
दोस्रो मुख्य पर्यटकीय याममा मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ पुग्नेमा बढी जसो धार्मिक पर्यटक छन् । नेपालीपछि सबै भन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गर्छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको पनि रोजाइँमा छ । गएको चैत र वैशाख महिनामा सबै भन्दा बढी पर्यटकले मुक्तिनाथ घुमेका छन् ।
फागुन–जेठ नेपालको दोस्रो मुख्य पर्यटकीय याम हो । अघिल्लो अँग्रेजी महिना अप्रिलमा मुक्तिनाथ घुम्ने विदेशी पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९८४ विदेशी पर्यटक मुक्तिनाथ पुगेका छन् । जसमा सबैभन्दा बढी आठ हजार ५५६ पर्यटक भारतीय छन् ।
मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । विदेशीको तुलनामा दोब्बर भन्दा बढी आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गर्छन् । (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिम सम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताउनुभयो । ‘अहिले दैनिक सयौं विदेशी पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उहाँले भन्नुभयो । पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई पनि भ्याइनभ्याइ छ ।
मुक्तिनाथ, रानीपौवास्थित ‘स्रेने गेष्ट हाउस’ का सञ्चालक रामहरी फुँयालले बास बस्ने पर्यटक बढेको बताउनुभयो । पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा आइपुग्ने गर्छन् ।
जोमसोमका होटल व्यवसायी अनिता शेरचनले पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको बताउनुभयो । ‘मुस्ताङ घुम्ने नेपालीको संख्या वर्षेनी बढ्दो छ, पर्यटकीय याममा हाम्रो पन व्यस्तता बढ्छ,’ उहाँले भन्नुभयो । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाहरुको रोजाईंमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।
(एक्याप) जोससोमका प्रमुख दाहालका अनुसार म्याग्दीहुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबै भन्दा बढी छ । यस्तै, मनाङहुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि आएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेको गरेका छन् । सूचना केन्द्रको आँकडा अनुसार वर्षेनी मुक्तिनाथ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढीरहेको छ ।
गत वर्ष कुल ४६ हजार ६७५ जना विदेशी पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगाएतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गत वर्ष ५२ हजार विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।