१ जेष्ठ २०८२, बिहीबार

 

उत्कृष्ट दसमा सात नेपाली

 २०७४-तेलुगु अभिनेता अल्लु अर्जुनका फ्यान नेपालमा धेरै छन् । नहुँदा हुन् त उनी अभिनीत ‘डीजे’ फिल्म युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानमा नपर्न सक्थ्यो । एक साताभित्र फिल्मको भ्युज ३ करोड नाघेको छ भने चार हजार कमेन्ट छन् ।
निश्चल बस्नेत निर्देशित ‘लुट २’ चाहिँ आइतबार दिउँसो ट्रेन्डिङको दोस्रो नम्बरमा थियो । यसमा २७ लाख ५७ हजार ३ सय ८४ भ्युज हुँदा करिब तीन हजार प्रतिक्रिया आएका थिए । सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, विपिन कार्की, अलिशा राई आदिको अभिनय रहेको फिल्म गएको फागुनमा रिलिज भएको थियो ।
प्रतिक्रिया दिने अधिकांशले फिल्म राम्रै लागेको उल्लेख गरेका छन् । केहीले फिल्मका ‘खोट’ पल्टाएका छन् भने टप कमेन्टमा दया–सौगतको अभिनयको तारिफ गर्नेदेखि गोफ्ले समूहले बदला लिएको देखाउन आग्रह गरिएका छन् । ‘लुट २० मा हाकु कालेको छोरा हिरो हुन्छ होला,’ मानव बस्यालको यो ठट्टामा १७१ वटा लाइक्स थिए ।
यलम्बर थुलुङले चाहिँ दया र सौगात नेपाली फिल्मको खम्बा भएको बताएका छन् । उनी लेख्छन्, ‘बाँकी सबै (कलाकार) आउने–जाने पर्यटक ।’ प्रमिला तामाङ नामक युट्युब युजरलाई भने फिल्मको हिरो (?) मन परेनछ । उनले कमेन्ट गरेकी छन्, ‘हाट अ ब्याड हिरो ?’ सुदिन नेपालीले अर्को सिक्वेल नबनाउन अनुरोध गरिरहँदा सुमन पुनले ‘लुट ३’ आउनैपर्ने बताएका छन् ।
ट्रेन्डिङको तेस्रो स्थानमा ‘भाइरल भैदियो…’ गीतको भिडियो परेको थियो । मानस राजकै शब्द, संगीत र स्वर रहेको गीत पछिल्ला केही दिनयता ट्ेरन्डिङको शीर्ष स्थानमा परिरहेको छ । सबिन कार्की (विष्ट) को अवधारणामा बनेको भिडियोलाई धेरैले मन पराएका छन् । यसमा २९ लाखभन्दा बढी भ्युज र झन्डै पाँच हजार कमेन्ट देख्न सकिन्छ ।
‘सबिन दाइको कन्सेप्टलाई कसैले भेट्दैन,’ लेकसाइड टीभी नामक युट्युबरले लेखेका छन्, ‘अब दाइले खतरा फिल्म बनाउनुपर्छ । यु आर द बेस्ट ।’ कमेन्टमा आफू फ्रेन्च, अमेरिकी, भुटानी, भारतीय आदि भएको जनाउने प्रयोगकर्ताले पनि भिडियो मनपरेको बताएका छन् । ‘यो कुन भाषाको गीत हो ?’ रिनारी मर नामक युट्युब युजरले लेखेका छन्, ‘केही नबुझे पनि म्युजिक राम्रो लाग्यो ।’
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाशको निधनसम्बन्धी बनाइएका दुई भिडियो ट्ेरन्डिङको चौथो, पाँचौं र छैटौं नम्बरमा देखिए । दक्षिण भारतीय फिल्म ‘क्याप्टेन खिलाडी’ सातौं स्थानमा रहँदा त्यसको भ्युज १ करोड १४ लाखभन्दा बढी थियो । यसमा कमेन्ट डिसेबल (प्रतिबन्ध) गराइएको छ ।
आठौं स्थानमा पनि भारतीय फिल्मकै गीत ‘स्वाग से स्वागत…’ परिरहँदा नवौं नम्बरमा नेपाली हास्य टेलिशृंखला ‘भद्रगोल’को भाग १४८ देखिन्थ्यो । यसमा करिब तीन लाख भ्युज थियो भने ७ सय ५० वटा फिडब्याक आएका थिए । खड्ग कुँवरले लेखेका छन्, ‘म मलेसियाबाट है, फलामको खाटमा सुतेर (हेर्दै छु) ।’
युट्युबबाटै हिट भएको डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ लाई फिचर गराइएको भिडियो ‘दिलको भित्तैमा…’ ट्ेरन्डिङको दसौं नम्बरमा पर्‍यो । अल्मोडा राना उप्रेती, एन्जिला रेग्मी र नवीन रावलको स्वर रहेको गीत मिलन विष्टले लेखेका हुन् भने नवीनले संगीतबद्ध गरेका हुन् । डान्सिङ प्याटर्नको गीतमा क्रुका सरोज अधिकारी र आस्मा विश्वकर्माले कोरियोग्राफी गरेका छन् ।
नोभेम्बर १० मा अपलोड गरिएको उक्त म्युजिक भिडियोमा २८ लाख ६४ हजार भ्युज छँदा दुई हजारभन्दा बढी कमेन्ट पढ्न सकिन्थ्यो । ‘लभ यु कार्टुन्ज क्रु’, अलिशा खान नामक प्रयोगकर्ताको यो कमेन्टमा ५० वटा लाइक्स र केही रिप्लाइ आएका थिए । क्रुकै सदस्य सबिन कार्की (विष्ट) अर्कै भिडियोमा देखिँदा प्रशंसकले प्रश्न गरेका छन्, ‘झगडा पर्‍यो कि के हो ?’
सबिनको ‘भाइरल भैदियो…’ र क्रुको ‘दिलको भित्तैमा…’ बीच युट्युबभरि तुलना भइरहेको छ ।
युट्युब ट्रेन्डिङमा  उत्कृष्ट १०
१. डीजे फुल मुभी
२. लुट फुल मुभी
३. भाइरल भैदियो…
४–६. प्रकाश दाहाल सम्बन्धी भिडियोहरू
७. क्याप्टेन खिलाडी
८. स्वाग से स्वागत…
९. भद्रगोल
१०. दिलको भित्तैमा…

#इकान्तिपुरबाट#

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung