
आगामी आर्थिक बर्षको योजना तर्जुमा गर्ने विषयमा गलकोट नगरका सरोकारवाला विच छलफल भएको छ । आर्थिक बर्ष २०७४/७५ का लागि नगरमा सञ्चालन गरिने योजना छनोट गर्ने विषयमा सुझाव लिन गलकोट नगरपालिकाले हटियामा कार्यक्रम गरेको हो ।
सो अवसरमा नगरलाई कसरी समृद्धि बनाउन सकिन्छ भन्ने वारेमा सुझाव आएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताले नागरिकले प्रत्यक्ष लभ दिन सक्ने योजना छनोटमा ध्यान दिनुपर्ने बताए । उनीहरुले नगरलाई समृद्ध बनाउन योजनावद्ध विकासको अवधारणा अवश्यक रहेको बताए ।
दिगो योजना निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञको सुझाव लिनुपर्ने उनीहरुको भनाई थियो । छिटो छरितो सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा वक्ताले जोड दिए ।
नगरको सडक, कृषि, शिक्षा, सञ्चार, स्वास्थ्य, पर्यटन, खानेपानी, विद्युत, युवा स्वरोजगार, महिला हिंसा न्यूनिकरण, सिचाई, नगर भित्रको फोहोर व्यवस्थापन, नगरपालिका कार्यालयको लागि घडेरी व्यवस्थापन जस्ता सरोकारका विषयलाई प्राथमिकतामा राखेर योजना छनोट गर्नुपर्ने सुझव आएको छ ।
कार्यक्रममा पुर्व सभासद पूर्णबहादुर राना, नेपाली काग्रेस गलकोट नगर संयोजक नारायण ध्वज मल्ल, नेकपा एमालेका जिल्ला सदस्य बुलबहादुर केसी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, बैसाख ३१ गतेको निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोचा, नयाँ शक्तिको तर्फबाट नगरप्रमुखका उम्मेद्वार क्रमश फमलाल निउरे, टंक बहादुर केसी र बम बहादुर गुरुङ तथा गलकोट बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मकुन्द भण्डारीले आफ्नो धारणा राखे ।
कार्यक्रम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको अध्यक्षता र कार्यकारी अधिकृत प्रदिप चन्द्र सुवेदीको सञ्चालनमा भएको थियो ।