८ कार्तिक २०८३, शनिबार

 

प्रहरीले पश्चिम बागलुङबाट एक हजार रोपनी क्षेत्रफलको गाँजा नष्ट ग¥यो

बागलुङ प्रहरीले ठुलो क्षेत्रफलमा लगाईएको गाँजा खेती नष्ट गरेको छ । पश्चिम बागलुङको निसी र रणसिंहकिटनीका विभिन्न ठाउँ गरि ९ सय ८५ रोपनी क्षेत्रफलमा भएको गाजा खेती फाँडेर नष्ट गरेको प्रहरीले जनाएको छ ।

निसीखोला गाउँपालिका र बाडिगाड गाउँपालिकाका विभिन्न स्थानमा पुगेर प्रहरीले गाँजाका बोट फाँडेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए । ‘अबैद्य रुपमा लुकिछिपि लगाईएको गाँजाका बोट फाँडेर नष्ट गरेका छौँ’, खापुङले भने, ‘ठुलै मात्रामा गाँजा खेती गरेको पाईयो, कानुनले प्रतिबन्ध गरेको काम कसैले गर्न पाउँदैन ।’

एसपी चन्द्रकुबेर खापुङ

निसीखोला गाउँपालिकाको भलकोट, चल्माहर, सर्पडाँडा, केसीखोला र धनसिंह डाँडा तथा बाडिगाड गाउँपालिकाको रणसिंहकिटेनी, खोलाखर्क, रानाबगर र तीनधारे भन्ने ठाउँको गाँजा नष्ट गरिएको हो । गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय बागलुङ, ईलाका प्रहरी कर्यालय बुर्तिबाङ र स्थानीय प्रहरी चौकीबाट गरि एक सय जना प्रहरी खटाईएको थियो ।

ईप्रका बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरको नेतृत्वमा खटिएको प्रहरीले साउन दास्रो साता ५ दिन लगाएर झण्डै हजार रोपनी क्षेत्रफलको गाँजा फाँडेको एसपी खापुङले बताए । पश्चिम क्षेत्रको माथिल्लो भुभागका भिराला बारी, पाखा तथा खोलाा किनारमा गाँजा खेती बढी हुने गरेको प्रहरीको भनाई छ ।

‘लगाईएको प्रकृती हेर्दा व्यवसायिक खेती नै गरेजस्तो देखिन्छ, हामी जाँदा स्थानीयवासी भने भेटिँदैनन्’, खापुले अगाडी थपे, ‘तस्करले गाँजा उत्पादनको लागि स्थानीयलाई प्रयोग गरेको पनि हुनसक्छ ।’ चैत्र–बैसाखमा गाँजा रोप्ने र असोज कार्तिकमा गाँजाको पातबाट चरेस बनाएर विक्रि हुने गरेको प्रहरीले बताएको छ ।

विभिन्न स्थानमा गाँजा तस्करी पक्राउ हुँदा बागलुङबाट लगेको पाईएकाले प्रहरीले खेती हुने सम्भावित ठाउँलाई निगरानीमा राखेर न्युनिकारणको प्रयास गरेको जनाएको छ ।

एकचोटी लगाएपछि त्यसबाट गेडा झरेर आँफै बोट उम्रिने भएकाले जंगलभित्र पनि खेती हुने गरेको प्रहरी बताउँछ । यसरी लगाईएको गाँजा तथा भाँगोबाट प्राप्त हुने गेडा स्थानीयले अचार खानका लागि पनि प्रयोग गर्छन् । ठुला–ठुला होटलहरुमा समेत भाँगोको चट्नी प्रयोग हुने गरेको छ । यसैको पातबाट चरेस उत्पादन हुने गरेको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung