२१ जेष्ठ २०८३, बिहीबार

 

चुनाव र नेपाली काङग्रेस

– विश्वेश्वरप्रसाद कोइराला-
नेपाली काँग्रेसको आधारमा म मात्रै होइन । म ढले भने नेपाली काँग्रेसको इमारत ढल्छ भन्ने कुरा बडो झुठो र नबुझेको कुरा हो । म बेसी चिन्हिए राष्ट्रिय क्षेत्रमा , त्यो अर्कै कुरा हो , तर यसो भन्ने हो भने जब म यहाँ गृहमन्त्री थिएँ २००७–०८ सालमा तबदेखि नेपाली काँग्रेस टिकिरहेको छ । त्यस बखतदेखि आजसम्मको म यसको इतिहास देखिरहेको छु । नेपाली काँग्रेसलाई कुनै जमातले मद्दत गरेन । त्यै पनि नेपाली काँग्रेसले चुनाव जित्यो । नेपाली काँग्रेसमाथि अहिले पनि जनमानसमा विश्वास छ , आस्था छ । कुनै अरुहरुले सर्मथन गरेर भएको होइन । त्यसो हुनाले सोच्नुपर्छ के कारणले यसो भएको होला ?
हामीहरुको सम्झौता नगर्ने प्रवृत्ति प्रजातन्त्रको बारेमा छ । त्यसको निम्ति बन्दुक उठाउन पनि तयार हुने ,मर्नको लागि पनि तयार हुने र जे गर्न पनि तयार हुने तत्परताले गर्दा जनतामा यो भावना आयो । त्यसलाई कम्युनिष्टहरुले मद्दत गरे वा गोरखापरिषद्ले मद्दत ग¥यो । या राजाले नै हामीलाई मद्दत गरे? कसैले गरेन, तर जनताको आगाडि के देखिएको छ । उनीहरुको पक्षमा बोल्ने र त्यो बोल्दाखेरि उनीहरुले खाएको मारको फेहरिस्त तयार गर्दा होलान् । अस्तिसम्म पनि । त्यसले गर्दाखेरि जनताको विश्वास हामीलाई छ । केवल म बोल्न जान्दछु र यसलाई भेटे भनेर होइन । धेरैले म भन्दा पनि बेसी मानिसहरुसँग भेटेका छन् । बे्रजनेभ धेरै ठुलो मानिस होइन ? ऊसँग भेटेर आउने यहाँ धेरै मानिस होलान् । त्यसले गर्दा होइन ।
अर्को कुरो मेरो भित्रैदेखिको विश्वास के छ भने म रहँदखेरि साथीहरुमा एउटा आत्मनिर्भरताको अलिकति कमी जस्तो देखिन्छ । किनभने म मिलाइहाल्छु भनेर । म नरहेको खण्डमा त्यो हुदैन । अब त स्थानीय साथीहरुमाथि जबावदेहि बनाउनुपर्छ । मैले बोलेको कुरा त अब उनीहरुले बोल्नुपर्छ । अब मेरो आडमा बसेर गैर जबाफदेही कुरा गर्न पाउर्दैनन् । हाम्रा कार्यकर्ताहरु अलिकति गैरजिम्मेवारीका कुरा गर्थे । नेताहरुमा पनि आफैले बेहोर्नुपर्ने अवस्था आउनेछ । त्यसो हुनाले मलाई के लाग्दछ भने जुन धरातलमा हामी उभिएका छौ राष्ट्रियता र प्रजातन्त्रको , यस धरातललाई हामीले छोडेनौ भने अहिले भन्दा ज्यादा भविष्य छ नेपाली काँग्रेसको ।
मलाई केही व्यक्तिहरुले के प्रश्न गरे भने , होइन यो कसरी ? तपाई राजासँग राम्ररी मिल्नुहुन्न , बाहिर पनि मिल्नुहुन्न, हामी यसरी कसरी टिक्ने ? मैले त्यसको जबाफमा भने म मानिलिऊ रे बाहिर भारतसंग मिल्न गर्न गए रे । मैले इन्दिरा गान्धीसँग गएर के भन्ने ? भारतको क्यै न क्यै स्वार्थपुर्ति मैले गरिदिनुपर्ला , अनि न तिनको चित्त बुझला । त्यो मैले गर्ने ?
यस तेत्तीस वर्षको अवधिमा भारतलाई सबभन्दा उपयुक्त भएको कुनै व्यक्ति यियो भने सुवर्ण शमशेर नै हो । भारतले पनि जति बढी सुवर्ण शमशेर नै र भारतले पनि जति बढी सुवर्ण शमशेरलाई मद्दत गरेको थियो , त्यति बढी त कसैलाई गर्नै सक्दैन , तपाई झुकेर मिल्नुभयो भने पनि । त्यसको परिणाम के भयो ? कति बलियो हुनु भयो ? भारतसँग त्यसरी जोल्टिएर बस्दा पनि , भारतले गरेको तमाम मद्दतबाट , के भयो ? उहाँ शक्तिको नजिक जानुभयो भन्ने मलाई लागेन । उहाँसँग पैसा थियो , त्यसो हुनाले केही कार्यकर्ताहरुलाई पालेर राख्नु भयो । त्यसबाहेक त क्यै गर्नसक्नु भएन । राजनीतिक उपलब्धि त उहासँग क्यै देखिएन । त्यसो हुनाले अरुमाथि निर्भर भएर हामीले राजनीति गनुपर्छ भन्ने म मान्दिन । सुवर्णजी जस्तो अनुकुलको कोही ब्यक्ति हुनसक्दछ ,भारतको लागि ? र सुवर्णजीलाई गरे जति भारतले अरु कसैलाई गर्छ ? यो कुरो हामीले बुझ्नु पर्छ । त्यसो हुनाले , हामीले कसैमाथि निर्भर हुनुहुदैन । हामीहरुले आफ्नो दुईवटा धरातल एउटा धरातल कता कता खुस्किए जस्तो थियो । राष्ट्रियताको विषय हामीले पुन हासिल गरेका छौ यस पाँचर्षको अवधिमा । हामी भारतबाट ज्यानको बाजी लगाएर आउँदाखेरि , यो राष्ट्रियाताको धरातल हामीबाट खुस्किसकेको थियो । त्यसलाई हामीले पुन हासिल गरेका छौ । त्यसो हुनाले यो दुईवटा धरातललाई हामीले छोडेनौ भने , नेपालको भविष्य छ भन्ने हामीले अजेय रहने छौ । हामीहरुलाई कसैले सिध्याउन सक्दैन ।

मैले हिजो कसैलाई जवाब दिंदाखेरि भने , म बडो तर्क दिएर तपाईको मुख थुन्न सक्छु , तर म त्यो चाहन्न । किनभने तपाईले उठाएको प्रश्न मेरो अगाडि पनि छ । मेरो निम्ति समस्या राजा होइन । मैले काम गर्न पाएको छु । मैले जुन समस्याको सामना गर्नु परेको छ , त्यो पार्टीबाट आफ्नै साथीहरुबाट सिर्जना गरिएका छन् । जुन समाधान हुन सक्ने समस्या समाधान नहुनु मेरो घर भित्रको समस्या भएको छ । मेरो समस्या नै घरभित्र छ । कम्युनिष्टहरुले ममाथि आक्रमण गरे भन्ने मेरो समस्या छैन । मेरो समस्या के छ भने मेरो विचारधारालाई मेरै साथीहरुले बुुझेनन् र मैले अब सामना गर्नुपर्ने कुरा पनि त्यै छ । त्यस्तो जमात बनाउनुप¥यो , नेपाली काँग्रेसलाई हामीहरुको धरातल छ राष्ट्रियता र प्रजातन्त्रको , त्यसमाथि अडेर बस्ने हामी साथि हरुको जमात बनाउनुप¥यो । त्यो पो त मेरो निम्ति समस्या छ । भोलिको चुनावको मेरो समस्या छ ।

 आजको संविधान , आजको राजनीति मेरो समस्या छैन । यो संविधान मेरो अनुकुल आउँदाखेरि जो चुनाव मैले लड्नुपर्ला , चारवर्षपछि या तीनवर्षपछि या डेढवर्षपछि त्यस बखतको समस्या म अहिलेदेखि देख्न थालेको छु ।
हामीहरु भित्रीने वित्तिकै देश कहाँबाट कहाँ पुगिसकेको छ । हामीहरुले यसपालि चुनाव लडेनौ केही कारणहरुले गर्दाखेरि । त्यो पनि साधारण कारणले गर्दाखेरि । अर्काे चुनाव हामीले लड्नुपर्छ तर लड्नको निम्ति जुन औजार हामीले तयार गर्नुपर्छ , त्यो हामीहरुसँग छैन । मेरो निम्ति त त्यो समस्या छ । मेरो निम्ति मात्र होइन मेरा साथीहरुको निम्ति पनि । भोलि हामीहरुको शर्तमा चुनाव हुने भयो , संविधान प्रजातान्त्रिक आयो भने नेपाली काँग्रेसलाई कसरी जिताउने भन्ने समस्या छ । त्यस्तो किसिमको संगठन बनाउने समस्या अहिले छ । कुनै अरु ठुलो समस्या छैन, सिद्धान्तको विरोधीहरुको । म गृहमन्त्रीबाट हटेदेखि बरु अहिले राजा मेरो निम्ति सब भन्दा कम समस्या छन् । २००८ सालदेखि २०३८ सालसम्म , तीसवर्षको दरम्यानमा यदि राजा मेरो निम्ति समस्या भएनन् भने अहिले मात्रै । तीसवर्षम्म , म प्रधानमन्त्री छँदा पनि समस्या थियो । त्यसो हुनाले कम्युनिष्टहरुको भनौ ती मेरा आजका समस्या हुन् ? मलाई २००८ सालमा एउटा विद्यार्थी मारिएको बेलामा एउटा समस्या आयो , जे गरे ती समस्या भए । तर राजाको बारेमा , अहिले मैले बोल्दा तपाईहरुलाई छक्क लाग्यो , अहिले पो त मेरो अनुकुल भएका छन् । मेरो निम्ति भन्नुको मतलब नेपाली काँग्रेसको निम्ति । नत्र राजाले त कसरी नेपाली काँग्रेस टुक्रा्याऊ भन्ने काम गरिरहन्थे । एकपटक राजाले एकसय पच्चीस तीस गु्रपहरुको सम्मेलन बोलाए हामीलाई पनि बोलाए । त्यसमा एउटा मृत्यु संस्कार संस्थालाई पनि बोलाएका छन् । मैले राजसँग झगडा गरे । अनि उनले भने मेरो लागि त सब बराबर । चुनाव नभइकन कसरी थाहा पाउने कुन ठुलो, कुन सानो ?
बाह्य समस्या मेरो लागि ठुलो समस्या छैन अब , आन्तरिक समस्या मेरो निम्ति ठुलो समस्या छ । यो हाम्रा कार्यकर्ताहरुले बुझिदिएको खण्डमा आधा समस्या नै समाधान भएर जान्छ । गएको चुनाव झुठो , बेइमानीको हो भनेर म चित्त बुझाउदिन । किनभने , जितेको हारेका मानिसहरुलाई भोट दिएको मैले देखेको छु । जिताएका पनि छन् र ती त्यसै जितेका छैनन् । त्यो मैले बुझेको छु । त्यसो हुनाले , अरु जस्तो मलाई सजिलो छैन भन्नलााई कि प्रधानमन्त्रीका नजिकका मानिसहरु पनि हारेका छन् चुनावमा । मलाई यस चुनावले एउटा शिक्षा दिएको छ हाम्रो राजनीति त अब चुनावको राजनीति हुन गइरहेको छ । कुनै न कुनै अवस्थामा हामीले चुनावमा भाग लिनुपर्छ । नत्रभने , सन्त महन्तको पार्टी हुनेछ हाम्रो । चुनावको राजनीति गर्ने हो भने , जति भएका छन् त्यसलाई हामीले अध्ययन गर्नुपर्छ ।
दुई चुनाव भए अहिले पाँचवर्षको बीचमा । एउटा जनमत संग्रह र अर्काे आमनिर्वाचन । दुवैको सम्बन्धमा मेरो सामान्य धारणा साथीहरुको भन्दा भिन्दैछ । हामीहरुले २० लाख भोट पायौ भने मोटामोटी त्यै भोट हामीले पाउने छौ । धेरै ठाउमा हाम्रो संगठन छनै , क्यै छैन । जनमत संग्रहमा बहुदलमा परेको भोट हामीले पाएको भोट हो । मेरो अहिलेसम्मको धारणा छ कम्युनिष्टहरुले निर्दललाई भोट दिएका छन् । त्यसो हुनाले यो २० हामीले पाएको भोट हो मैले भनेको छु । यसमा कुनै पार्टीको योगदान र्छैन । हाम्रा साथीहरुले भनेका छन् हामी २६ लाखले जितेका थियौ , धाँधली गरेर हामीलाई हराए । म यस्ता झुठा कुरामा सन्तोष गर्न चाहन्न । चुनावको प्रक्रियाबाट सत्तामा आउन चाहने पार्टीले हरेक चुनावलाई बडो विवेचनात्मक ढंगले अध्ययन गर्नुपर्छ । आफ्नै आत्म संतोष लिने कुरा छैन । हारेको छ भने हारेको मान्नुपर्छ ।
मोरङमा हामीले ६ हजारको बहुमतबाट जित्यौं । यो कसरी हुन सक्दछ भने । त्यसपछि मैले आफ्नो क्षेत्र भएकोले हरेक गाउँ पञ्चायतको मैले विवेचनात्मक अध्ययन गरे । मानिसहरुलाई सोधे । उनीहरुले भने , हामीहरुले बाकसलाई छातीमा टाँसेर राखेका थियौ न पुगुञ्जेलसम्म । त्यसो हुनाले , यो बाकस फेरियो भन्ने कुरा छैन , र मैले भने बजारले दिएन होला । हो , बजारमा हामीले उस्तो पाएनौ भन्ने जिल्ला जिल्लाबाट मैले रिपोर्ट लिएको छु । हारेका कारणहरु दिएका छन् । त्यसको कारणपट्टि मैले ध्यान दिएको छु ।
म एउटा प्रजातन्त्रवादी भएकोले , सत्तामा जुनसुकै तवरले जानै पर्छ भन्ने नभएकोले र एउटा पद्धतिबाट सत्तामा जाने भएकोले म हरेक चुनावको गम्भीर अध्ययन गर्छु । मलाई लाग्छ , हामीले अर्काे चुनाव लड्नु पर्छ पर्छ , पर्छ । संविधान हाम्रो अनुकुल आउँछ भन्ने मलाई विश्वास लाग्छ । आएन भने जसरी आजसम्म हामी बसेका छौ , बसौला । तर हाम्रो अनुकुलको संविधान आएर चुनाव लड्नुप¥यो भने के हामी तैयार छौ ? मेरो अगाडी त्यो समस्या छ । सबैले बुझिदिनुप¥यो , जिल्लाका साथीहरुले बुझिदिनुप¥यो र नेतृत्व वर्गले बुझिदिनु प¥यो । मलाई लाग्न थालेको छ अहिले सबैले बुझ्न थालेका छन् ।

मैले के भन्न खोजेको छु भने हाम्रो जोड प्रजातन्त्रमाथि छ । हामीले राजासँग मिलेर लड्दा पनि प्रजातन्त्र माथिको जोड थियो र राजाको विरुद्ध लड्दा पनि हाम्रो जोड प्रजातन्त्रमाथि थियो । हाम्रो लडाईको कारण थियो प्रजातन्त्र । हामीहरुलाई चार्ज नै के लाग्यो हाम्रा विरोधिहरुबाट भने कता कता जनमानसमा के परेको थियो भने हामीहरुको आधार भारत हो २००७ सालदेखि ।
दिल्ली सम्झौता भन्छन् । हामी दिल्ली गयौ । यद्यपि दिल्दीमा कुनै सम्झौता भएको होइन । कही बसेर हामीले दस्तखत गरेका छैनौ । तर हामी दिल्लीमा गएर , त्यो क्रान्ति टुँगियो ।कता कता हाम्रा विरोधिहरुले एउटा मौका पाए र आजसम्म हाम्रो विरुद्धमा त्यसको लागि आक्रमण भइरहेको छ ।
हामीले भनेका छौ , राजासँगको जो हाम्रो सघर्ष छ , त्यसलाई सिमाङकन गरौ । त्यसलाई परिभाषित गरौ । एउटा परिधि बनाईदेऊ । त्यस परिधिभित्र त्यस संघर्ष , विवाद र झगडालाई सीमित राखौ , बाहिरको खतरामा हामीले ध्यान दिऊ । पहिले बाहिरको खतरा त्यस्तो थिएन । मलाई पहिले बाहिरको खतराको अनुभव हुँदैनथ्यो , तर अहिले त मलाई त्यसको धेरै अनुभव छ । त्यस परिप्रेक्ष्यमा हामी प्रजातन्त्रवादीहरुको भुमिका यस खतराको पनि सामाना गर्नु परेको छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रँो महत्वमा थियो भने आज यो प्रथम महत्वको हुन आएको छ ।
१५ पुष २०३८
राजा, राष्ट्रियता र राजनिति पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung