
निरन्तरको वर्षाले गलकोट नगरपालिका ७ तल्लो सिरबारेमा घिमिरे खत्री कुल मन्दिर पहिरोको उच्च जोखिममा परेको छ । गए रातीको भारी वर्षाले कुल मन्दिर मुनिबाट ठुलो पहिरो खसेको थियो ।
रुख सहितको पहिरो खसेपछि मन्दिर उच्च जोखिममा रहेको र जुन कुनै बेला मन्दिर समेत खस्न सक्ने घिमिरे खत्री कुल सुधार समितिका सचिव भीम केसीले बताए ।
गत जेठ र असारमा मल्म पाण्डवखानी सडकको स्तरोन्नतिको क्रममा मन्दिर नजिकसम्म सडक कटिङ गरिएकोले उक्त मन्दिर पहिरोको उच्च जोखिममा परेको केसीले बताए ।
भिरालो साघुरो जमिनमा माटो मात्रै रहेकोले यस अघि पनि पहिरो खसेको थियो । उक्त स्थानमा तत्काल ग्याबिन जाली नलगाए थप क्षति हुने स्थानीयको भनाई छ । त्यसका लागि गलकोट नगरपालिकाको कार्यालय र ईलाका प्रहरी कार्यालय हरिचौरमा समेत जानकारी गराईएको केसीले बताए ।
पहिरो पछि आजै गलकोट नगरपालिका ७ का वडा सदस्य लोक बहादुर थापा र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का अध्यक्ष छुम बहादुर थापाले स्थलगत अवलोकन समेत गरेका थिए ।