२८ बैशाख २०८१, शुक्रबार

 

‘वडाको २० वर्षे दीर्घकालीन रणनीति बनाएर काम गर्दैछु’: अध्यक्ष लामिछाने

नयाँ संविधान अनुसार मुलुक संघीय संरचनामा गएको छ । स्थानीय तहमा निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम थालेको ८ महिना पुग्नै लाग्यो । दुई दशकदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा सेवा प्रवाह र विकास निर्माणमा देखिएको समस्या समाधान गर्ने प्रयासमा जनप्रतिनिधि छन् । जनप्रतिनिधि आएपछि उनीहरुले के गर्दैछन् ? भन्ने कुरा अहिले चासोको विषय छ । यसैसन्दर्भमा हामीले बागलुङको काँठेखोला गाउँपालिकाको वडा नम्बर–७ का वडा अध्यक्ष प्रेम लामिछानेसँग कुराकानी गरेका छौँ । यो साबिकको रेश गाविस पूरै समेटिएको वडा हो । १०६६ घरधुरी बसोबास गर्ने यो वडाको जम्मा जनसंख्या ६०२६ रहेको छ । यो वडाको पूर्वमा सिगाना र रायडाँडा पश्चिममा लेखानी र बिहुँ तथा उत्तरमा पनि बिहुँ र दक्षिणमा दमेक (साबिक गाविस) पर्छन् । प्रस्तुत छ, वडा अध्यक्ष लामिछानेसँग नयाँ विश्वले गरेको कुराकानी :

१. तपाई निर्वाचित भएर आएपछि अहिलेसम्म के के काम गर्नुभयो ?
म वडाको अध्यक्ष निर्वाचित भएर आएपछि वडा भित्रको सम्भावना र भएका समस्याबारे अध्ययन गर्दै योजनावद्ध रुपमा काम गर्दैछु । सेवा प्रवाह तथा विकास निर्माणको क्षेत्रमा सुधार गर्दै अघि बढ्ने मेरो सोच हो । यो दीर्घकालीन सोचको कुरा भयो । तपाईले भने जस्तै अहिलेसम्म देखिने गरि वडामा केही काम भएका छन् ।

पहिलो काम त वडाको स्वास्थ्य चौकीको लागि हामीले जग्गा लिने काम पूरा गरेका छौँ । वडा स्वाथ्यचौकीको लागि ३ रोपनी १० आना जग्गा निशुल्क रुपमा लिएका छौँ । रामपास भन्ने ठाउँमा २५ लाख मुल्य बराबारको पाँच रोपनी जग्गा स्थानीय लिलाधर शर्मा, श्यामप्रसाद शर्मा, रामप्रसाद शर्मा र श्यामप्रसाद शर्माले निशुल्क रुपमा उपलब्ध गराउनुभएको छ । यो हाम्रो महत्वपूर्ण उलब्धि हो ।

अर्को एक्ले घाटमा मोटरेवल पुल निर्माणको लागि ठोस पहल गरेका छौँ । पुलको लागि यस वर्ष डिटेल सर्वे हुँदैछ । त्यसका लागि राजनीतिक दल, सांसद, जनप्रतिनिधि लगायतको टोली सडक विभाग, राष्ट्रिय योजना आयोग र मन्त्रालयमा डिलिकेशन गएर तत्काल पुल निर्माणको काम अघि बढाउन माग गरेका थियौँ । यही डेलिकेशनका बेला बिहुँ जलजलादेखि रेश गाजा जोड्ने सडकको बारेमा पनि ध्यानाकर्षण गरेका थियौँ ।

तेस्रो काम वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्यचौकीलाई प्रविधिमैत्री बनाउने प्रयास थालेकाछौँ । विद्यालयहरुमा इन्टरनेट पु¥याएका छौँ । वडामा ९ वटा सामुदायिक विद्यालय छन् । केही द्यिालयमा भने जोड्न बाँकी छ । विद्यालयमा इन्टरनेट र कम्प्युटरको व्यवस्थापन गरेका छौँ । वडा कार्यालय तथा कतिपय सार्वजनिक ठाउँमा फ्रि वाईफाई छोड्ने अभियान थलेका छौँ ।

चोथौ काम चाहिँ वडाभित्र एक महिना भित्र भए गरेका काम, स्थानीय रुपमा रहेका गुनासा, उठेको राजस्व बारे सरोकारवाला निकाय राखेर मासिक सार्वजनिक गर्ने र त्यसबारे छलफल तथा अन्तरक्रिया गर्ने व्यवस्था मिलाईएको छ । यसले स्थानीयवासी र वडा कार्यालयबीच समन्वय र सहकार्य बढेको छ । यो राम्रो कामको थालनी हो भन्ने बुझाई आम वडावासीका भएको छ ।

पाँचौ काम चाहिँ १ सय ३२ वटा काठको पोल हटाएर त्यहाँ फलामे पोल राखेका छौँ । वडाभित्र जम्मा २९२ काठका पोल रहेकोमा १ सय ६० वटा अझै फेर्न बाँकी छ । हामीले सवै ठाउँमा फलामकै पोल राख्ने योजना बनाएका छौँ ।

अर्को हामीले वडा भित्रका सामाजिक सुरक्षा भत्ता पाउने सवैलाई घरघरमै पुगेर उनीहरुले पाउने रकम वितरण गरेका छौँ । वडाको दिर्घकालिन रणनीतिक योजना निर्माण गरेर यसै अनुसार अघि बढ्ने गरि काम भईरहेको छ ।

वडा अध्यक्ष लामिछाने

२. तपाईले वडाको योजनावद्ध विकास गर्दै अघि बढ्ने भन्नुभएको छ, कसरी काम गर्दै हुनुहुन्छ ?
मैले खासमा वडाको २० वर्षे दीर्घकालीन रणनीतिक योजना बनाएर कामलाई अघि बढाउने सोच बनाएको छु । यस्तो योजना स्थानीय सरोकारवाला र विज्ञको सहभागितामा गहिरो अध्ययन र छलफल गरेर बनाउनुपर्छ । दीर्घकालीन योजना निर्माणको लागि आधारभुत तयारी हुँदैछ । दीर्घकालीन रणनीतिक योजना बनेपछि यसैले तय गरेका प्राथमिकताका आधारमा विकासको कामलाई अघि बढाउने हाम्रो लक्ष्य छ ।

यसो गर्न सकियो भने वडाको योजनावद्ध विकासको गतिलाई अघि बढाउन सकिन्छ । त्यसले वडावासीको जीवनस्तर सुधार गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सहयोग पु¥याउँछ । यो दिर्घकालिन योजना भित्र २ वर्ष, ५ वर्ष, १० वर्ष, १५ वर्ष र २० वर्षभित्र सम्पन्न गरिने आवधिक योजना समेटिएको हुन्छ । यी अल्पकालिन लक्ष्य हुनेछन् । यसले विकासको प्राथमिकता निर्धारणा गर्छ । यसै अनुसार काम गरेर वडालाई समृद्ध बनाउने मेरो लक्ष्य छ ।

३. आफ्नो पाँच वर्षे कार्याकालमा के के काम गर्नुहुन्छ ?
मेरो कार्यकालमा मैले गर्ने कामको सूची नै बनाएको छु । पहिलो कुरा त २० वर्षे दीर्घकालीन योजना निर्माण गर्ने काम नै मुख्य हुनेछ । धेरै कुरा दिर्घकालिन योजनाले निर्देश गरेअनुसार काम अघि बढ्छ । अहिले मेरो कार्यकामा काम गर्ने प्राथमिकताको सूचीमा वडाको आम्दानी बढाउने, सामाजिक सुधारका काम गर्ने, चिहानघाट व्यवस्थित गर्ने, कृषिलाई व्यवसायिकरण गर्ने र टोलटोल(साबिकका वडास्तरमा) टोल सुरक्षा समिति बनाएर काम गर्ने लगायतका काम परेका छन् । त्यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको सुधार र विभिन्न बिकास निर्माणको कामलाई अघि बढाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छु ।

यि प्राथमिकतालाई मैले छोटकरीमा यसरी स्पष्ट पार्न चाहान्छु । हामीले सार्वजनिक जग्गालाई एकीकृत गरि विभिन्न कामका लागि लिजमा दिने र यसबाट आउने आम्दानीले सामाजिक काम गर्ने तयारी गर्दैछौँ । यसको लागि अहिले वडा भित्र रहेको सार्वजनिक जग्गाको लगत संकलन भईरहेको छ ।

सामाजिक सुधार अन्तरगत वडालाई जुवातस, जाँडरक्सी मुक्त स्थल बनाउने अभियान थाल्दैछौँ । रक्सी वेच्ने र खाने समय तोक्ने र नियम विपरित यी काम गर्नेलाई नियम अनुसार कारवाही गर्ने व्यवस्था हुनेछ । वडाभित्र सरसफाईको कामलाई अघि बढाईनेछ । यी कार्यमा सचेतना बढाउन तालिम तथा अभिमुखिकरण कार्यक्रम गरिनेछ ।

अर्को चिहानघाट व्यवस्थित गर्दैैछौँ । खास गरेर गुरुङ, मागर समुदायले शव गाउँमै जलाउने गरेका छन । तर खस आर्य समुदायले कालिगण्डकी नदीसम्म ल्याँदा समय, आर्थिक व्ययभार बढी हुने र दुख समेत झेल्ने गरेका छन् । हामीले गाउँमै चिहान बनायौँ भने गरिब बिपन्नको लागि ठुलो राहत हुन्छ । एक्लेघाट, मोटरेवल पुलभन्दा केही माथि चिहान बनाउन जग्गा व्यवस्थापन समेत गरेका छौँ ।

कृषिलाई व्यवसायिकरण गर्ने मेरो अर्को प्राथमिकता रहको छ । दिर्घकालिन हिसावले अलैँची, अम्रिसो, आलु, पशुपालन र चिया खेतीलाई व्यवसायिक बनाउँदै स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरि योजनावद्ध रुपमा अघि बढ्ने योजना छ । दुध र मासुजन्य उत्पादन बढाउन योजना बनाएर कार्यक्रम अघि बईनेछ ।

वडा कार्यालय अघि गाउँपालिका अध्यक्ष अमर थापासहित जनप्रतिनिधि

त्यस्तै यस अघिको वडा नागरिक मञ्चलाई टोल सुरक्षा समिति बनाएर साबिकको वडा तथा हालका टोल स्तरका काम गर्ने जिम्मेवारी दिँदै छौँ । यो पनि सामाजिक सुधारकै काम अन्तरगत पर्दछ । समितिले टोलभित्रका समस्यालाई स्थानीय स्तरमै समाधान गर्दै टोल सुधारको काम अघि बढाउने छ । यसलाई टोल स्तरको आधिकारिक निकायको रुपमा जिम्मेवारी दिईने छ । स्थानीय स्तरका समस्या समाधानका लागि सबैभन्दा पहिले टोल सुरक्षा समितिले काम गर्नेछ । त्यहाँ समाधान हुन नसकेका समस्या वडा कार्यालयमा आउनेछन् । त्यसपछि वडाकार्यालयबाट हुने काम त्यहीँ गरिनेछ भने माथि पठाउनुपर्नेलाई वडाको सिफारिसमा सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाईनेछ । यसरी काम गर्ने गरि टोल सुरक्षा समिति बनाएर जिम्मेवारी दिईनेछ ।

४. तपाईले सडक, शिक्षा, स्वास्थ्य र खेलकुदलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बताउँदै आउनुभएको छ, यी क्षेत्रमा के गर्ने योजना छ ?
हो तपाईले भने जस्तै सडक, शिक्षा, स्वास्थय, खेलकुद मेरो प्राथमिकतामै छन् । खास गरि सडक स्तरीय भएन भने धेरै कुरामा समस्या हुन्छ । त्यसका लागि सडक सुधार तथा निर्माणको काम गर्नेछौँ । वडा भित्रका सडक सुधार गरि वस र ट्याक्सी जानसक्ने बनाउने लक्ष्य छ । यस्तो सडक सुधार र निर्माणको काम वडाका आवश्यक ठाउँमा गरिनेछ । त्यस्तै मध्यपहाडी लोकमार्गबाटसँग जोडिने गरि गाजा हुग्दीशिर हुँदै गुल्मीसम्म पुग्ने सडक स्तरीय बनाउने योजना छ ।

शिक्षा र स्वास्थ्य मानिसको अनिवार्य आधारभुत आवश्यकताका कुरा हुन् । यिनीहरुको सुधार गर्ने गरि काम अघि बढेसकेको छ । समग्र शिक्षा क्षेत्रको सुधार गर्ने योजना छ । वडामा रहेका विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने हाम्रो प्राथमिकता छ । व्यवसायिक शिक्षा र व्यवहारिक सिकाईका आधारित शिक्षामा हामीले जोड दिनेछौँ । वडा भित्रका विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य, शिक्षक अभिभावक संघ, अभिभावक तथा सरोकारवालाबीच नियमित छलफल र अन्तरक्रिया गरिनेछ । यस्तो छलफल २, २ महिनाको गरि योजना बनाएर द्यिालय शिक्षाको सुधारलाई अघि बढाउँछौँ ।

स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने छ । पहिलो कुरा त स्वस्थ्यचौकीमा प्रयोगशाला सेवासहितको ल्याब सञ्चालन गर्ने तयारीमा छौँ । सामुदायिक स्वास्स्थ्य ईकाई केन्द्र स्थापना गरेर त्यहाँबाट सेवा प्रवाह गरि स्वास्थ्य सेवालाई सरल बनाउँद सबैको पहुँचमा पु¥याउने हो । विद्यालयमा स्वास्थ्य शिक्षा सम्बन्धि नियमित अन्तरक्रिया गरिनेछ । वडामै प्रथामिक स्वास्थ्य केन्द्र बनाउने पहल गर्नेछौँ ।

खेलकुद विकासको लागि साविकका वडाभित्र भलिवल मैदान निर्माण गर्ने, वडाभित्र फुटबल र बास्केटबल मैदान निर्माण गर्ने हाम्रो योजना छ । वडामा खेलकुदको क्षेत्रमा गर्नुपर्ने र गर्न सकिने सम्भावित कार्यको बारेमा सरोकारवाला पक्षसँग छलफल गरि खेल सम्बन्धि कार्यक्रम विस्तार गर्ने हाम्रो योजना छ ।

अहिलेसम्म काम गर्ने क्रममा देखिएका समस्या र चुनौती के के छन् ?
हो तपाईले भने जस्तै काम गर्दै जाँदा मैले केही अप्ठ्यारा र कठिनाई देखिएका छन् । सानातिना योजना सम्झौता गर्न पनि गाउँपालिकामै पुग्नुपर्ने अवस्था छ । यसले उपभोक्तालाई अप्ठ्यारो भएको मैले महसुस गरेको छु । यो अलि झन्झटीलो छ । यस्ता साना योजनाको सम्झौता वडाबाटै गर्ने व्यवस्था गर्दा सहज हुने मेरो अनुभव छ । गाउँपालिकाले निर्णय गरेर बजेट छुट्याएका योजनामा वडाबाटै सम्झौता र कार्यान्वय गर्ने व्यवस्था लिाउँदा सजिलो हुन्छ । जस्तो ८, १० लाख रुपैयाँका योजनाका लागि वडाबाटै सवै काम हुने व्यवस्था गर्नसकिन्छ । अनुगमन र अन्तिम भुक्तानी मात्र गाउँपालिकाबाट गर्दा हुन्छ । यो गाउँपालिका तहबाट नीति बनाएर व्यवस्थित गर्न सकिने कुरा भयो ।

अर्को कुरा जनताका आकाङ्क्षा धेरै छन् । आफ्नो काम र समस्याको समाधान तत्काल होस् भन्ने जनताको चाहना छ । सिंहदरबारको अधिकार र सेवा गाउँमै आएको भनिएको छ । यसले जनलाई सबै सुविधा वडा र गाउँपालिकाबाट लिन सकिन्छ भन्ने बुझाई भएको छ । उनीहरुले विकासको गति तत्काल अघि बढोस । शिक्षा, स्वास्थ, सडक लगायत क्षेत्रलाई थप स्तरीय बनाउनुपर्छ भनेका छन् ।

तर हाम्रो सिमित स्रोत र काम गर्ने संरचनाले त्यो चाहनाकै स्तरमा काम गर्न सकिँदैन । यो कुरा जनतलाई बुझाउन गा¥हो हुँदो रैछ । गाउँपालिकामा कर्मचारी प्रयाप्त नहुँदा नियमित काम प्रभावित भएका छन् । गाउँपालिकामा १ जनामात्र प्राविधिकले सवै वडाको काम गर्न सक्ने अवस्था छैन । तत्काल प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । वडामा पनि दरबन्दी अनुसारका कर्मचारी छैनन् । यस्ता विविध चुनौती देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्