७ कार्तिक २०८३, शुक्रबार

 

दुई जना अंग्रेजीको शिक्षक हुँदा हुँदै किन पठाउन खोजेका छन् मेयरले अर्को अंग्रेजी शिक्षक ?

- एक वर्षदेखि लेखा र विज्ञान विषयका शिक्षक रिक्त

जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माविमा एक वर्षदेखि मावि तहको लेखा र निमावि तहको विज्ञान शिक्षक रिक्त छ । विद्यालयले विषय शिक्षकका लागि खोजी गर्दा अर्घाखाँची स्थित जनज्योती माविका शिक्षक सरुवा हुन ईच्छुक भेटायो । उक्त विद्यालयका शिक्षक प्रकाश भुषाललाई विद्यामन्दिरमा सरुवा गर्नका लागि सन्धीखर्क नगरपालिकाको भुषाल कार्यरत जनज्योती मावि र अर्घाखाँची शिक्षा बिकास तथा समन्वय ईकाईले सहमति दिएको छ ।

शिक्षक नहुँदा सबै कक्षामा पढाई अबरुद्ध

यता विद्यालय व्यवस्थापन समितिले गत चैत २० गते निर्णय गरेर भुषाललाई बागलुङ आउन सहमति दिइसकेको छ । तर बागलुङ नगरपालिकाले भने सहमति नदिंदा बालबालिकाको पढाई अन्यौल भएको छ । एक बर्षदेखि उनीहरुले लेखा र विज्ञान बिषय पढ्न नपाएर सास्ती खेपेका छन् । विद्यालय तहमा पढाउने शिक्षकले कक्षा ११ र १२ मा पनि लेखा बिषय पढाउनुपर्ने बाध्यता छ । शिक्षक नहुँदा सबै कक्षामा पढाई अबरुद्ध छ ।
यसरी शिक्षक पदपूर्तिका लागि विव्यसले थाल्यो प्रक्रिया

लेखा विषय अध्यापन गराउँदै आएका जोहन बज्र्राचार्यले त्रिवि सेवामा नाम निकालेपछि गत वर्षको बैसाख २४ गते विद्यालय छाडेका थिए । बलेवा स्थित गणेश माविकी बिस्थापित शिक्षक सरस्वती शर्माले उक्त स्थानमा एक महिना अध्यापन गराईन् । एक महिनाको अध्यापन पछि उनी अष्ट्रेलिया हानिईन् । अस्थायी शिक्षक भएकोले उनले पाएको अवसर सदुपयोग गर्दा विद्यालयमा भने लेखा शिक्षकको अभाव खड्केको छ । उनी आउन छाडेपछि गत चैत २० गते विद्यालय व्यवस्थापन समितिको बैठकले लेखा बिषय अध्यापन गराउन रिक्त पदमा शिक्षक पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
नगरपालिकाले सरुवाका लागि सहमति दिएन 

गत कात्तिकमा अर्का शिक्षक भोजबहादुर खड्काको अनिवार्य अवकास भएपछि रिक्त पदमा निमावि तहको विज्ञान शिक्षक ल्याउने व्यवस्थापन समितिले निर्णय गरेको छ । तर अहिलेसम्म उक्त विषयको शिक्षक पदपुर्ति पनि नहुँदा विद्यार्थीहरु थप मारमा परेका छन् । सोही बैठकले उक्त पदमा शिक्षक सरुवा गरी ल्याउने निर्णय गरेको थियो । मुलपानी माविको निमावि दरबन्दीमा कार्यरत विज्ञान विषयका शिक्षक माया शर्मालाई पठाउन दुवै विद्यालय राजी भइ सहमति समेत दिएको छ । तर उनको लागि समेत बागलुङ नगरपालिकाले सहमति दिएन ।

पढाई जस्तो संवेदनशिल विषयमा नगरपालिकाले सरुवाका लागि सहमति नदिएपछि बालबालिकाको पढाईमा गम्भिर असर परेको हो । अघिल्लो शैक्षिक शत्रमा ज्यालादारी शिक्षक खोजेर विद्यालयले काम चलाउ पढाइ संचालन गरेको प्रअ जगन्नाथ आचार्यले बताए । चालु शैक्षिक बर्षका लागि भने कुनै व्यवस्था गर्न नसकिएको उनले गुनासो गरे । ‘दुवै तर्फका विद्यालय सहमत भएर स्थायी शिक्षक ल्याउन पनि नगरपालिकाले सहमति दिएन’ आचार्यले भने, ‘हरेक दिन विद्यार्थी र अभिभावकले शिक्षक ल्याउन दवाव दिंदै डेलिगेसन गरिरहेका छन् ।’ शिक्षा विभागले केही समय अघि रोकेको शिक्षक सरुवाको बाटो खुला गरेको छ ।

 

अन्य विद्यालयका शिक्षक धमाधम सरुवा 

शुरुसरुवा फुकुवा भएपछि बागलुङ नगरपालिकाले पनि अन्य विद्यालयका शिक्षक सरुवा धमाधम शुरु गरेको छ । विद्यामन्दिरको लागि भने नगरपालिकाले विना कारण अवरोध सिर्जना गरेको व्यवस्थापन समितिका अध्यक्ष सुवाशचन्द्र राजभण्डारीले बताए । 

 

नगरपालिकाका शिक्षा हेर्ने अधिकारीले पनि सरुवा फुकुवा भएको बताए । ‘फुकुवा भएपछि अन्दाजी ७ वटा सरुवा गरियो होला’ धवलागिरी वीरेन्दमावि अगुवा श्रोत केन्द्रका श्रोत व्यक्ति ढकबहादुर पुनले भने, ‘सरुवाका काम धमाधम भैरहेका छन् ।’ यसै क्रममा काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिका लगायतमा पनि धमाधम सरुवा भैरहेको छ । अमर मावि बिहुँबाट शिक्षक सुनिता कंडेलको मुलपानी माविमा सरुवा भएको छ । त्यस्तै नारायणी मावि तंग्रामबाट पवित्रा कंडेल लहरेपिपल माविमा सरुवा भएर आइसकेकी छिन् । सरुवाको क्रममा दर्जनबढी शिक्षक सरुवा भैसक्दा पनि विद्यामन्दिरको आवश्यकता प्रति नगरपालिकाले वास्ता नगरेको हो । हाल यो विद्यालयमा १ हजार २ सय बढी बालबालिका पढ्छन् ।

आफु नजिकको मान्छेलाई प्रअ बनाउने नियतमा नगप्रमुख

विद्यालयका प्रअ आचार्यको आगामी २०७६ बैसाख २६ मा अनिवार्य अवकास हुँदैछ । उक्त स्थानमा नगर प्रमुख जनकराज पौडेलले आफ्नो नजिकका मानिसलाई प्रअ बनाउने नियतले सरुवा रोकेको टिप्पणी शुरु भएको छ ।

हालको व्यवस्था अनुसार आचार्य पछि प्रअका लागि शान्तमणि ढकाल रोलक्रममा छन् । नगर प्रमुख पौडेलले दरबन्दीमा श्रोत व्यक्ति ढकबहादुर पुनलाई लैजान र लेखा विषयमा करार शिक्षक राख्न दवाव दिएको अध्यक्ष राजभण्डारीले बताए । हाल विद्यामन्दिर माविको मावि दरवन्दीमा स्नातकोत्तर पास गरेका २ जना अंग्रेजी शिक्षक कार्यरत छन् । पुन पनि अंग्रेजी विषयकै शिक्षक हुन् । विद्यालयमा भने लेखा र विज्ञान शिक्षक आवश्यकता छ । विद्यार्थीको भविष्य जोखिममा पारेर विषय शिक्षक ल्याउन सहमति नदिएर विद्यालयलाई अन्याय गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुलाल शाक्यले बताए । ‘आफ्नो अनुकुलको शिक्षक ल्याएर प्रअ बनाउने चलखेलका साथ नगर प्रमुख पौडेल लागेका छन्’ शाक्यले भने, ‘वास्तविक आवश्यकतामा चासो राखिएन ।’

किन शिक्षा विकास तथा समन्वय इकाईलाई बाईपास गरियो ?

शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायले नगर तथा गाउँपालिकाले  वाईपास गरेर सरुवा गरिरहेको आरोप लगाए । सरुवाको अधिकार शिक्षा विकास तथा समन्वय ईकाईमा मात्र छ ।

सहमति विना सरुवा भएमा शिक्षकको वृत्ति विकासमा असर पर्ने बताए । ‘नगर प्रमुखलाई भेटेर शिक्षक खाली छ, सहमति दिनुहोस् भनेको छु’ उपाध्यायले भने, ‘किन ढीला गरिरहनु भएको हो थाहा भएन ।’ आँफूलाई थाहै नदिई नगरपालिकाले सरुवा गरिरहेको थाहा पाएको टिप्पणी गरे । ‘आफ्नो अधिकार क्षेत्र बाहिर गएर नगर प्रमुखले किन निर्णय गर्नुभयो’ उपाध्यायले भने । नगरप्रमुख पौडेलले भने “विद्यालयले लेखा र विज्ञानको शिक्षक लामो समयदेखि शिक्षक रिक्त रहेको र आवश्यकता भएको कुरा प्रकृयागत जानकारी समयमै नगराएको बताए । लेखाको शिक्षक सरस्वती शर्मा लामो समयदेखि विदेशमा थियो ।” ‘बाहिरी जिल्लाबाट सरुवा गर्न पाउने नपाउने बुिझरहेका छौं’ उनले भने, ‘सरुवाको अधिकार हामीमा छ ।’

अन्य स्थानिय तहले कसरी दिएका छन सहमती

जिल्लान्तरण सरुवाको सहमती बागलुङले नदिए पनि जैमिनी नगरपालिकाले अन्नपुर्ण गाँउपालिका वाड न ७ म्याग्दी स्थित टिकोट माविबाट विज्ञानका निमाविका शिक्षक लेखनाथ शर्मालाई जैमिनी नगरपालिका वाड न ४ स्थित जनता मावि सर्कुवामा जिल्ला अन्तर सरुवा सहमति दिएको जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यले जानकारी दिए । हामीले सहमति दिएको हो, आचार्यले भने, ‘चैत १ गतेदेखि अध्यापन गराउने गरी शिक्षा विकास तथा समन्वय इकाई बागलुङले सरुवा गरेको आचार्यले वताए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung