
माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा वाम गठबन्धन प्रतिनिधि सभा बागलुङ क्षेत्र नम्बर–२ का प्रत्यक्षतर्फका साझा उम्मेदवारे देवेन्द्र पौडेलले आफ्नो अहिले आफु नाफको जीवन बाँचिरहेको भन्दै बाँकी दिन आफु जन्मेको जिल्लाको समृद्धिमा खर्चने बताएका छन् ।
संयुक्त वाम गठबन्धनले तमानखोला गाउँपालिकाको दुर्गम खुङ्खानीमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पौडेलले उर्जाशिल समय मुलुकको परिवर्तनका लागि आफ्नो जीवननै वलिदान दिन तयार भएको भन्दै अबको जीवन कुनै पनि सर्त र स्वार्थविना आफ्नो निर्वाचन क्षेत्र र समग्र बागलुङ जिल्लाको विकास लगाउने उद्घोष गरे ।
‘हामी आफु र आफ्नो परिवारको हित मात्र सोचेर राजनीतिमा लागेको होईन, निरंकुस व्यवस्थाको अन्त्य गरेर जनताको राज्यसत्ता प्राप्ती गर्न युद्धमा होमिएका थियौँ,’ पौडेलले विगत सम्झैर निकै भावुक हुँदै भने, ‘हजारौँ शहीदको रगतले गणतन्त्र आएको छ, संयोगले हामी बाँचियो, अवको जीवनमा जे गर्न सक्छु, त्यो मेरो जन्म जिल्लाको दुर्गम ठाउँका लागि गर्छु भनेर नै चुनाव लड्न यो क्षेत्र रोजेको हुँ ।’
अव देशलाई बिकास र समृद्धि चाहियको उनले बताए । ‘जनताको मुक्तिको लागि म जनयुद्धको एक सिपाही थिए,’ उनले अगाडी भने, ‘त्यो बेला धेरै साथीहरू सहिद हुनुभो म बाँचे यो मेरो नाफाको जीवन हो, अब म बागलुङका जनताकै पक्षमा प्रतिबद्ध भएर काम गर्छु ।’
पौडेलले अब बाग्लुङ जिल्लालाई समृद्ध बनाउन सबै वाम मिलेर जनता सामु आएको बताए । ‘अहिलेसम्म यो ठाउँको पहुँच केन्द्रिय तहमा नपुग्दा बागलुङको पश्चिम भेग पछि परेको हो, ढुक्क हुनुहोस्, अब म आफै यहाँ आएको छु, त्यस्तो अवस्था कदापी आउँदैन ।’
कार्यक्रममा प्रदेश २ ख का प्रदेश सभा सदस्य पदका साझा उमेदवार टेक बहादुर घर्तीले खुंङ्खानीदेखि म्यादी र खुंङ्खानीदेखि नर्जासम्म नयाँ सडक संजाल जोडी त्यो सडकलाई उच्च प्राथमिकतामा राखेर कालोपत्रे गर्ने बताए । उनले यस क्षेत्रको बिद्यालय शिक्षालाई थप व्यवस्थित गरि स्तरीय बनाउने वाचा गरे । स्वास्थ, कृषि, खानेपानी लगायतका समस्याहरुको समाधान वामपन्थीको सरकारले मात्रघ गर्ने बताए ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख तथा एमाले नेता देबकुमार नेपालीले विगतमा आफ्नो व्यक्तिगत प्रयासबाट धेरै सुधारका काम गरेको स्मरण गर्दै नगरप्रमुख भएपछि सरकारी स्तरबाटै आफ्नो अभियानलाई अगाडी बढाएको बताए । ‘हामीलाई थप काम गर्न केन्द्रीय तहमा बलियो पहुँच भएको मान्छेको आवश्यकता थियो,’ उनले भने, ‘यो अभाव पूरा गर्न देवेन्द्र जी आउनुभएको छ, उहाँलाई हाम्रो मत दिएर जुनकुनै हालतमा प्रतिनिधि सभामा पठाउने दायित्व तपाई हाम्रो हो, कृपयाँ भोट अन्त दिएर खेर नफाल्नुहोला ।’ प्रतिपद्धता अनुसारको काम गर्न आफुले सँधै खबरदारी गर्ने नेपालीको भनाई थियो ।
कार्यक्रममा माओवादी नेतृ कुसुम बुढा, राजमोका धर्म कुँवर, एमालेका दधिराम शर्मा लगायतले वामगठबन्धनका साझा उमेदवारको चिह्नमा मत दिएर जिताउन आग्रह गरे । कार्यक्रमममा थमप्रसाद रसाइलीले स्थानीय समस्या बारे जानकारी गराएका थिए । कविराम सिर्पालीको अध्यक्षता र देव पुनको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।