६ जेष्ठ २०८१, आईतवार

 

आबिष्कार केन्द्रका लागि सुरु भयो बागलुङमा पनि सहयोग अभियान

सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग जुटाउन बागलुङमा पनि अभियान सुरु गरिएको छ ।

‘हाम्रो बागलुङ हाम्रो जिम्मेवारी’ नामक युवा समुहले महावीर पुनलाई हाम्रो साथ अभियानसुरु गरेको हो । अभियान तिन महिना सञ्चालन हुने भन्दै सबै पक्षबाट सहयोग गर्न आग्रह गरिएको अभियन्ता सोम शर्माले बताए ।

बागलुङमा अभियानको सुभारम्भ गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले समाज सेवाले देशको विकास संभव नहुने बताएका छन् । उनले समाज सेवाले राहतको काम गर्ने भएपनि देशको आर्थिक विकासमा योगदान दिनका लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकतामा जोड दिए ।

पुनले देशको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले अहिले पनि ठोस कार्यक्रम ल्याउन नसकेको गुनासो गरे ।

उनले युवा पलायनलाई रोक्दै नेपालमै अनुसन्धानको काम गर्ने तथा उत्पादन बढाउन सकेमा मात्र आत्म निर्भर बन्न सकिने धारणा राखे ।

आविष्कार केन्द्र विकासको एउटा सूचकको रुपमा काम गर्ने जमर्को गरेकोले त्यसले दिने मोडललाई राज्यले स्विकारेर जान सकेमा विकास संभव हुने पनि दावी गरे ।

अन्य देशमा कुल ग्राहस्थ उत्पादनको केही प्रतिशत रकमले अनुसन्धान कार्यमा खर्च गर्ने चलन भएपनि नेपालमा लगानी नभएकोमा उनले चिन्ता व्यक्त गरे ।

‘युवा पलायन रोक्नका लागि उनीहरुको क्षमतालाई कदर गर्दै केही अनुसन्धान गर्न दिनुपर्छ’ उनले भने, ‘विज्ञान प्रविधि मन्त्रालयलाई सक्रिय बनाएर अगाडि बढौं भन्दा पनि सरकारले टेरपुच्छर लगाएन ।’ उनले कम्तिमा ५० करोडबाट काम थाल्दा यो अभियानसफल हुने दावी पनि गरे । कार्यक्रममा सहभागिले पुनको अभियानमा साथ र सहयोग गर्ने धारणा राखेका थिए।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, पत्रकार महासंघका अध्यक्ष, दिल शिरिष, राजनितिज्ञ कृष्ण पाठक, कलाकार लक्ष्मण श्री, समाजसेवि देवबहादुर श्रेष्ठ लगायतले उनको अभियानलाई साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।  कलाकार श्रीले कार्यक्रममै नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको स्वागत र हाम्रो बागलुङ हाम्रो जिम्मेवारी अभियानका अभियन्ता सोम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्