दास प्रथा उन्मुलन गर्ने अमेरिकाका सोह्रौ राष्टपति अब्राहम लिंकनको बाल्यकाल अत्यन्त दुखमय थियो । उनी साधारण परिवारमा जन्मेका थिए । उनको परिवार डेंगा चलाएर र दाउरा बेचेर जीविका चलाउँथ्यो । बालक लिंकनको अध्ययनमा गहिरो अभिरुचि थियो । महापुरुषहरुको जीवनी पढ्न भनेपछि भुतुक्कै हुन्थे । तर, किताब किन्नलाई उनीसँग पैसा हुदैनथ्यो ।
उनी अमेरिकाका प्रथम राष्टपति जर्ज वासिङ्टनको जीवनबाट साह्रै प्रभावित थिए । १६ वर्षे किशोर लिंकनले एक जना छिमेकिसँग बासिङ्टनको जीवनीको किताब भएको थाहा पाए । उनले त्यो किताब अनुनय विनय गरेर मागे छिमेकीले चाँडै फर्काउनुपर्ने शर्तमा किताब दिए लिंकन अत्यन्त खुशी भए ।
उनी किताबमा डुब्दै थिए । पुरै पढ्न भ्याइसकेका थिएनन् । आधाउधी मात्र के पढिभ्याएका थिए , एक दिन अचानक घनघोर वर्षा भयो । लिंकन छाप्रोमा बस्थे । त्यसको छानोबाट पानी चुहिन्थ्यो । छिमेकीले दिएको किताब पानीमा भिजेर खराब भयो । लिंकनलाई बडो चिन्ता भयो । उनले सोचे , अरुको सामानको हिफाजत गर्न नजान्ने मैले किन सापटी मागेर ल्याएँ होला ?
भोलिपल्ट उनले छिमेकीलाई भेटेर मबाट ठुलो अपराध भयो । तपाईको किताब पानीले भिजेर खराब भयो । मैले जोगाउन सकिनँ ।
छिमेकी लिंकनको इमानदारी ,सरलता र निष्कपटता दखेर असाध्यै प्रसन्न भए । म तपाईलाई नयाँ किताब किनेर दिन्छु लिंकनले भने । तिमीसँग फुटेको कौडी छैन , कसरी किन्छौ ? छिमेकिले भने ,भैगो छोडिदेऊ । लिंकनले आत्मविश्वासपुर्वक भने , मसँग पैसा नभए पनि श्रम गर्ने शक्ति छ ।
मान्छेको श्रेष्ठ सम्पति इमानदारी हो । मसँग इमानदारी छ । म तपाईको खेतमा काम गर्नेछु । किताबको मुल्यभन्दा दोब्बर मुल्यको श्रम गरेर तपाईको ऋण चुक्ता गर्नेछु । उनले आफुले भनेबमोजिम छिमेकीको खेतमा काम गरेर किताबको मुल्य चुकाइदिए । लिंकनको इमानदारी देखेर छिमेकी दंग परे । किशोर लिंकनप्रति उनको मनमा सम्मान जाग्यो ।



















































































































































































































