पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार गर्दा करोड लगानी गरेर बनाईएको सामुदायिक भवन भत्किएको छ । नजिकैका १० घर पहिरोको उच्च जोखिममा परेका छन् ।
लोकमार्गको बागलुङ बुर्तिबाङ सडकमा पर्ने बागलुङ नगरपालिका–३ बाँझाखेतमा सडकमाथि रहेको भवनको जमिन पुरै भासिएको छ । भवन काम नलाग्ने गरि चर्केको छ । भवन बागलुङ बुर्तिबाङ सडक खन्ने क्रममा एडिविले बनाईदिएको थियो ।
यो पक्की भवन केहि बर्ष पहिलेदेखि प्रयोग विहीन रहेपनि अहिले मुलपानी बालविकास केन्द्र र रेडक्रसको मुलपानी उपशाखा कार्यालय सञ्चालन हुँदै आएका थिए । भवन पछिल्लो समय जिर्ण बन्दै गएको थियो ।
स्थानीय यज्ञराज पन्त, मुरारीप्रसाद सापकोटा, यमुना सुवेदी, कुमार किसान, शिव सेवदी, प्रेमराज पन्त लगायत १० घर रहेको बस्ती नै जोखिममा हो । ‘सडकको भित्तातिर स्काभेटरले खनेर छोडिएको थियो’, आफ्नो घरसमेत जोखिममा परेका यज्ञराज पान्तले भने, ‘अहिले त बाटोदेखि माथिबाट पहिरो खसेको छ, ‘तत्काल रोकथाम नभए गा“उनै पहिरोमा बग्ने खतरा छ ।’
पहिरो गएको ठाउँको बागलुङ प्रहरीले निरीक्षण गरेर फर्किएको छ । ‘भवनमा पुरै क्षेती भएछ’, घटना स्थल पुगेका प्रहरी निरीक्षक सुरेन्द्र ढुङ्गानाले भने, ‘दश घर अझैपनि जोखिममै छन् ।’
पहिरोको जोखिम रहेको ठाउँमा ठेकेदारले खनेर छोडेका कारण समस्या आएको स्थानीयको भनाइ छ । स्थानीय अरुण गौतमले जोखिम भएको ठाउँमा खनेर छोड्नु ठेकेदार र मध्यपहाडी लोकमार्गको समेत असावधानी भएको बताए । थप क्षेती हुनबाट जोगाउन सडकमा जाली लगाएर रोकथाम गर्नुपर्ने देखिन्छ ।
‘हामीले सम्बन्धित निकायलाई खवर गरेका छौँ’, रेडक्रसको मुलपानी उपशाखा सभापती भिमसेन पन्तले भने, ‘पहिरो नियन्त्रणको पहल भईरहेको छ ।’ बालविकास केन्द्र अर्को भवनमा सारेर सञ्चालन गरिएको छ । क्षेती भएको भवन निर्माणका लागि माग गरिएको पन्तले बताए ।
लोकमार्गका ईन्जिनियर पानसजी शाहीले सडक विस्तार गर्दा खनिएको ठाउँमा पहिरो गएकाले क्षेती बताएको बताएका छन् । कामदार अहिले घर गएकाले काम रोकिएको भन्दै अब तत्काल काम सुरु गर्ने उनको भनाई छ ।
पहिरोको रोकथाम गरि थप क्षेती हुन नदिन तत्काल काम थाल्ने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रतिबद्धता जनाए । घटनाको थप अध्ययन गर्दा सडक निमार्ण गर्ने निकायको कामजोरी देखिए सम्बन्धित पक्षबाट क्षेतीपुर्ती दिलाईने उनको भनाई छ ।
बर्षतमा समेत लोकमार्ग विस्तार र स्तरोन्नतीको काम भईरहको छ । पानी परेपछि सडक हिलाम्य भएर यात्रा जोखिमपुर्ण र कष्टकर हुने गरेको यात्रुको गुनसो छ । यो सडकबाट सदरमुकाम बागलुङ बजारदेखि गलकोट, खरर्वाङ, बुर्तिबाङसम्म दैनिक सयौँ सवारी साधन आउने जाने गर्छन् ।



















































































































































































































