
बेनीमा सञ्चालित म्याग्दी महोत्सव माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगीक, व्यापारीक मेलामा सांगितीक रौनक बढेको छ । लोक दोहोरी गित प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारको गित तथा नृत्य प्रस्तुतीले महोत्वमा सांगितीक रौनीक छाएको हो । पुष २८ गतेदेखि सुरु भएको महोत्सवको सातौ दिन शुक्रबार कलाकार अञ्जु पन्त, रामजी खाँण र पूर्णकला बि.सीको प्रस्तुती विशेष आकर्षण बन्यो ।
लोक दोहोरी गीत प्रतियोगिताको क्वाटर फाईनलमा शुक्रबार सिर्जना म.म रेष्टुरेन्ट बेनी र याक होटल बिच भएको प्रतिस्पर्धामा सिर्जना म.म रेष्टुरेन्ट विजयी भएको छ । शनिबार मंगला गाउँपालिका र बानिया गहना पसल बिच प्रतिस्पर्धा हुने लोक दोहोरी गित प्रतियोगिताका संयोजक सुबिन श्रेष्ठले बताए ।
यसैगरी शनिबार राष्ट्रिय कलाकार खड्ग गर्बुजा, भुमिका गिरी लगायतको प्रस्तुती रहने सांस्कृतीक कार्यक्रम संयोजक बेलबहादुर कटुवालले बताए । महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय महिला भलिबल प्रतियोगिताको सेमीफाईनलमा अन्नपूर्ण, मंगला, धौलागिरी र रघुगंगा गाउँपालिका प्रवेश गरेका छन् ।
लिग सिस्टममा खेलाइएको प्रतियोगिताको शुक्रबार भएको खेलमा रघुगंगाले मालीकालाई, धौलागिरीले बेनपालाई, मंगलाले रघुगंगालाई र अन्नपूर्णले धौलागिरीलाई पराजित गरेका थिए । शनिबार अन्नपूर्ण र रघुगंगा तथा धौलागिरी र मंगला गाउँपालीकाबीच सेमी फाईनल प्रतिस्पर्धा हुने खेलकुद संयोजक सुमन श्रेष्ठले जानकारी दिए । पुरुष भलिबलको फाईनल बेनी नगरपालिका र मंगला गाउँपालिका बिच हुने भएको छ । लिग सिस्टममा खेलाइएको बास्केटबल प्रतियोगितातर्फ शुक्रबार ४ वटा प्रतिस्पर्धा सकिएको छ ।
जसमा अन्नपूर्ण गाउँपालिकाले रघुगंगा गाउँपालिकाको भगवतीलाई ३५ का विरुद्ध ९२, रघुगंगा ए ले कालीपुल युनाईटेडलाई ३९ का विरुद्ध ६७, बेनी नगरपालिकाले मुनलाईट पात्लेखेतलाई ५६ का विरुद्ध ६० र मंगला गाउँपालिकाले रघुगंगाको चिमखोलालाई ३५ का विरुद्ध ५३ स्कोर गर्दै पराजित गरेका छन् । कालीपुल युनाईटेड कल्वसंगको सहकार्यमा कालीपुल खेलमैदानमा बास्केटबल प्रतियोगिता सञ्चालन गरिएको छ ।