बागलुङ बजारस्थित धवलागिरी वीरन्द्र माध्यमिक विद्यालयमा चुनाव गरेर विद्यालय व्यवस्थापन समिति सदस्य चुनिएको छ । पटक पटक सहमतीको प्रयास गर्दा पनि सर्वसम्मत नभएपछि मंगलबार चुनाव गरिएको थियो ।
‘सहमतीबाटै समिति बनाउन हामीले निरन्तर प्रयास ग¥यौँ,’ प्रधानाध्यापक बिमला गुरुङले भनिन्, ‘नौ पटकको प्रयासबाट पनि सर्बसम्मत नभएपछि चुनाब गरेरै सदस्य चुनेका हौँ ।’
चुनावमा १५१ मध्ये ११३ मत खसेको थियो । विजय भएका राजन शर्मा सापकोटाले ७३, दिपक सापकोटाले ७१, कमला शर्मा पौडेलले ६७, हुमा कुमारी पौडेलले ६३ मत प्राप्त गरेका थिए ।
पराजित उम्मेद्वार बैकुण्ठ सापकोटा, दीपक प्रसाद शर्मा सापकोटा र इन्दिरा आचार्यले ४० मत पाए भने हीरादेवी थापाले ४५ मत प्राप्त गरिन् । चुनावबाट निर्वाचित समितिका सदस्य राजन शर्मा सापकोटाले भने, ‘सवै मिलेर जाने प्रयास सफल भएन, अन्त्यमा चुनाबबाटै निकास निकाल्यौँ ।’ उनी निवर्तमान व्यवस्थापन समितिमा पनि सदस्य थिए ।
कुनै समय धवलागिरी अंचलमा रात्रिकालीन कक्षा संचालन गर्ने स्कुलका रुपमा चर्चित यो विद्यालयमा साधारण र प्राविधिकमा कृषि अन्र्तगत कक्षा ९ बाट पशुपालनको पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा शास्त्र संकाय रहेको विद्यालयमा २६ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
शिक्षा ऐनको आठौ संशोधन २०७३ का अनुसार अभिभावकहरुले आफूहरु मध्येबाट छानेको २ महिला सहित चार जना, सम्बन्धित वडाको वडाध्यक्ष वा वडासमितिका सदस्यहरु मध्येबाट वडा समितिले मनोनयन गरेका एकजना सदस्य, विद्यालयका संस्थापक, चन्दादाताबाट आदिबाट विद्यालय व्यवस्थापन समितिले मनोनयन गरेका एकजना महिलासहित दुई जना, शिक्षक प्रतिनिधि एक जना र प्रअ सदस्यसचिव गरी व्यवस्थापन समितिमा नौ जना रहने व्यवस्था रहेको छ ।



















































































































































































































