बागलुङमा दशौँ राष्ट्रिय सूचना दिवश प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाईएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना र जिल्ला समन्वय समिति, बागलुङ नगरपालिकाको कार्यालय तथा नेपाल पत्रकार महासंघको समन्वयमा सूचना दिवश विशेष कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धु्रब गिरीले सुशासनका लागि सूचनाको हकको उचित प्रयोग आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा गिरिले जवाफदेहिता र पारदर्शिताका साथ सुचना लिन/दिन दुवै पक्षलाई अग्रह गरे ।
स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले राज्यका सेवा, सुविधा र नागरिकले पाउनपर्ने अधिकारका बिषयमा सुसुचित गर्ने कर्तव्य सार्वजनिक पदमा बहाल कर्मचारीको भएको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले कानुनमा व्यवस्था भएको सुचना पाउने संवैधानिक तथा मौलिक हक स्थापित गर्नका लागि सबै जिम्मेबार बन्नुपर्नेमा जोड दिए । 
‘सुचना पाउने हाम्रो अधिकार, नपाएमा खोजौँ उपचार’ भन्ने नारासहित गरिएको कार्यक्रममा उनीहरुले सञ्चार माध्यम संगै आम नागरिकलाई पनि सूचना पाउने अधिकार भएकाले माग गर्न अग्रसर रहनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम निमित्त प्रजिअ धु्रब गिरीको अध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रम अघि भएको प्रभातफेरीमा सहभागीले बागलुङ बजारको परिक्रमा गरेका थिए ।



















































































































































































































