शिवशरण ज्ञवाली
हाम्रा विद्यालयहरुमा भाषा पढाउने शैली अझै पनि व्याख्यामा आधारित छ । यो बाजेका पालाको विधि हो । नाति पुस्ताको समयमा पनि यो विधि प्रयोग नगर्दा सम्म न त शिक्षकलाई पढाए जस्तो हुन्छ न त विद्यार्थीलाई पढेजस्तो हुन्छ । तसर्थ शिक्षक पनि व्याख्यान नै खोज्छ विद्यार्थी पनि सुन्न नै खोज्छ ।
त्यसो त शिक्षकलाई सेवापूर्वको तालिम दिने चलन नभएकाले पनि यसो भएको हुनुपर्छ ।जो बोल्न सक्छ, जसको आवाज चर्को छ, त्यही चर्को आवाजका जसले कक्षालाई नियन्त्रण गर्न सक्छ, त्यसैलाई सफल तथा योग्य शिक्षक मान्ने चलन छ । निजी विद्यालयमा त यो योग्यताको सबैभन्दा महत्वपूर्ण मापदण्ड हो । निजी र सामुदायिक दुवैले भाषा शिक्षकलाई तालिमको आवश्यकता ठानेका छैनन् ।
हाम्रा भाषा विषय कुन कुन हुन् ? दोस्रो भाषा नेपाली हुने मातृभाषीलाई छाड्ने हो भने भाषा विषय भनेका नेपाली र अंग्रेजी नै हुन् । तसर्थ यी विषयहरुलाई भाषिक सिपमा केन्द्रित गरेर पढाइनुपर्ने हुन्छ । भाषिक सिप सुनाइ, बोलाइ, पढाइ, लेखाइ गरेर चार प्रकारका भनिएको छ । नेपाली होस् या अंग्रेजी दुवैमा यिनै सिप सिकाउने हो ।
तर यहाँ त विषयवस्तु नै पढाउने चलन ज्यादा छ । यो चाहे काठमाडौंमा होस् चाहे पोखरा या विराटनगर या सन्धिखर्क सबैतिर एकैखालको छ । विषयवस्तु पढाउँदा एकातिर शिक्षकलाई अनावश्यक परिश्रम गर्नुपरेको छ भने अर्कोतिर विद्यार्थीले लिने लाभ पनि करिबकरिब शुन्य छ । फलतः चर्चित दार्शनिक पाउलो फ्रेरेले भनेजस्तै विषयवस्तुलाई जसरी पनि विद्यार्थीहरुको दिमागमा भरिदिने कोशिस आज पनि हाम्रो शिक्षणमा भइरहेको छ ।
भाषिक सिद्धान्तले पनि विद्यालय तहमा भाषा शिक्षण गर्नु भनेको सिप शिक्षण गर्नु हो भनेको छ । तर हामी शिक्षकहरु सिद्धान्त नजानेर होइन सिद्धान्तलाई व्यवाहरमा उतार्ने सजिलो तरिकाबाट भागिरहेका छौं । विद्यालयका प्रशासकहरुको पनि यो कुरामा सहयोग छैन । उनीहरु कक्षामा विद्यार्थी बोलेको रुचाउँदैनन् ।
कक्षाकोठा शान्त राख्नु नै शैक्षिक सफलता हो भन्ने उनीहरुको मान्यता छ । तर भाषा कक्षा छलफल अन्तक्र्रियाको कक्षा हुने हुँदा शान्त नहुन सक्छ । बाहिर हल्ला जस्तो सुनिन सक्छ । पठन सिप विकासका लागि विद्यार्थीलाई नै सस्वरवाचन, मौनवाचन गराउनुपर्ने हुन्छ भने सुनाइका लागि एउटालाई पढ्न र अर्काेलाई सुन्न लगाउनु पर्ने हुन्छ । सवाल जवाफ गराउनुपर्ने हुनसक्छ ।
यसो गर्दा कक्षाकोठामा हल्ला भएजस्तो हुनसक्छ । तर त्यसो भन्दैमा सरल र व्यवाहरिक सिद्धान्तबाट विमुख हुन मिल्दैन । अझ नेपाली भाषाका विषयमा त नकारात्मक दृष्टिकोणै कायम छ । एकातिर नेपाली भाषा त के हो र ? हामी पनि सजिलै पढाइदिई हाल्छौ नि भन्ने अन्य विषयका शिक्षकहरु पनि प्रशस्तै छन् भने अर्कोतिर नेपाली भाषाका शिक्षक पनि हीनताबोधले ग्रस्त छन् ।
म अरु विषयका शिक्षकभन्दा कमजोर र नजान्ने छु भन्ने मानसिकता छ । आम्दानी हुने विषय पनि होइन भन्ने मानसिकता छ । फलतः विद्यार्थी स्वयंलाई यस भाषाप्रति सकारात्मक दृष्टिकोण सिर्जना गर्न असफल भइरहेका छौं । त्यसकारण उच्च तहमा नेपाली भाषा साहित्य पढ्नेहरुले निर्धक्क म नेपाली भाषा र साहित्य पढ्छु भनेर भन्न सक्दैनन् । यो निरर्थक हीनताबोध हो ।
आफूसँग जे क्षमता छ त्यसलाई निर्धक्क प्रस्तुत गर्नु नै राम्रो उपाय हो । तर अंग्रेजी भाषाप्रतिको मानिसहरुको आकर्षण भने अझै घटेको छैन । पश्चिमा मुलकुहरुको कथित सम्पन्नताले यसप्रति मानिसहरुलाई अझै पनि तानिरहेकै छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पालादेखि आजसम्मै यसको हाइहाइ छ ।
तर यसको शक्ति खस्कन लागेको हो कि भन्ने संकेत आज शहरबजारतिर खुलेका अन्य भाषा शिक्षणका कक्षाहरुले दिएका छन् । अर्कोतिर अंग्रेजी भाषा आज सर्वसुलभ भएको छ । तथापि शिक्षणको शैली भने पुरानै छ । साविकका प्लस टु का कक्षामा आज पनि २०४८ सालकै पुस्तकहरु कायमै छन् ।
पाठ्यक्रम सिद्धान्तले पनि एक दशकको अन्तरालमा परिमार्जन र परिवर्तनको अपेक्षा गर्दछ । तर के अंग्रेजीका पुस्तकहरु बदल्नु पर्दैन ? कि अंग्रेजी भाषाका पाठ्यपुस्तक तयार गर्न सक्ने जनशक्ति नै नेपालमा छैन ? पुराना पुस्तकहरुमा आधारित ‘प्रोफेसर शर्माका डायरी’हरुले निकै रोजगारी पाइरहेकै भएर नबदलिएका पो हुन् कि ? प्लस टु विद्यालय तहमा पुग्यो तर किताब भने प्रविणता प्रमाण पत्र तहकै छन् ।
अझ रमाइलो कुरा त अंग्रेजी भाषालाई नेपालीमा उल्था गरेर अंग्रेजीका भाषा शिक्षकहरु ‘लेक्चर’ दिइरहेकै छन् । इन्टेर, फेसबुक, ट्वीटर आदिआदिलाई चुनौती दिदै जुन शिक्षकले नेपालीमा अंग्रेजीको उल्था गर्न सक्छ, त्यो शिक्षकका ट्युसन कक्षाहरु बढी चलेकै छन् । तसर्थ सिप शिक्षणको कुरा त अंग्रेजीका सवालमा अझ परको विषय भयो ।
निजी विद्यालयले भाषा शिक्षण र व्याकरण शिक्षणलाई अलग अलग प्रकारले शिक्षण गरेको पाइन्छ । निजी प्रकाशनले अलग्गै व्याकरणका पुस्तक निजी विद्यालयमै उपलब्ध गराएका हुन्छन् । त्यस्ता पुस्तकहरु विद्यार्थीको आवश्यकता भन्दा पनि विद्यालयलाई कति लाभ भयो भन्ने हिसाबले महत्वका हुन्छन् ।
त्यसकारण बजारमा अलग्गै नेपालीका व्याकरणहरु सर्वसुलभ भएका छन् । आजभोलिका नेपाली भाषाका भाषा पाठ्यपुस्तकहरुले आगमन विधिलाई अँगाल्दै गएका छन् तर हाम्रा कक्षा कोठाहरु व्याकरणमा जटिलतम् सूत्रहरुका व्याख्यान स्थलमा परिणत भएका छन् । सरकारी विद्यालयमा पनि भाषा शिक्षणका विषयमा खासै छलफल हुँदैन ।
नेतृत्व तहमा रहेका भाषा शिक्षकहरु पुरानो मानसिकताबाट अझै पनि ग्रसित छन्, त्यसकारण उनीहरु भाषा र व्याकरणलाई अलग त गर्न चाहन्छन् नै, विषयवस्तु शिक्षणलाई नै जोड दिइरहेका देखिन्छन् । अझ रमाइलो त भाषा शिक्षकको चतु¥याँइमा पनि छ । विद्यार्थीलाई व्याकरण विषय त्यति रुचिकर नलाग्नु स्वभाविकै हो, त्यसकारण उनीहरु ‘व्याकरण पछि पढौं सर’ भन्दछन् ।
चतुर भाषा शिक्षकले पनि बठ्याँइ गर्छ र व्याकरण पछिलाई नै राख्छ । परीक्षा सुरु हुन एक दुई दिन अगाडि यसो व्याकरण पुस्तक पल्टाइदियो, विद्यार्थी आफैमा अलमलमा हुन्छ अनि फेरी पढौंला भन्यो । पुस्तक बन्द । पढाइ पनि बन्द । आगमन विधि पनि बन्द । कार्यमूलक व्याकरणको कुरा त परको भयो । हाम्रोमा शिक्षा मूलधारमा छैन ।
मूलधारको पहिलो नम्बरमा राजनीति नै छ भने दोस्रो नम्बरमा कर्मचारी प्रशासन छ । शिक्षालाई अलिक हेलत्वको विषय ठानिन्छ । तर शिक्षकले त्यही नेता कर्मचारीको छोराछोरीलाई शिक्षा दिन्छ भन्ने कुरा बिर्सिएको छ । शिक्षकलाई पर्याप्त तालिम नदिइनुको कारण नै यही हेलत्व हो । अन्य कर्मचारी भए छ महिना तालिम मात्रै दिइन्छ तर शिक्षकलाई शिक्षा पढेको नाममा पूर्व सेवाकालीन तालिम छ भनिन्छ ।
पढ्नु र पर्नुमा आकाश जमिनको भेद छ भन्ने कुरा बुझ पचाइएको छ । अझ अंग्रेजीमा त शिक्षा पनि पढ्नु नपर्ने भएका छ । त्यसकारण बिना तालिम नै सिधै शिक्षकलाई कक्षाकोठामा पठाइन्छ । अनि शिक्षकले पनि के गरोस् बिचरा ? विधा र व्याकरणलाई भिन्न तुल्याइदिन्छ । शिक्षक भनेको बोल्ने नै होला भन्ने ठान्छ, उसले । अनि ट्वार ट्वार भ्यागुतो जस्तै चिच्याइरहन्छ । विद्यार्थी पनि शिक्षक बोले मात्र आफूले पढे जस्तो ठान्छ तथापि शिक्षकको बोलीप्रति उसको बेवास्ता नै रहन्छ ।
शिक्षकले उनीहरुलाई शैक्षणिक गतिविधिमा क्रियाशील गराई व्यस्त गराउन सक्दैन । शिक्षकले व्याख्यान नगरिकन विद्यार्थी अभ्यासमा जाँदै जाँदैन भने हुन्छ । विषयवस्तुको व्याख्या आज पनि शिक्षकले हरेक कक्षामा गर्नैपर्ने बाध्यता छ । सामान्य प्रश्नमा पनि विद्यार्थी घोत्लिएको पाइदैन । केवल शिक्षकका मुखैबाट उत्तर सुन्न लालायित छ । उत्तर खोजेर लेख्ने बानी नै छैन ।
विद्यार्थी रुचिलाई ध्यान दिने नाममा विद्यालय प्रशासनहरुले व्याख्यान विधिलाई नै संस्थागत गरिरहेका छन् । यो एकाध क्षेत्रको कुरा होइन, सबैतिर यही नियम लागू भएको छ । त्यसकारण शिक्षणको शैलीमा पनि विविधता छैन भने विद्यार्थीको उत्तरमा पनि त्यस्तो विविधता कमै मात्रामा भेटिन्छ । पढाइ सिपका बारेमा खासै बोलिदैन । मौन पठनमा विद्यार्थीलाई अभ्यस्त गराएको पाइदैन ।
यसले उनीहरुको बोध क्षमता नै कमजोर बनाएको छ । भाषा माध्यम हो भने विषय त्यही माध्यमबाट सम्प्रेषित हुने ज्ञान हो । भाषा शिक्षण भनेको सिपको शिक्षण हो भन्ने कुरा सबैतिर आइसकेको छ तर त्यसलाई कक्षाकोठामा लागू गर्न आज पनि हम्मेहम्मे भएको छ । नेपाली अंगे्रजी वा दुवै भाषा राम्रो भएको विद्यार्थीलाई आफ्नो अध्ययनमा मात्रै होइन, जीवनमै असफलता व्यहोर्नुपर्ने देखिदैन ।
त्यसकारण भाषा शिक्षणप्रतिको परम्परागत चलन बदल्नु जरुरी छ । त्यसका लागि भाषा शिक्षकलाई स्वतन्त्र नै छाडिदिनु राम्रो हुन्छ । साथसाथै भाषा शिक्षकलाई तालिमको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । निजी विद्यालयले पनि सामान्य पुँजीबाट पनि तालिमको व्यवस्था गर्न सक्छन् भने सरकारी विद्यालयका शिक्षकहरुलाई पनि सेवापूर्व सिप केन्द्रित तालिम दिनुपर्ने देखिन्छ ।
सिप केन्द्रित शिक्षण गर्ने हो भने विद्यार्थीलाई एकातिर अंग्रेजी जस्तो भाषा नेपालीमा पढाउनु पनि पर्दैन भने अर्कोतिर शिक्षकले व्याख्यान गर्दा हुने ‘सकस’ पनि व्यहोर्नु पर्दैन । नेपाली भाषाको हकमा पनि यही कुरा लागू हुन्छ । दुवैलाई लाभैलाभ ! कक्षाकोठामा शिक्षकले पढ्नुपर्दैन भने विद्यार्थीले शिक्षकको पढाइमा दिन गुर्जानु पर्दैन । त्यसो भयो भने हराउँदै गएको पठन संस्कृतिको स्तर पनि उकासिने थियो कि ?























































































































































































