२९ असार २०८२, आईतवार

 

प्रदेश स्तरीय भलिबल रेफ्री तालिम शुरु

प्रदेश स्तरीय भलिबल रेफ्री तालि बागलुङमा शुरु भएको छ । नेपाल भलिबल संघको सहयोग र जिल्ला भलिबल संघ बागलुङको आयोजमा पाँच दिने तालिम शुरु भएको हो ।

तालिम उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले राष्ट्रिय खेल भलिबलको विकासका लागि स्थानीय तहले ध्यान दिनुपर्ने बताए । ‘भलिबल नेपालको राष्ट्रिय खेलको रुपमा लेखिएको छ,’ उनले भने,‘नेपालको नयाँ संरचना अनुसार अब गाउँ नगरबाट खेलकुदको विकासका लागि बजेट विनीयोजन हुनुपर्छ । गाउँघरमा निकै लोकप्रिय भलिबलको विकास पनि त्यहीबाट हुन्छ ।’ उनले राम्रो खेलाडी बन्नका लागि अनुशासन, लगनशिलता र मेहनत जरुरी भएको समेत बताए । ‘खेलमा अनुसासन र मेहनत जरुरी छ,’ उनले भने,‘हाम्रो पहिचानको रुपमा रहेको भलिबल खेललाई विकास गर्न खेलाडी र रेफ्रीहरु अनुसासित हुनुपर्छ ।’ नेपाल भलिबल संघका केन्द्रीय सचिव डिपी नेपालले भलिबलको सही विकासका लागि पहिले उत्कृष्ट रेफ्री उत्पादन गर्न संघ लागेको बताए ।
‘भलिबलको विकासका लागि रेफ्रीहरुको क्षमता विकास हुनु जरुरी छ,’ उनले भने,‘रेफ्रीको निर्णयले खेललाई जुनसुकै मोडमा लैजान सक्छ । त्यसैले अहिले हामी रेफ्री उत्पादनका लागि अभियान थालेका छौं ।’ उनले रेफ्रीहरुको तह अनुसार पारिश्रमिक समेत निर्धारण गरिएको बताए । ‘क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रेफ्रीको पारिश्रमिक तोकिएको छ,’ उनले भने,‘यो पनि पेशाको रुपमा विकास हुँदैछ तर यसलाई व्यापार भने बनाउनु हुँदैन ।’ अन्तर्राष्ट्रिय प्रशिक्षक चन्द्रबन्दना राईले भलिबल खेलमा भविष्य खोज्ने बेला आएको बताईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, भलिबल संघ म्याग्दीका अध्यक्ष रमेश श्रेष्ठले भलिबलको विकासका लागि रेफ्रीको क्षमता विकास हुनुपर्नेमा जोड दिए ।

पाँच दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश चारका विभीन्न जिल्लाका ४० जना बढीको सहभागिता रहेको बलिबल संघ बागलुङका उपाध्यक्ष योगेश भण्डारीले जानकारी दिए । प्रशिक्षण पछि आवश्यक मापदण्ड पूरा गर्ने प्रशिक्षार्थीलाई प्रदेश स्तरको रेफ्री लाईसेन्स प्रदान गरिने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यामबहादुर श्रीसले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung