नेपालका लागि व्यापारिक तथा पारवहनको हिसाबले महŒवपूर्ण कालीगण्डकी करिडोरकोे ट्र्याक नेपाली सेनाले खोलेको छ। यो सडकले उत्तर र दक्षिणका छिमेकी चीन र भारतलाई जोड्ने भएकाले पारवहन र व्यापारिक दृष्टिले मुलुकका लागि निकै महत्व राख्छ। राष्ट्रिय गौरवको यो सडकले चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका (उपल्लो मुस्ताङ) देखि भारतको सुुनौली नाकासम्म जोडने छ। यसको दुरी चार सय ३५ किलोमिटर छ। कोरलादेखि सुनौलीसम्मको दुरी भने तीन सय ४५ किलोमिटर मात्र हो।
भूपरिवेष्ठित मुलुकका लागि दुई मुलुक जोड्ने सडकले व्यापारका साथै पारवहनमा धेरै महŒव राख्ने विज्ञहरु बताउँछन्। गत वर्ष भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा चीन जोड्ने यस्ता सडक सञ्जाल नभएकै कारण सर्वसाधारणले निकै सास्ती पाएका थिए। पूर्वप्रधानमन्त्री केपी ओलीका पालामा चीनसँग पारवहनको दृष्टिकोणले महŒव राख्ने विभिन्न सम्झौता भएका थिए। त्यसपछिका सरकार ती सम्झौता कार्यान्वयन गर्ने तयारीमा लागे।
नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो सडकको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्र्याक निर्माण भएपछि ट्र्याक खन्ने सबै काम सकिएको हो।
नेपाली सेनाको निर्माण कार्यदलका अनुसार यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्र्याक खोलिएको हो। निर्माण कार्यदलका सहायक रथी उद्धब विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्न सक्ने बनाइएको जानकारी दिए। बागलुङ खण्डमा मात्र करिब ५६ करोड रुपैयाँ खर्च भएको छ।
अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने करिडोर निर्माण कार्यदल प्रमुख रेश्मिराज भट्टराईले बताए। ‘दुई देशलाई जोड्ने छोटो सडक निर्माण भएको छ,’ भट्टराईले भने, ‘ठूला भिर–पहरा भए पनि जोखिम मोलेर ट्र्याक खोल्यौं। ‘
असार मसान्तसम्म ट्र्याक खोल्ने प्रतिबद्धता जनाएको सेनाले एक साताअघि बिहीबार नै ट्र्याक खोलेको छ। करिडोर अन्तर्गत बागलुङ खण्डको गौदी खोला, ठेउलेखोला, चौरी खोला, लौंवाखोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने छ। ‘बर्खामा गाडी गुडाउन पुल पनि निर्माण गर्दैछौं,’ भट्टराईले भने, ‘ठेउलेखोलाको लागि बेलिब्रिजका सामान ल्याइसकेका छौं।’ सो खोला ठूलो भएकाले बेलिब्रिज पनि एक सातामै जोड्ने उनले बताए। त्यसको लागि थप थप १० करोड रुपैयाँ खर्च भएको सेनाले जनाएको छ।

नागरिक दैनीकको आर्थिक पेजमा प्रकाशित
ट्र्याक खोले पनि रिटेनिङ वाल, ग्राभेल लगायत काम गर्न थप बजेट आवश्यक रहेको सहायक रथी बिष्टले बताए। ‘बर्खामा ट्र्याक खोलेकोले पहिराहरु आइरहन्छन्,’ बिष्टले भने, ‘थप बजेटको व्यवस्था भए निरन्तर काम गर्छौं।’ त्यसको लागि २५ करोड रुपैयाँ माग गरेको उनले बताए।
भारतका हिन्दु अब शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारै–किनार मुक्तिनाथ मन्दिरको दर्शन गर्न जान सक्नेछन्। चीनका बौद्ध धर्मावलम्बी पनि सोही मार्ग हुँदै लुम्बिनी पुग्न सजिलो हुन्छ। यो करिडोरले त्रिदेशीय व्यापार अभिवृद्धि गर्न टेवा पुग्ने बागलुङ क्षेत्र नं २ का सांसद प्रकाशशर्मा पौडेलले बताए। ‘भारत र चीनबीच ‘कनेक्टिभिटी’को लागि सडक निर्माण गरिएको हो,’ संसदको विकास समिति सदस्य रहेका सांसद पौडेलले भने, ‘नेपालमा ट्रान्जिट रुट बनाउने योजना पूरा हुँदैछ।’
कालीगण्डकी नदीको पश्चिममा निर्माण भएको छ। बागलुङबाट गुल्मी, पाल्पाको राम्दी पुलबाट बुटवल हुँदै भैरहवा सुनौली नाका पुगिन्छ। पहिले–पहिले तिब्बतबाट नुन ल्याउने र भारतमा व्यापार गर्ने सिल्करोड अब ‘ट्रान्जिट रोड’ बनेको छ।
करिडोरमा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दी लगायत प्रसिद्ध मठ–मन्दिर रहेकाले धार्मिक रुपमा पनि महŒवपूर्ण छ। यो सडक बनेपछि करिडोर आसपास १० लाख जनसंख्या बसोबास रहेको क्षेत्रमा बसाइँसराइ कम हुने विश्वास लिइएको छ।
बागलुङका दुर्गम जैदी, छिस्ती सडक सञ्जालबाट जोडिएपछि त्यहाँका स्थानीय उत्साहित छन्। बागलुङको मालढुंगाबाट नारायणस्थान टाकुरी, जैमुनीघाट, बिनामारे, अर्जेवा, जैदी हुँदै छिस्तीबाट गुल्मीको पालुङ खोला जोडिन्छ। गुल्मी खण्डमा सेनाले गत वर्ष नै ट्र्याक खोलेपछि सुनौली, पाल्पा, गुल्मी हुँदै बागलुङको छिस्तीसम्म गाडी गुडिरहेका छन्।
करिडोर निर्माणपछि जिल्ला सदरमुकाम जान सजिलो भएको जैमुनी नगरपालिका–८, छिस्तीका वडाध्यक्ष रमाकान्त अधिकारीले बताए। ‘नगरपालिका भए पनि सदरमुकामसम्म सडक जोडिएको थिएन,’ अधिकारीले भने, ‘करिडोरले यातायातको पहुँच बढाएको छ।’
ट्र्याक खोलेपछि सडकछेउमै बन्द अवस्थामा रहेको बलेवा बिमानस्थल सञ्चालनमा आउने आसमा स्थानीय छन्। करिडोरले सडकको पहुँचसँगै यस आसपासको कृषि उत्पादनले सहज रुपमा बजार पाउन पाउँछ। करिडोरले दुई छिमेकीबीच व्यापार प्रवर्द्धन हुने अपेक्षा छ।
करिडोरको नवलपरासीदेखि बागलुङको मालढुंगासम्म २८ मोटरेबल पुल बनाउनुपर्ने कालीगण्डकी करिडोरको आयोजना कार्यालयले जनाएको छ ट्र्याक खोलेपछि आगामी वर्षबाट कालोपत्रे सुरु गर्ने तयारी छ ।
सोही करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पुल निर्माणसँगै स्तरोन्नतिको काम भइरहेको छ। कोरलासम्म तिब्बततर्फबाट पनि गाडी आइपुग्छन्। दुईतर्फबाट सीमासम्म सडक पुगे पनि चिनियाँ पक्षको कारण नाका बन्द छ। संसदको विकास समिति सभापति रविन्द्र अधिकारी नेतृत्वको टोलीले करिडोरसहित कोरला नाकाको अवलोकन गरी सो नाका सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिएको छ।
चीनले सुरक्षा संवेदनशीलता देखाउँदै बन्द गरेको सो नाका खोल्न पहल भए पनि खुल्न सकेको छैन। लामो समयदेखि बन्द रहेको सो नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ प्रधानमन्त्री बेन जियाबाओबीच सम्झौता भए पनि कार्यान्वयनमा आएको छैन।
सरकारको २० बर्से सडक यातायात नीति अन्तर्गत गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकृत शासन पद्धतिमा सघाउ पुग्ने अपेक्षासहित करिडोर निर्माण गरिएको हो। सरकारले करिडोरसहित चीनसँग व्यापारिक सम्बन्ध बिस्तार गर्न १३ नाकामा सडक पुर्याउने तयारी गरेको छ। चीनसँग रणनीतिक महŒवका नाकासम्म सडक जोड्न निर्माणको काम भइरहेको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले जनाएको छ । चीनसँगका पाँचवटा नाका दुई वर्षभित्र र थप आठ नाकामा पाँच वर्षभित्रमा सडक पुर्याउने योजनासहित काम भइरहेको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए। ‘चीनसँग जोड्ने सडक पाँच वर्षभित्र दुई लेन बनाएर सवारी गुडाउने योजना छ,’ सिग्देलले भने, ‘चीनको सीमासम्म पुग्ने यी सडक रणनीतिक महत्वका छन्।’
फाईल फोटो–कालीगण्डकी करिडोर
नागरिक न्युज डटकमबाट













































































































































































































