म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–६ र्यखोरका खकेन्द्र शेरपुञ्जामा शारीरिक अपांगता छ, तर उनी दैनिक ६ घन्टा हिँडेर विद्यालयमा आवतजावत गर्दै आएका छन् ।
पाखापानीमा रहेको अमर माविको कक्षा १० मा अध्ययनरत शेरपुञ्जा १० बजे विद्यालय पुग्नका लागि बिहान सात बजे नै घरबाट हिँड्छन् । विद्यालय पुग्न र घर फर्कन तीन–तीन घन्टा हिँड्न बाध्य छन् उनी । बिहान चिया खाने समयमा नै खाना खाएर विद्यालय हिँड्छन् । उनीजस्तै दर्जन विद्यार्थी ६ घन्टा हिँडेर विद्यालय आवतजावत गर्छन् । कक्षा १० मा पढ्ने विद्यार्थी मात्र होइन, आधारभूत तहमा अध्ययन गर्ने बालबालिका पनि दैनिक ६ घन्टा हिँड्न बाध्य छन् ।
विद्यालयमा पाखापानी औल, ठाडाखानीलगायतका गाउँबाट घन्टाैँ लागेर पढ्न विद्यालय आउने–गरेको विद्यालयका प्रधानाध्यापक योगकुमार फगामीले बताए । ‘हाम्रो विद्यालयमा पढ्न आउने विद्यार्थी र्यखोरबाट पनि आउँछन् । पानी पर्दा उनीहरूलाई निकै समस्या हुने गर्दछ, नजिकै प्राविबाहेक माथिल्लो तहको विद्यालय नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको छ,’ फगामीले बताए ।
जस्तोसुकै समस्या आए पनि र्यखोरका विद्यार्थी विद्यालय आउन भने कहिल्यै छोड्दैनन् । ०६६ सालको एसएलसीमा जिल्ला प्रथम भएको विद्यालयमा अहिले २५० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
शारीरिक अपांगता भएका शेरपुञ्जाले दैनिक ६ घन्टा हिँड्नु निकै कठिन भएको बताए । जंगलको भिरालो बाटो पार गर्न निकै कठिन भएको उनको भनाइ छ । ‘स्कुल पुग्ने वेलामा भोक लागिसकेको हुन्छ, त्यही भोको पेटमै दिनभरि पढेर बेलुका घर फर्किन बाध्य भएका छौँ,’ शेरपुुञ्चाले भने, ‘बिहान उठेर स्कुल आउन ठीकै हुन्छ, स्कुल बिदा भएर घर पुग्दा थाकेर केही गर्न मन लाग्दैन, हामीले घरमा पढ्नै पाउदैनौँ ।’
भौगोलिक विविधताका कारण र्यखोरका बालबालिकालाई माध्यमिक तहको पढाइका लागि कठिनाई भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । बीचमा खोला भएका कारण उनीहरू चिमखोलाको विद्यालयमा जान नसक्ने र पाखापानी आउन घन्टौँ लाग्ने भण्डारीको भनाइ छ । ‘हामीले रघुखोलामा झोलुङ्गे पुल हाल्दै छौँ, त्यसपछि त्यहाँका विद्यार्थीलाई चिमखोला नजिक पर्छ,’ अध्यक्ष भण्डारीले भने, ‘पुल निर्माण भएपछि एक घन्टामा नै चिमखोलाको विद्यालयमा पुगिन्छ । आगामी वर्ष पुल निर्माण गर्ने गरी सर्भे भइसकेको छ ।’ विद्यालयमा छात्रावासको व्यवस्था गरेर पनि त्यस क्षेत्रका विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ ।
र्यखोरका १३ जना बालबालिका पाखापानीको स्कुलमा पढ्छन् । कक्षा १० मै अध्ययनरत ज्योति थजाली भन्छिन्, ‘हामी त हिँड्छौँ बानी परिसक्यो, तर खकेन्द्रलाई भने अलि समस्या हुन्छ । हिउँदको समयमा त त्यति समस्या हुँदैन, तर वर्षा सिजन सुरु भयो, ठाउँठाउँमा पहिरो जान्छ, पानी पर्दा बढी समस्या हुन्छ ।’ थजालीले वर्षामा ठूलो पानी पर्दा कहिलेकहीँ पहिरो पन्छाएर हिँड्नुपर्ने बाध्यता रहेको बताइन् ।


















































































































































































































