा फोहोर विसर्जन गर्न नहुने मालढुंगाका स्थानीय रेशम थापाले बताए ।
सहकारीले उठाँउछ नगरभित्रको फोहोर
अहिले नगरपालिकाले धौलागिरी फोहोर व्यवस्थापन व्यवस्थापन सहकारी संस्था सँग समन्वय गरी फोहोर संकलन बापतको रकम उठाउने जिम्मा पाएको छ । ३ बर्ष पहिले टेण्डर आह्वानबाट छनोटमा परि झन्डै २७ जनाको सेयर उठाएर सञ्चालन गरिएको सहकारीले अहिले नगरपालिका भित्रको फोहोर उठाउने गरेको छ । सहकारीको २ फोहोर संकलन गाडी र ६ जना कर्मचारीलाई खटाएको धौलागिरी फोहोर व्यवस्थापन तथा बातावरण संरक्षण सहकारी संस्था लि. का अध्यक्ष सुधिर श्रेष्ठले बताए ।
असारपछि ‘सेग्रिगेसन हाउस’
मालढुंगामा निर्मित २ वटा हाउसलाई ‘सेग्रिगेसन हाउस’ आगामी असारपछि सञ्चालन गरिने भएको छ । बजार विभिन्न घर तथा भवनहरुलाई कुहिने र नकुहिने फोहोर संकलन गर्न छुट्टाछुट्टै बाल्टी वितरण गरि फोहोर छुट्याएर कुहिने फोहोरबाट कम्पोष्ट तथा प्राङ्गारिक मल बनाउने र नकुहिने सिसा,प्लाष्टिक जन्य अजैविक फोहोरबाट अन्य सामाग्री बनाउने,पुन प्रयोग गर्ने तथा उचित मोहर पार्ने गरि काम भईरहेको धौलागिरी फोहोर व्यवस्थापन तथा बातावरण संरक्षण सहकारी संस्था लि. का अध्यक्ष सुधिर श्रेष्ठले बताए । उनले भनेँ,‘सेग्रिगेसन हाउसका लागि २ वटा मेसिन र टा«न्समिटर आएको छ । सवै घरहरुलाइ छुट्टाछुट्टै बाल्टी वितरण गर्ने निर्णय भएको छ ।’
१ बर्षभित्र सरसफाईमा नमुना सहर बनाउने लक्ष्य
मालढुंगा स्थित दक्षिणतर्फ पर्ने जग्गामा वरिपरि ५ फिट अग्लो सिमेन्टको पर्खाल सहित तारबार लगाएर फोहोरको उचित व्यवस्थापनमा जुटेपनि प्रदुषण बढेको स्थानीयको गुनासो छ । अहिले उक्त जग्गमा ४ वटा हाउस बनाइएको छ । २ वटा सेग्रीगेसन हाउस (कुहिने र नकुहिने छुट्याउने घर) र अजैविक फोहोर प्रशोधनका लागि २ वटा हाउस बनाइएको छ । कुहिने फोहोरबाट प्राङ्गारिक मलको बनाउने २ वटा मेशिन समेत ल्याई सकिएको श्रेष्ठले बताए । उनले आगामी १ बर्षभित्र बागलुङलाई सुन्दर,हरियाली र सरसफाईयुक्त नमुना सहर बनाउने अभियानमा रहेको बताए ।

‘डम्पिङ साईड’ नहुदाँ बढेको प्रदुषण नियन्त्रण गर्न बागलुङ नगरपालिका कार्यालयले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था सँग समन्वय गरेको बताएपनि कार्यान्वयन हुन नसक्दा समस्या बल्झिएको होे । मालढुंगामा जग्गा खरिद गरी नगरपालिकाले ‘ल्याण्डफिल्ड साइड’को रुपमा प्रयोग गरेको भएपनि फोहोर जलाउन अनुमति नदिएको बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । उनले भनेँ,‘मालढुंगा बाहेक अन्य जिल्लामा जस्तो छुट्टै ठाउँ यहाँ छैन ।फोहोर व्यवस्थापन गर्न त्यस ठाउँलाई ड्रम्पिङ साईडको रुपमा विकाश गर्ने लक्ष्य हाम्रो छ । केही समय अवश्य लाग्छ नैँ ।’ बागलुङलाई ‘ग्रीन सिटी’ को रुपमा विकास गर्न ठोस योजना ल्याउने उनले बताए । अहिले बागलुङ नगरपालिका भित्र मात्रै दैनिक ६ देखि ८ मेट्रिक टन फोहोर निस्कने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung