
स्थानीय तहलाई प्रविधिमैत्री बनाउन सहजिकरण गर्ने उदेश्य सहित बागलुङमा शुक्रबार ‘आईटी सेमिनार’ भएको छ । सेमिनारमा नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सञ्चारकर्मी, व्यवसायी लगायतको सहभागिता थियो ।
कार्यक्रममा विद्युतिय हस्ताक्षर, स्मार्ट भिलेज, डिजिटल सिटी, साईबर क्राईम, ई–गभर्मन्स् लगायत सुचना र प्रविधि सम्बन्धि विषयमा छलफल भएको थियो । सुचना प्रविधिको अवधारणा, नेपालमा यसको विकासक्रम, सुचना प्रविधि सम्बन्धि विद्यमान नियम कानुनको बारेमा पनि सहजिकरण गरिएको थियो ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा बागलुङले गरेको कार्यक्रममा क्यानका केन्द्रिय अध्यक्ष ईन्जिनियर विनोद ढकाल, पुर्बअध्यक्ष बिप्लवमान सिंह र केन्द्रिय सदस्य अबिजित गुप्ताले सहजिकरण गरेका थिए ।
कार्यक्रममा क्यानका केन्द्रिय अध्यक्ष ईन्जिनियर विनोद ढकालले सुशासन र आर्थिक समृद्धिका लागि प्रविधिमैत्री प्रशासन तथा सेवा प्रवाहमा प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।
‘आर्थिक अनियमितता तथा भ्रष्टाचारको अन्त्य गर्दै समृद्धिको दिशामा अघि बढ्न प्रविधिको प्रयोग आवश्यक छ’ ढकालले भने, ‘यसका लागि स्थानीय तहका कार्यालय सहित गाउँनगरका नागरिकसम्म ईन्टरनेटको पहुँचसँगै प्रविधिको बारेमा साक्षरता पहिलो सर्त हो ।’
स्थानीय तहमा योजना बनाएर अघि बढे प्रविधिको प्रयोग मार्फत सुशासन र समृद्धि हाँसिल गर्न सकिने बक्ताहरुको भनाई थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले स्थानीय तहमा सुचना प्रविधिको प्रयोग आबश्यक रहेको बताए ।
कार्यक्रममा क्यान महासंघका केन्द्रिय अध्यक्ष ईन्जिनियर विनोद ढकाल, पुर्बअध्यक्ष बिप्लबमान सिंह, बागलुङमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले मन्तव्य राखेका थिए ।
सेमिनारमा बानपाका प्रमुख जनक पौडेल, बाडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजा, उपाध्यक्ष अमरबहादुर श्रीस, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभाकुमारी कार्की, तमानखोला गाउँपालिका अध्यक्ष जोगलाल बुढा, उपाध्यक्ष मानसरी शेरचन, विभिन्न स्थानिय तहका वडा अध्यक्ष तथा सदस्यहरु सहभागी थिए ।
सेमिनारलाई सांसद चम्पादेबि खड्का, क्यान महासंघ नेपाल, बागलुङ नगरपालिका कार्यालय, बागलुङ उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाले आर्थिक सहयोग गरेका आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि तथा प्रशिक्षकलाई मायाँको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम क्यान महासंघ बागलुङका अध्यक्ष कुमार पौडेलको अध्यक्षता, निबर्तमान अध्यक्ष अर्जुन घिमिरेको स्वागत र जिल्ला सल्लाहकार सुदिप राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।