
वाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा–१ को चुनावी भेटघाट सोमबार बागलुङ गलकोट नगरपालिका–१० पाण्डवखानीमा भएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा निर्वाचन क्षेत्र–२ प्रदेश सभा–१ का वाम गठबन्धनका साझा उम्मेदवार चन्द्रबहादुर बुढा मगर सागरले जनताको न्याय, मुक्ति र स्वतन्त्रताका लागि संविधान कार्यान्वयन, विकास र समृद्विको बाटोमा मुलुकलाई अघि बढाउन गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा मतदान गर्न अपिल गरे ।
उनले आफ्नो पुर्खौली थालो समेत रहेको पाण्डवखानीको मनोविज्ञान, कला संस्कृतिको संरक्षण र विकासको आवश्यकता पूरा गर्न आफु प्रतिवद्व रहेको बताए । ‘यो ठाउँसँग मेरो भावनात्मक साईनो समेत गाँसिएको छ,’ सागरले भने, ‘यहाँको दुर्गम रमुवादेखि समग्र पाण्डवखानीको विकासमा अरुको भन्दा मेरो बढी नै ध्यान पुग्छ, यी सवै काम गर्ने अवसरका लागि मलाई मत दिएर जिताउन अपिल गर्दछु ।’
उनले पण्डवखानी जनजाती र दलितको बाहुल्यता रहेको ठाउँ भएको भन्दै स्थानीय मनोविज्ञानलाई आफुले विगतदेखि नै बुझेकाले स्थानीय समृद्धिको लागि उपलब्धिमूलक काम गर्न आफु आतुर रहेको बताए ।
‘यहाँका दुख, सम्भावना र समस्यासँग म परिचित नै छु,’ उनले अगाडी थपे, ‘तपाईको यस क्षेत्रको सेवा गर्ने मौका मलाई दिन हजुरहरुको एक एक मतको आवश्यकता छ मलाई ।’
उनले विगतदेखि नै खण्ड–खण्डमा टुक्रिएको गलकोटलाई जोड्न आफु चिन्तनशिल रहेको बताए । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ र नेकपा माओवादी केन्द्रका वडा सदस्य शशिराम काउचाले गलकोटको साझा भावनालाई सम्मान गर्दै समृद्धिको यात्रालाई अघि बढाउन वाम गठबन्धन प्रतिबद्ध रहेको बताए । यसका लागि आफ्ना उम्मेदवारलाई भोट हाल्न उनीहरुले मतदातालाई आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता र शुभेच्छुकको उपस्थिति रहेको थियो । वाम गठबन्धन भएको भन्दै कार्यकर्ता र शभचिन्तकले खुसी समेत व्यक्त गरेका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका–१० पाण्डवखानीका अध्यक्ष छम काउचाको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पृथबहादुर श्रीसको स्वागत र नेकपा एमालेका सदस्य खडक सिंह श्रीस र माओवादी केन्द्रका सदस्य विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।