३० बैशाख २०८२, मंगलवार

 

गलकोटको मल्ममा यसरी हुँदैछ बगाले थापाको कुल पुजा

सात सय बगाले थापा समाज गलकोट नगरपालिका–७ मल्ममा परम्परागत कुल पुजा मंगलबारदेखि सुरु हुने भएको छ । ७ सय बगाले थापाहरुको ठुलो पर्वको रुपमा कुल पुजाका सम्पूर्ण तयारी पुरा भएको पत्रकार राम थापा अविरलले जानकारी दिए । पुजाको लागि पूर्व सन्ध्यामा उठाईने सामुहिक तोरी संकलन गरिएको थियो । देशका विभिन्न जिल्लाबाट आएका बगाले थापाहरु बिच गलकोट नगरपालिका–७ मल्मको कुल मन्दिरमा बन्धु मिलन कार्यक्रम भएको छ ।

उक्त कार्यक्रममा बेलु थापा, प्रमुख अतिथि बगाले थापा क्षेत्री समाज धौलागिरि अञ्चल अध्यक्ष भिमबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । ७ सय बगाले थापा समाजका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम राजबहादुर थापाले स्वागत र सञ्चालन सचिव केयरसिंह थापाले गरेका थिए । बुटवल, ताराखोला, पोखरा, बुर्तिबाङ, काठमाण्डौ, नारायणघाट, नेपालगंज, भारतको देहरादुन, दिल्ली र विदेशसम्म फैलिएका बगाले थापाहरु मल्ममा भेला भैरहेका छन । बन्धुहरु बिच परिचय कार्यक्रम र पूजा सामग्री कुल मन्दिरमा बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार कुल पुजा बिहान निशान घरदेखि नौमती बाजा र पञ्चकन्याको साथमा कुल मन्दिरसम्म कलश यात्रा, झण्डोत्तोलन, बलि, पूजा, प्रसाद वितरण र सामुहिक भोजको कार्यक्रम रहेको युएस एकेडेमी बागलुङका प्रअ दलबहादुर थापाले बताए । विसं. १२४६ देखि विसं. १५४५ सम्म म्याग्दीको ताकम, ज्यामरुकोट र पुलासम्म थापा राज्य सञ्चालन भएको देखिन्छ । वि सं. १५४५ मा मल्ल राजा दिम्ब बम मल्लले आक्रमण गरेपछि ताकमबाट बगाले थापाहरु गलकोट, स्याङ्जा, गोरखा, काठमाण्डौ लगाएतका ठाउँहरुमा गएको डा. दिनबहादुर थापा बताए ।
शनिबार सम्पन्न कार्यक्रम बगाले थापा समाजका पुर्व केन्द्रिय प्रतिनिधि बेलु थापा, सातसय बगाले थापा समाजका संरक्षक तथा गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा बगाले थापाबाट जिल्ला समन्वय समितिमा निर्वाचित दल बहादुर थापा, जनप्रतिनिधि वडा अध्यक्षहरु सुवेदार टिकाबहादुर थापा, कर्ण बहादुर थापा, बमबहादुर थापा, कलाकारिता मार्फत समाजमा अगाडि बढेको भन्दै गायक वसन्त थापा, गायक एवं मोडल दुर्गेश थापा, पत्रकार राम थापा अविरल, थम्मन थापा सन्देश, उषा पौडेल थापा, ओम थापालाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।

कुल पुजामा प्रकाशन गर्दै आएको स्वाभिमान बुलेटिन प्रकाशन गर्न समाजका पुर्व सहसचिव तथा पत्रकार थम्मन थापा सन्देशलाई प्रधान सम्पादकको जिम्मा प्रदान गरेको छ । समितिको सदस्यमा सचिव केहरसिंह थापा र केन्द्रिय प्रतिनिधि छुम बहादुर थापा रहेका छन । मल्म स्थित कुल मन्दिर परिसरमा मुल पुरुष कालु थापाको शालिक समेत स्थापना गरिएको छ । भेला सातसय बगाले थापा समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, केन्द्रिय प्रतिनिधि छुम बहादुर थापाको स्वागत र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फोटोः राम थापा अविरल /थम्मन थापा

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung