यहाँका स्थानीय तहमा कर्मचारी नहुँदा वडाध्यक्षले सचिवको काम गर्न बाध्य भएका छन् । जिल्लाको बाग्लुङ नगरपालिका बाहेक अन्य स्थानीय तहमा आवश्यकता अनुसार वडा सचिव नहुँदा सामान्य सिफारी लिन पनि स्थानीयले सास्ती व्यहोर्नु परेको छ । एउटै वडा सचिवले विभीन्न वडाको जिम्मेवारी लिँदा यहाँका जननिर्वाचित वडाध्यक्षहरुले सचिवको काम गर्नुपरेको छ । सचिवले दुई वटा वडाको जिम्मेवारी लिएपछि वडामा सिफारीस लिन आउने स्थानीयलाई आफैले सिफारीस पत्र लेखेर पठाउने गरेको गल्कोट नगरपालिका—११ रिघाका वडाध्यक्ष डम्बर श्रीसले बताए । ‘सचिवज्यूले अर्को वडाको पनि जिम्मा लिएपछि मलाई समस्या थपिएको छ,’ वडाध्यक्ष श्रीसले भने,‘वडाले दिने सिफारीस आफै लेखेर दिने गरेको छु ।’ सामान्य सिफारी लेखेर दिएपछि पञ्जीकरणमा समस्या हुने गरेको उनले बताए ।
‘सबै घटनाक्रम दर्ताको बारेमा हामीलाई जानकारी हुँदैन, त्यसले समस्या भएको छ,’ उनले भने । पुनःसंरचनाका क्रममा जिल्लालाई १० स्थानीय तह र ८५ वडामा विभाजन गरिएको थियो । जिल्लाको बाग्लुङ नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा कुनै पनि सबै वडामा सचिव छैनन् । यहाँका एउटै सचिवले पाँच वटा वडाको जिम्मेवारी लिएका छन् । जिल्लाको पश्चिममा रहेको ९ वटा वडामा विभाजित ढोरपाटन नगरपालिमा दुई जना मात्र वडा सचिव छन् ।‘नौ वटा वडाको काम दुई जनाले हेरिरहनुभएको छ,’ ढोरपाटन नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले भने,‘कमलप्रसाद कँडेलले ५,६,७,८,९ र विष्णु शर्माले १,२,३,४ नम्बर वडा हेरिरहनुभएको छ ।’ जिल्लाको बरेङ गाउँपालिकामा पाँच वडा दुई सचिव, काठेखोलामा ८ वडामा ४ सचिव, ताराखोलामा पाँच वडामा दुई सचिव, बडिगाडमा १० वडामा ६ सचिव, जैमिनी नगरपालिकामा १० वडामा ८ सचिव, निशीखोला गाउँपालिकामा ६ वडामा दुई सचिव, तमानखोलामा ६ वडामा दुई सचिव, गल्कोट नगरपालिकामा ११ वडामा ६ सचिव कार्यरत छन् । गाउँमा वडा सचिव नहुँदा काम गर्न निकै अप्ठ्यारो हुने गरेको जनप्रतिनिधिहरुको गुनासो छ । बागलुङका स्थानीय तह वडा संख्या र कार्यरत सचिवको संख्या
वडा सचिवमा मात्र होईन स्थानीय तहको निर्वाचन भएको तीन महिला पूरा भैसक्दा पनि सरकारले आवश्यकता अनुसार कर्मचारीको व्यवस्थापन गर्न नसक्दा स्थानीय तहको केन्द्रले प्रवाह गर्ने सेवा समेत प्रभावित भएको छ । गाउँ÷नगरमा सम्बन्धित विषयका जानकारी कर्मचारी नहुँदा प्रायः काम ठप्प छन् । जिल्लाको १० स्थानीय तहमध्ये बाग्लुङ नगरपालिका बाहेक अन्य सबैमा कर्मचारीको अभाव छ । नयाँ गठन भएका नौ वटा स्थानीय तह कार्यकारी अधिकृत, लेखापाल र एक जना नायब सुब्बा भरमा छन् । कतिपय तहमा लेखापाल पनि छैनन् । गाउँपालिकामा प्राविधिक कर्मचारी नहुँदा विकास निर्माणका ठोस योजनाहरु निर्माण गर्न नसकिएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गुनासो गरे । ‘गाउँपालिकामा अझै प्राविधिक कर्मचारी पुगेका छैनन,’ अध्यक्ष बुढाले भने,‘इन्जिनियरहरु गाउँ नगएसम्म बजेट कार्यान्वयनको पक्रिया शुरु हुन सक्दैन । अहिले काम पुरै ठप्प छ । नयाँ बनेका गाउँ नगरपालिकामा अहिले केबल सिफारीस दिने काम मात्र हुने गरेको बडिगाड गाउँपालिकाका कार्यकारी अधिृकत दुर्गाप्रसाद पौडेलले बताए । गाउँपालिकामा खटिने शिक्षाका कर्मचारी तत्काल गाउँ आएर काम शुरु नगरे शिक्षकहरुले दशैंमा तलब खान नपाउने अवस्था रहेको उनले बताए । कर्मचारी व्यवस्थापन समितिका सदस्य सचिव एवं स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले सबै तहमा प्राविविधिक कर्मचारीहरु पठाएको बताए पनि कार्यस्थलमा पुगिसकेका छैनन् । ‘प्राविधिक कर्मचारी खटाएको भनेर चिठी आएको छ,’ ताराखोला गाउँपालिकाका कार्यकारी अधिकृत शान्ति पौडेलले भनिन्,‘मान्छे अझै आईपुग्नुभएको छैन । केही दिनमा आउनुहोला ।’ स्थानीय विकास अधिकारी आचार्यले जिल्लामा कुन कुन कार्यालय रहने नरहने भन्ने टुङ्गो नलाग्दा समस्या भएको बताए । ‘जिल्लामा कुन कार्यालय रहने कुन नरहने भन्ने टुङ्गिएको छैन,’ उनले भने,‘यहाँका कार्यालयलाई कर्मचारी पठाईदेउ भन्दा कर्मचारी यही थोरै छन् भन्ने जवाफ आउँछ ।’ प्राविधिक कर्मचारीहरु सबै गाउँ÷नगरमा पठाईसकिएको र वडा सचिवको समस्या समाधान गर्ने प्रयास भैरहेको उनले सुनाए । ‘प्राविधिक कर्मचारी त हामीले पठाईसकेका छौं,’ उनले भने,‘वडा सचिवको समस्या ठूलो देखिएको छ । हामी त्यसैको गृहकार्यमा छौं ।’ यहाँका अधिकाँस विषयगत कार्यालयले आफ्नो कर्मचारी स्थानीय तहमा पठाएका छैनन् । जिल्ला जनस्वास्थ्य कार्यालयले कर्मचारी तोके पनि दोहोरो भूमिका दिएकाले समस्या देखिएका छ । ‘स्वास्थ्य कार्यालयले कर्मचारी तोकिदिएका छ,’ तमानखोला गाउँपालिका कार्यकारी अधिृकत खिमबहादुर विकले भने,‘ वडाको स्वास्थ्यचौकी इन्चार्जलाई गाउँपालिका हेर्ने जिम्मा दिईएको रहेछ ।’ शिक्षाबाट खटाउने कर्मचारी मन्त्रालय र विभागले पठाउने भएकाले आफुहरुको कुनै भूमिका नहुने जिल्ला शिक्षा अधिकारी विष्णप्रसाद मिश्र बताउँछन् ।‘हामीले त समन्वय गर्ने हो, शाखा अधिकृतलाई पठाउने भन्ने छ,’ उनले भने,‘सरुवा गरेर पठाउने काम मन्त्रालय र विभागको भएकाले यसबारे हामी केही गर्न सक्दैनौं ।’



















































































































































































































