उत्तर कोरियालको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘आणविक राक्षस’ को संज्ञा दिँदै उनको प्रशासनले ‘परमाणु युद्धका लागि भीख मागेको’ आरोप लगाएको छ।
‘ट्रम्प प्रशासन कोरियाली प्रायद्वीपमा अत्यन्तै खतरनाक खेल प्रदर्शन गरेर परमाणु युद्धका लागि भीख मागिरहेको छ,’ कोरियाली विदेश मन्त्रालयका एक प्रवक्ताले शनिबार वक्तव्य जारी गर्दै भनेका छन्। ती प्रवक्ताले ट्रम्प ‘आणविक राक्षस’ तथा ‘विश्व शान्तिका विघटक’ भएको पनि बताएका छन्।
सोमबारबाट अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु हुनुअघि उत्तर कोरियाली विदेश मन्त्रालयले यस्तो टिप्पणी गरेको हो।सो सैन्य अभ्यासमा १२ हजार अमेरिकी सैनिक र २३० लडाकु विमान सहभागी हुनेछन्। ‘कोरियाली प्रायद्वीप र विश्व नै आणविक युद्धमा तानिए त्यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने’ पनि उत्तर कोरियाली विदेशमन्त्रालयले बताएको छ।
यसअघि ट्रम्पले उत्तर कोरियालाई आतंकवाद प्रायोजक राष्ट्रको सूचीमा राखेपछि बुधबार सो राष्ट्रले हालसम्मकै शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो। एजेन्सी/नेपाल खबरबाट



















































































































































































































