११ कार्तिक २०८३, मंगलवार

 

ताराखोलामा फैलिएको डढेलो अझै नियन्त्रण बाहिर, वस्तीतर्फ जाने जोखिम कम

बागलुङको ताराखोला वस्ती नजिकै खरबारीबाट सुरु भएर वनमा फैलिएको डढेलो अझै नियन्त्रण बाहिर छ । तत्काल बस्तीतर्फ जाने जोखिम भने टरेको ताराखोला गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर रोकाले जानकारी दिए । उनले अग्नीरेखा बनाएर आगोलाई वस्तीतर्फ जानबाट जोगाईएको बताए ।

बिहीबार दिउसो २ बजेदेखि ताराखोला गाउँपालिका–५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिएर वडा नम्बर–४, मसिनाको भिरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ । धस्मर गाउँभन्दा माथिको जंगलमा अहिले पनि तीव्र गतिमा आगो दन्किएको स्थानीय मालारानी आभारभूत विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए ।

अप्ठ्यारो भिरमा आगो फैलिएको र माथिबाट ढुङ्गा समेत खस्न थालेपछि स्थानीयको प्रयासले नियन्त्रणमा लिन नसकिएको रोकाको भनाई छ । बिहीबार दिउसो र रातभर पनि आफुसहित स्थानीय आगो निभाउन खटिएको र शुक्रबार बिहानैदेखि आगो नियन्त्रणको प्रयासमा रहेको वडा अध्यक्ष रोकाले जानकारी दिए ।

स्थानीय टकबहादुर बुढाथोकीले आफ्नो खबरबारीमा काँडापोल्न लगाएको आगो फैलिएर आसपासमा रहेका व्यक्तिको खरबारी हुँदै जंगलमा फैलिएको हो । शुक्रबार बिहान प्रहरी हवल्दार नेतृत्वको एक टोली घटनास्थलतर्फ गएको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख केदार थापाले जानकारी दिए । उनले आगो वस्तीमा जाने सम्भावना अब कम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung