२९ बैशाख २०८२, सोमबार

 

‘पति वियोग सहेकी मनकुमारीलाई प्रकृतीले पनि दया गरेन’

नौ बर्ष पहिले श्रीमान गुमाउनु परेको पिडालाई मन गाँठो पार्दै विस्तारै सम्हालेर जीउँदै आएकी मनकुमारी चोखाललाई प्रकृतिले फेरी विपत्ति निम्त्याईदिएको छ ।

विपन्नता र गरिवीले थात थालो समेत नरहेको अवस्थामा २०५६ सालमा सुकुम्बासी आयोगले दिलाईदिएको जग्गामा सानो छाप्रो बनाएर उनी वस्दै आएकी थिईन् ।

पति वियोगको पिडा सहेर ६३ बर्षको बुढ्यौलीमा एकल जीवन जीउन बाध्य उनको माथिबाट पहिरो झरेर ओत लाग्ने बासस्थान नै भत्काईदिएपछि झन विचल्लीमा परेकी छिन् ।

गलकोट नगरपालिका–७ आँगाखेतकी उनी अहिले छिमेकी श्यामबहादुर थापाको घरमा आश्रय लिएर बसेकी छन् । ‘श्रीमानले छोडेर गए, बुढेसकालमा रेखदेख गर्ने कोहि छैन’ चोखालले आँशु पुछ्दै भनिन्, ‘एक्लै भएपनि जेनतेन मन बाँधेरै वसेकी थिएँ, ओतलाग्ने झुप्रो पनि भत्कियो, अब कसरी÷ कहाँ बसौँ ?’ उनका आफ्ना सन्तान छैनन् ।

असार १४ गतेको बर्षाले घरमाथिको कुलोमा आएको बाढीले उनको घर हिलोमा डुवेको छ । असार महिनामा खन्न लागिएका मल्म–पाण्डवखानी सडकबाट बगेको ढुङ्गा, माटो र लेदो घरभित्रै पसेको छ ।

स्थानीय हुलुवा खोलाको किनारमा रहेको उनको घरपछाडीबाट पहिरो खसेको छ । घर क्षेतीग्रस्त छ । लत्ताकपडा र अन्नपात काम नलाग्ने भएका छन् । माथिबाट ढुङ्गा खसेपछि नजीकै रहेको गोठमा पनि क्षेती पुगेको छ ।

खोलाको किनारमा घर र माथिपट्टी सडक तथा सिचाई कुलो समेत रहेको ठाउँमा पहिरा झरेकाले जुनकुनै बेला पुरै बगाउन सक्ने जोखिम रहेको नगलकोट नगरपालिका–७ का वडा अध्यक्ष टिका बहादुर थापाले बताए ।

पहिरोले स्थानीय दिपज्योती प्राविलाई समेत जोखिममा पारेको छ ।

वडा अध्यक्ष थापाले स्थानीय अगुवासँग आफुले घटना स्थालको अवलोकन गरेरको जानकारी दिए । थापाले वडाबाट सक्दो सहयोग गर्ने भन्दै अन्य क्षेत्रबाट पनि सहयोग गरिदिन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung