३ श्रावण २०८३, आईतवार

 

मेची–महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार

बागलुङ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले संयुक्त रुपमा सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म एक सय ५९ जना सडक मानवको उद्धार गरिएको छ ।

गत वैशाख २७ गते पूर्वको मेचीपुलदेखि सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशिला केसी ‘रुपा’ले जानकारी दिनुभयो ।

“सातै प्रदेशमा उद्धार यात्राको टोली पुगेको छ, यही जेठ २१ गतेसम्म उद्धार यात्रा जारी रहन्छ, जेठ २२ गते काठमाडौँको राष्ट्रिय सभागृहमा समापन हुनेछ”, उहाँले भन्नुभयो, “यस अभियानका क्रममा उद्धार गरिएका सहयोगापेक्षी सडक मानवलाई नजिकको मानवसेवा आश्रममा राखिएको छ ।”

‘यो झरी वर्षामा कोही पनि नरहुन् सडकमा’ भन्ने आदर्श वाक्यसहित मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरिएको थियो । सडकआश्रित असहाय, बेसहारा र अशक्त व्यक्तिहरुको उद्धार तथा संरक्षणका लागि उद्धार अभियान सञ्चालन गरिएको महासचिव केसीले बताउनुभयो ।

आनी छोइङ डोल्मा फाउण्डेशनले अभियानका लागि आर्थिक व्यवस्थापन गरेको उहाँको भनाइ छ । मानवसेवा आश्रमले यसअघि पनि राष्ट्रिय उद्धार यात्रा सञ्चालन गरेको थियो । उद्धार यात्रामा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी हुनुहुन्छ ।

मानवसेवाभन्दा अर्को महान धर्म कुनै नभएकाले आफू यस अभियानमा जोडएको डोल्माको भनाइ छ । जीवनलाई सार्थक बनाउन सबै सेवामा जोडिनुपर्ने उहाँले बताउनुभयो । मानवसेवा आश्रमले नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गर्दै आएको छ ।

परोपकारी संस्थाका रुपमा विसं २०७३ देखि औपचारिक सेवा सुरु गरेको मानवसेवा आश्रम देशभर रहेका सेवा केन्द्रमा हाल दुई हजार बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरुले आश्रम लिइरहेका छन् । मानवसेवा आश्रम सडकआश्रित मानवको उद्धारसँगै पारिवारिक पुनर्मिलनको माध्यम पनि बनेको छ ।

हालसम्म २८ सय जनाभन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइएको आश्रमले जनाएको छ । सडकबाट उद्धार गरिएका व्यक्तिको पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिने गरिएको आश्रमका सह–कोषाध्यक्ष सुमिरा लामाले बताउनुभयो ।

मकवानपुरको हेटौडामा केन्द्रीय कार्यालय रहेको आश्रमका कास्कीसहित २१ जिल्लामा ३० सेवा केन्द्र छन् । सडकबाट उद्धार गरेर आश्रममा ल्याइएकाको पारिवारिक पुनर्मिलन सम्भव नभए आश्रममै राखेर रेखदेख र पालनपोषण गर्ने गरिएको छ ।

मानवसेवा आश्रमले हजारौँको संख्यामा सडकआश्रित मानवको उद्धार गरेकामा हालसम्म २२ सयभन्दा बढी उपचारपछि स्वेच्छिक रुपमा आश्रमबाट बाहिरिएको आश्रमले जनाएको छ ।

कोही पनि नागरिक सडकमा आश्रित हुनु नपरोस् भनेर झण्डै एक दशकअघि मानवसेवा आश्रम स्थापना गरिएको थियो । छोटो अवधिमै देशका विभिन्न जिल्लामा आश्रममा सेवा केन्द्र विस्तार गरिएको छ ।

सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना बन्ने क्रम सुरु भएको छ । गण्डकी प्रदेशमा पनि कास्की, बागलुङ, लमजुङ र गोरखा शाखाको भवन निर्माणाधीन अवस्थामा छ । सरकारी निकाय, विभिन्न सङ्घसंस्था र अन्य दाताहरुको सहयोगमा आश्रमका भवन बनिरहेका हुन् ।

आश्रमले सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा मानवसेवा आश्रम जुटेको छ ।

खोजीनितीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung