अन्तर विद्यालय स्तरीय दोस्रो गरिमा च्याम्पियनसिम क्रिकेट प्रतियोगितामा अमर आदर्श बोर्डिङ स्कुल प्रथम भएको छ भने फ्युचर ब्राईटर बोर्डिङ स्कुल द्धितिय भएको छ । डिग्नीटी कजेल र गरिमा आवासिय माविले आयोजना गरेको प्रतियोगितामा १७ विद्यालयको सहभागिता थियो । प्रथम हुने समुहले १५ हजार, गरिमा ट्रफि, मेडल र प्रमाण पत्र, द्धितियहुने समुहले ९ हजार, गरिमा ट्रफि, मेडल र प्रमाण पत्र पाएका छन ।
भिमसेन माविका विशाल थापा वेस्ट मेन, फ्युचर बोर्डिङ स्कुलका आदेश शर्माले वेस्ट बलरको उपाधि पाएका छन । अमर आदर्श बोर्डिङ स्कुलका सागर शर्माले म्यान अफ द सिरिजको उपाधि चुमेका छन । त्यसैगरी अमर आदर्शका अनिष खत्रीले म्यान अफ द म्याचको उपाधि प्राप्त गरेको गरिमा आवासीय माविका प्रिन्सिपल तथा डिग्निटी कलेजका प्रमुख श्यामप्रसाद शर्माले जानकारी दिए । ‘क्रिकेट खेल प्रबद्र्धनको लागि हामी निरन्तर लागि रहेको छौ, यो खेलको लागि यस साल १ लाख ५० हजार लगानी गरेका छौ’ शर्माले भने ।
मंसिर १५ गतेदेखि सुरु भएको कार्यक्रम मंगलबार समापन भएको हो । समापन कार्यक्रममा गरिमा आवासीय माविका पिन्सिपल तथा डिग्निटी कलेजका प्रमुख श्यामप्रसाद शर्माको अध्यक्षता, बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संचालन शिक्षक गणेशप्रसाद शर्माले गरेका थिए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, प्याब्सनका ४ नम्बर प्रदेशका वरिष्ठ उपाध्यक्ष विजयराज पन्त, एन प्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा लगाएतले मन्तव्य राखेका थिए ।














































































































































































































