
२०६८ को जनगणना अनुसार नेपाली भाषा करिब ४५ प्रतिशत नेपालीहरुको मातृभाषा र करिब ८० प्रतिशत भन्दा बढी नेपालीहरुको सम्पर्क भाषा हो । भाषा केवल भाषा मात्रै होइन, स्वयंमा संस्कृति पनि हो, भावनात्मक एकताको आधार पनि हो । देशको समृद्धिको माध्यम पनि हो । तर आजभोलि नेपाली भाषामाथिको अतिक्रमण बढ्दो छ । भाषाका माध्यमबाट नेपाली संस्कृति, धर्म, सामाजिक परम्परामा हमला गरिएको छ । त्यसो त भाषिक आन्दोलन पनि नभएका होइनन् तर त्यस्ता आन्दोलनहरु भाषिक आन्दोलनका पूरकका रुपमा मात्र सीमित हुन पुगे । मानक नेपाली सम्बन्धी आन्दोलन, नेपाली विषय बचाऊ सम्बन्धी आन्दोलनहरु यस्तै आन्दोलन हुन् । नेपाली भाषाको संरक्षणको आन्दोलनका सन्दर्भमा यस्ता आन्दोलनहरु अपूरा भएका कारणले यिनलाई पूरक भनिएको हो । अभियन्ताहरुले आफूहरुलाई भाषिक आन्दोलनको केन्द्रमा ल्याउन कोशिश गरेको पनि देखिदंैन ।
संविधानको भाग ३ को धारा ३१ को उपधारा ५ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।’ भनेर प्रष्ट भनिएको छ । तर आज हाम्रा बालबालिकाहरुले निर्बाध रुपमा यो अधिकार उपयोग गर्न पाएका छैनन् । संस्थागत विद्यालयहरुको आगमनसँगै बालबालिकाहरुको यो अधिकारको हनन सुरु भएको हो । हाम्रा विद्यमान ऐन कानुनहरु पनि बडो विचित्रका छन् । यस्ता ऐन कानुनहरुले विद्यालय शिक्षाको माध्यम अंग्रेजी वा नेपाली भाषा हुनेछ भनेका छन् । ‘तर’ भनेर फेरि ‘आधारभूत तहको शिक्षा मातृभाषामा दिन सकिनेछ’ भनेर प्रारम्भिक तहको शिक्षा मातृभाषामा नदिए पनि हुने दिए पनि हुने द्वैध अर्थी व्यवस्था गरेका छन् । दाता र स्वार्थसमूहको रक्षार्थ यसो गरिएको हुनुपर्छ । त्यसकारण हाम्रा बालबालिकाहरु राम्ररी मातृभाषा पनि नसिक्दै अंग्रेजी सिक्न विवश थिए, छन् र भोलि पनि बनाइने छन् ।
सर्वविदितै कुरा हो, नयाँ संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय निकायलाई दिएको छ । व्यवाहरिक रुपमा धेरै अगाडिदेखि चलनमा ल्याइएको अंग्रेजी नीति स्थानीय निकायहरु पनि अख्तियार गरेका छन् र अंग्रेजी भाषामा पठनपाठन गराउनुपर्ने उर्दी जारी गरेका छन् । अंग्रेजी भाषा लागू नगर्ने विद्यालयका शिक्षकहरुको तलब भत्ता रोक्ने सम्मका चेतावनी स्थानीय निकायबाट आएका समाचारहरु सार्वजनिक भइरहेका छन् । किन अंग्रेजी माध्यम ? भन्ने हो भने गुणस्तरीय शिक्षाका लागि भनिएको छ तर आन्तरिक कुरा चाहि संस्थागत विद्यालयतिरको विद्यार्थी अभिभावकको आकर्षणलाई रोक्नु नै रहेको छ । तर विद्यालयमा जति विद्यार्थी छन्, ती विद्यार्थीहरुलाई नेपाली भाषाबाटै गुणस्तरीय शिक्षा दिएर विद्यालयहरुलाई नमूना बनाउनेतर्फ उनीहरुको ध्यान पुगेको छैन । गुणस्तरीय शिक्षा अंग्रेजी होइन, नेपालीमा मात्रै सम्भव छ । विद्यार्थीले कठिनभन्दा कठिन कुराहरुको सिकाइ आफ्नै मातृभाषाका माध्यमबाट मात्रै गर्न सक्छ, दोस्रो भाषाका माध्यमबाट कदापि सक्दैनन् । हालसालै भाषा आयोगले बुझाएको प्रतिवेदनले बालबालिकाको संज्ञानात्मक विकास र सिकाइ राम्रो गराउनका लागि प्रारम्भिक शिक्षा मातृभाषामै दिनुपर्ने कुरा उल्लेख गरेको पनि छ रे ! अंग्रेजी भाषाका कारण आजभोलि न विद्यार्थी नेपाली राम्रो जान्दछ न त अंग्रेजी नै । माथि नै भनियो, भाषा संस्कृति हो, त्यसकारण नेपाली संस्कृति जर्गेना नेपाली भाषाबाटै हुन्छ । उहाहरणका लागि हेरौं न– आजकल आम अभिभावकहरुले आफ्ना बच्चाहरुको नाम जोन, जेरी, सोनी, मोनिका आदिआदि राख्दछन् । यस्ता नामहरुको तात्विक अर्थ छैन । तर अंग्रेजीको भद्दा नक्कलबाट यस्ता नाम राख्ने प्रचलन सुरु भएको हो । नेपालीमा कृष्ण वा कृष्णा नामको आफ्नै अर्थ छ, शिवको आफ्नै । नेपाली संस्कृतिका यस्ता नामहरुले बच्चादेखि नै बालकलाई उत्साह भर्छन्, अंग्रेजी नामले जस्तो निराशा भर्दैनन् । महावीर नाम त्यतिकै राखिएको होइन, भविष्यको अनुमान लगाएरै राखिएको हो । यस्तै नेपाली भाषाले ‘सर’ भन्ने शब्द जान्दैन बरु हाम्रो समाजलाई एकताबद्ध गराइराख्ने तल्लाघरे कान्छा बा, माथ्लाघरे माइला दाई, पल्ला घरे नाइके दाई जान्दछ । यो सर भन्ने शब्दले हाम्रो सामाजिक सद्भावलाई खल्बलाइसकेको छ र हामी निस्किनै नसक्ने गरी त्यसमा फसिसकेका छौँँ ।
आजको पुस्ता देशको कला, साहित्य, राजनीति आदिआदिबाट विमुख हुँदै गएको आरोप लगाइन्छ । यसमा अहिलेको पुस्ताको रत्ति गल्ती छैन, छ भने हाम्रै गल्ती छ । हामीले जबरजस्ती हाम्रा बालबालिकाहरु हाम्रो भाषामा होइन, अरुका भाषामा अभ्यस्त गराउँदै लग्यौं, फलतः परिणाम यस्तो निस्कियो । आफूले प्रयोग गरेको भाषा अर्कै भएपछि उनीहरुलाई आफ्ना भाषा मनपर्ने कुरै भएन । आफ्ना संस्कृति मन पर्ने कुरा भएन । यसमा के अन्यथा भयो र ?
यसको अर्थ अंग्रेजी सिक्दै नसिक्ने भन्ने होइन । उपल्ला कक्षाहरुमा अंग्रेजी नै सिकाउने हो । नेपाली सिकाउनै पर्दैन । त्यसो गर्ने हो भने विद्यार्थी नेपाली अंग्रेजी दुवैमा अब्बल हुने निश्चित छ । दोस्रो भाषाका रुपमा अंग्रेजी पढाउने तौरतरिका हाम्रो देशमा खासै विकास भएको छैन । न त त्यो खालका पाठ्यपुस्तक र सामग्रीहरु नै विकास गरिएका छन् । नेपालीमा अंग्रेजी पढाइने अनौठो तरिका छ । अझ विश्वविद्यालय तहमा हेर्ने हो भने नेपालीमा पढाइ लेखाइ हुन्छ । बालबालिकाहरुलाई अंग्रेजीको नत्थी तर वयस्यकहरुलाई नेपाली पढाइलेखाइ गराउने उल्टो चलन छ । त्यसकारण भाषाको संरक्षण गर्ने, संस्कृतिको रक्षा गर्ने हो भने भाषिक आन्दोलन जराबाट सुरु हुनुपर्ने देखिन्छ । नेपाली संस्कृति अनुरुप नेपाली भाषाको विकास गरी ‘सर’ जस्ता अनिनियन्त्रित शब्दहरुको आगमन नेपालीका विद्वानहरुले रोक्नुपर्ने थियो । तसर्थ टुप्पाटुप्पा गरिएको आन्दोलनले भीड पनि जम्मा गर्ला र कोही कसैको स्वार्थ पनि संरक्षण पनि गर्ला तर नेपाली भाषाको संरक्षण हुनसक्ने देखिदैन ।
तसर्थ नेपाली भाषाको आन्दोलन विद्यालय सिकाइका प्रारम्भिक तहमै केन्द्रित गर्नुपर्दछ । त्यसो गरियो भने नेपाली भाषाप्रति आम मानिसहरु गर्व गर्नसक्ने परिस्थितिप्रति तयार हुनसक्छ भने गुणस्तरीय शिक्षा पनि दिन सकिन्छ ।
लेखक प्राध्यापकशिवशरण ज्ञवाली हुन