३ श्रावण २०८३, आईतवार

 

‘बागलुङ टेलिकमको सेवा अब एउटै कोठाबाट’

नेपाल टेलिकम बागलुङले आधुनिक ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । सेवा लिन कार्यालयका विभिन्न कोठा (कक्ष) मा धाउनुपर्ने बाध्यता हटेको छ ।
टेलिकमले सेवा प्रवाहलाई व्यवस्थित र ग्राहकमैत्री बनाएको कार्यालय प्रमुख इन्जिनियर केशव शर्माले बताए । ‘सबै खाले सेवा एकै ठाउँबाट दिने व्यवस्था मिलाएका छौं’ शर्माले भने, ‘यसबाट ग्राहकलाई सहजता र सन्तुष्टी मिल्ने हाम्रो विश्वास छ ।’
कार्यालयका अनुसार मोबाइल, ल्यान्डलाइन फोन, इन्टरनेट, सिमकार्ड सम्बन्धी काम, बिल तिर्ने लगाएतका सेवा आइतबारदेखि एउटै कोठाबाट दिन सुरु गरिएको छ । यसअघि छुट्टा–छुट्टै ठाउँबाट सेवा दिने गरिएको थियो ।
ग्राहक सेवा केन्द्रले सेवा लिने/दिने कार्यलाई सरल र स्तरीय बनाउनुका साथै समयको समेत बचत हुने कार्यालय प्रमुख शर्माले बतए । आधुनिक साज–सज्जा सहितको कोठामा वातानुकुलित प्रविधि (एसी) को समेत व्यवस्था गरिएको छ ।
ग्राहकलाई पिउने पानी, विश्रामको लागि कुर्ची, मोबाइल चार्ज लगाएतका सुविधा पनि उपलब्ध गराइएको छ । सेवा प्रवाहलाई चुस्त बनाउन चार जना कर्मचारी उक्त ग्राहक सेवा केन्द्रमा खटाइएको छ ।
‘गुणस्तरीय सेवा दिन नयाँ सेवा केन्द्र बनाइएको हो’ कार्यालय प्रमुख शर्माले भने, ‘यसले टेलिकमप्रति ग्राहकको आकर्षण पनि थप्नेछ ।’ टेलिकमले नेटवर्क विस्तारसँगै सेवा दिने कार्यलाई पनि ग्राहकमैत्री बनाउनुपर्ने उनको भनाइ छ ।
धेरै ठाउँ धाउनुपर्ने, उभिरहनुपर्ने लगाएतका झण्झटबाट ग्राहकले मुक्ति पाएको टेलिकमका सेवाग्राही सगुन सापकोटाले बताए ।
सर्वसाधारणलाई सहज रुपमा सेवा दिन अन्य कार्यालयले पनि यस्तो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
‘साधुरा झ्यालमा भीड लागेर उभिनुपथ्र्यो, अब धेरै सहज भएको छ’ सापकोटाले भने, ‘ग्राहकले सेवा केन्द्रमा छिर्दा आनन्द र सन्तुष्टी मानेर फर्कर्ने अवस्थाको सिर्जना भएको छ ।’
टेलिकमले धवलागिरि क्षेत्रमा नेटवर्क विस्तारलाई पनि तिव्र गतिमा अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung