३ श्रावण २०८३, आईतवार

 

एसियन कप छनोटमा नेपाल र ताजिकिस्तान भिड्दै

- खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा सुरु हुने

नेपालले एसियन कप छनोटमा दुई खेलमात्र जितेको छ । भुटानलाई १७ वर्षअघि हराएको नेपालले अर्को सफलता सन् २००३ मा अफगानिस्तानविरुद्ध हात पारेको थियो । त्यसैले नेपाल आज सातदोबाटोमा ताजिकिस्तानको सामना गर्दा महादेशीय प्रतियोगिताको छनोटमा तेस्रो जित हात पार्ने अभियानमा छ ।

‘ताजिकस्तान हामीभन्दा राम्रो टिम हो तर उसलाई नसक्ने (हराउन) भन्ने छैन,’ नेपाली टिम कप्तान विराज महर्जनले भने, ‘स–साना गल्ती सच्याउँदै जित हात पार्नको लागि खेल्नेछौं ।’ राम्रो खेलेर पनि आफ्नै कमजोरीमा गोल बेहोर्दै जितबाट बञ्चित हुने नेपाली टिमको सम्सया छ । ‘हामी आक्रमक रणनीतिमा तीव्रगतिमा खेल्नेछौं र पहिलेका गल्तीहरू दोहोर्‍याउने छैनौं,’ उनले भने ।

नेपालले ताजिकिस्तानसँग पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वसोभियत संघको सदस्य ताजिकिस्तानको यो दोस्रो नेपाल यात्रा हो । यसअघि उसले सन् २०१२ मा काठमाडौंमा भएको च्यालेन्ज कपको फाइनल चरण खेलेको थियो । तर, दुवै टिमका लागि एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’नयाँ मैदान हुनेछ । यसमा पुरुषका राष्ट्रिय टिमले औपचारिक प्रतियोगितामा पहिालेपल्ट खेल्न लागेको हो ।

वैशाख, २०७२ को महाभूकम्पयता राष्ट्रिय टिमले नियमित प्रशिक्षण एन्फा कम्प्लेक्समै गर्दै आएको छ । त्यसैले यस मैदानसँग घरेलु खेलाडीहरू परिचित पनि छन् । मुख्य प्रशिक्षक ग्योतोकु कोजी सँधै ट्रेनिङ गर्ने मैदान भएकोले एस्ट्रो टर्फमा गाह्रो नहुने बताएका छन् । पाहुना टिमका मुख्य प्रशिक्षक फुजयलोभ खाकिमले पनि आर्टिफिसियल टर्फसँग अभ्यस्त भएको उस्तै जवाफ दिएका छन् । त्यसर्थ रोमाञ्चक खेलको अपेक्षा गर्न सकिन्छ । यसअघि आर्टिफिसयल टर्फमा ट्रेनिङ गरेपछि घाँसेमैदानमा प्रतिस्पर्धा गर्दै आएको नेपाली टिमलाई भने एन्फा कम्प्लेक्स फाइदा हुनसक्छ ।

गतवर्ष एएफसी सोलिडारिटी कप च्याम्पियन भएको आधारमा नेपालले फेरि एसियन कप छनोटमा अवसर पाएको हो । नेपाली टिम फिफा वरीयताको १ सय ६९ औं स्थानमा छ भने ताजिकिस्तान १ सय ५१ औंमा । रसियन ब्लकको खेल शैलीबाट प्रभावित ताजिकिस्तानलाई पन्छाउँदै यस छनोटमा पहिले जित हात पार्ने योजनामा छ ।

दुवैलाई जित्नैपर्ने दबाब

छनोटको समूह ‘एफ’मा नेपाल मनिलामा फिलिपिन्ससँग ४–१ ले हारेको थियो । हल्चोक मैदानमा भएको दोस्रो खेलमा भने यमनसँग गोलरहित खेल्दै नेपालले अंकको खाता खोलेको थियो । त्यसैले घरेलु मैदानमा हुने दोस्रो खेलमा नेपालले जित हात पार्ने लक्ष्य बनाएको छ । ताजिकिस्तान समूहको दुवै खेल हारेको टिम पनि हो । उसलाई यमनले दोहामा २–१ र उसैको घरेलु मैदान डुसान्बेमा फिलिपन्सले ४–३ ले हराएको थियो ।

‘राम्रो खेल्ने योजना बनाएका छौं किनभने जित्न सकेन भने पनि अंक जोड्न चाहन्छौं,’ नेपाली टिमका जापानी प्रशिक्षक कोजीले भने, ‘ताजिकिस्तानको खेल हेरेर विश्लेषण गरेको छु । उसले कसरी खेल्छ हेर्नेछौं र त्यसैअनुसार हामी रणनीति अंगाल्नेछौं ।’उनका समकक्षी खाकिमले पनि उस्तै जवाफ दिए, ‘नेपालले यमनसँग खेलेको हेरेको छु । उसको गरेको संघर्ष हेरेको छु । त्यसैले खेल कठिन हुने विश्वास छ । दुवै टिमलाई अंक पनि आवश्यक छ ।’

युएईमा सन् २०१९ मा हुने एसियन कपमा २४ टिमले प्रतिस्पर्धा गर्नेछ । त्यसमा अहिलेको अन्तिम छनोटका समूहमा शीर्ष दुई स्थानमा रहने टिमले अवसर पाउनेछन् । त्यसैले महादेशीय फुटबलको सर्वोच्च प्रतियोगिता खेल्ने आशा कायमै राख्न पनि नेपाललाई ताजिकिस्तानसँग कम्तीमा बराबरी नतिजा आवश्यक छ । सन् २००६ को एएफसी च्यालेन्ज कप च्याम्पियन ताजिकिस्तानको स्थिति पनि उस्तै छ ।

‘होम एन्ड अवे’को आधारमा हुने छनोटमा दुई चरणको खेलपछि फिलिपिन्स ६ अंकसहित शीर्षस्थानमा छ भने यमन (४) दोस्रोमा छ । नेपाल १ अंकसाथ तेस्रोमा छ । तयारीमा नेपाली टिमले १० दिने जापान भ्रमण पनि गरेको थियो । स्वदेश फर्केर प्रशिक्षक कोजीले जर्ज प्रिन्स कार्कीलाई पहिलोपल्ट राष्ट्रिय टिममा अवसर दिएका छन् । ‘संभावना (खेल्ने) भएरै उनलाई टिममा समावेश गरिएको हो । टिमका सबै खेलाडीको संभावना छ,’ उनले भने ।

सम्भावित नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ

डिफेन्स : विराज महर्जन (कप्तान), देवेन्द्र तामाङ, अनन्त तामाङ, कमल श्रेष्ठ

मिडफिल्ड : अन्जन विष्ट, विशाल राई, रोहित चन्द, सुजल श्रेष्ठ

फरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung