२१ जेष्ठ २०८३, बिहीबार

 

गथांमुगः चः¥हे (घण्टाकर्ण चतुर्दशी)

प्राचीन तथा मध्यकालीन नेपालमा नेवारहरु मूलतः नेपाल खाल्डो (वर्तमान काठमाडौं उपत्यका) मा बसोबास गर्दथे । आज तत्कालीन नेपाल खाल्डो निवासी नेवारहरु वर्तमान नेपालका विभिन्न भूभागमा छरिएका छन् । हरेक महिनामा एक न एक चाडपर्वमा रमाउने नेवारहरुले मनाउने चाडपर्वमध्ये गथांमुग च¥हे (घण्टाकर्ण चतुर्दशी) पनि एक हो जुन श्रावण कृष्ण चतुर्दशीका दिन पर्दछ ।

नेवारहरु यस दिन गथांमुग (बकासुर – रात्रिचर) को प्रतिमूर्ति बनाई उक्त राक्षसको प्रतीक (पुतला) लाई जलाउने गर्दछन् । यो नेवार जातिले विगत लामो समयदेखि मनाउँदै आएको एक प्राचीन सांस्कृतिक पर्व हो । नेवारहरु कुमार कार्तिकेयले घरको मूल ढोकामा विराजमान भई क्षत्रपालका रुपमा हाम्रो घरको रक्षा गर्दछन् भन्ने विश्वास गर्ने भएकाले यो दिनमा यिनीहरू कुमार कार्तिकेयको पूजा गर्ने गर्दछन् ।

यो दिन नेवार समुदायमा टोल–टोलका दोवाटो, तेबाटो वा चौबाटोमा हरियो पातसमेत भएको निगालो वा मकैको मुठ्ठालाई त्रिखुट्टी बनाएर उभ्याइन्छ । निगालो वा मकै वा कुनै काठविशेषको मुठ्ठाको लिङ्गाकार त्रिखुट्टीमाथि झुण्ड्याई त्यसमा पुरूष चिन्ह लेखेको कागज टाँसी भैरव मानिन्छ भने अर्को टोलको दोवाटो, तेबाटो वा चौबाटोमा हरियो पातसमेत भएको निगालो वा मकैको मुठ्ठालाई त्रिखुट्टी बनाएर उभ्याई त्यसमा स्त्री चिन्ह लेखेको कागज टाँसी अजिमाको स्वरूप ठानिन्छ । काठमाडौं उपत्यकामा कहीँ कहीँ दोबाटोमा त्रिखुट्टी ठड्याई उभ्याइएको निगालो वा मकैको मुठ्ठाको एकापट्टि पुरूष चिन्ह र अर्कोपट्टि स्त्री चिन्ह लेखेको कागज टाँसी अर्धनारीश््रवर बनाउने पनि गरिन्छ ।

त्रिखुट्टीलाई सत्व, रज र तमका शाश्वत् तीन गुण सम्पन्न संवर भैरवको प्रतीक मानिन्छ । हरेक व्यक्तिमा यी त्रिगुण रहेको हुन्छ । कसैमा सत्व बढी त कसैमा रज र कसैमा तम बढी हुने गर्दछ । भनिन्छ सत्व गुण बढी भएको व्यक्ति शान्त र ज्ञानी हुन्छ । रज गुण बढी भएको व्यक्ति मत्त र घमण्डी स्वभावको हुन्छ । त्यस्तै तम गुणको आधिक्यता भएको व्यक्ति कम बुद्धि भएको र जाँड, रक्सी जस्ता कुलततर्फ आकृष्ट हुन्छ । त्यसैले यो पर्वलाई असल र खराब छुट्टयाउने पर्वका रूपमा पनि लिइन्छ ।

त्रिखुट्टीमा खराब पोकाहरू झुण्ड्याई ठड्याइएको नर्कटको अन्त्येष्टि गर्नु अघि टोल–टोलका केटाकेटीहरू मिली टोलको बाटो हिँड्ने बटुवाहरू र यातायातका साधनलाई समेत रोकी÷छेकी पैसा र अन्य सामग्री (जगात) उठाउँछन् । यसरी उठाइएको पैसा र सामग्री काठमाडौँ उपत्यकामा एकजना तमगुणयुक्त व्यक्तिको भूमिका निर्वाह गरी माग्दै हिँड्ने प्रतीकात्मक व्यक्तिलाई दिइन्छ ।

यो दिनमा उक्त मानिसलाई बिहानदेखि नै रक्सी पिलाई उसको जिउभरि ध्वाँसो र तेलको मिश्रणबाट निस्केको कालो रङ दलेर विभिन्न अपशब्दहरू लेखी तमगुणयुक्त व्यक्तिको रूपमा प्रस्तुत गरी हातमा दहीको कटेरो समात्न लगाई “आजु जय हा !” भन्दै माग्न पठाइएको हुन्छ । साँझपख सम्बन्धित टोलका मानिसहरू र बालबालिकाहरू बाजा बजाउँदै नर्कटलाई नदी÷खोला वा खोल्छाहरूमा लगी ढाल्दछन् र बिसर्जन हुन्छ । बेलुकी खानेकुरामा चिउरा छान्दा रहेको चिउराको धूलो, लसुन, छ्यापी, काँचो मासु, रगत, रक्सी, जाँड, फुल दोबाटोमा राखिन्छ ताकि खराब तत्व त्यसैमा भुलोस्, घरभित्र छिर्न नपाओस् भन्ने विश्वासका साथ घर फर्कँदा घरको मूल ढोकामा त्रिखुट्टी आकारमा किल्ला पनि ठोक्ने गर्दछन् ।

त्रिखुट्टीमा उभ्याइएको गठेमंगलको दुवै कानमा घण्टाको आकार झुण्ड्याइने हुँदा यसलाई घण्टाकर्ण पनि भनिन्छ । यो घण्ट झुण्ड्याउनुको तात्पर्य भगवान शिवबाहेक अरू देवताहरूको नाम सुन्न नपरोस् भन्ने मान्यता रहेकाले हो । रोपाईँको समाप्तिको लगत्तै पर्ने यो पर्वमा यसअघि थन्क्याइएका बाजाहरू निकाली नृत्यनाथ देवताको पूजा आराधना गरी बाजा बजाउन सिक्न चाहने व्यक्तिहरूलाई उक्त कार्य प्रारम्भ गर्ने अवसर प्रदान गरिन्छ । यो चाडले अरू चाडहरू निम्त्याउँछ र चाडहरूको लर्को नै लाग्दछ ।

बागलुङमा प्रचलित गठेमङ्गल र यसको दाहसंस्कार विधि
यस किसिमको गठेमङ्गल नेवारहरुको बाक्लो बस्ती भएको नेपालका प्रायः सबै ठाउँमा बनाउने परम्परा अद्यापितक पाइन्छ, तर कहीं कतै लोप हुँदै गएको अवस्था पनि छ । यो बकासुर राक्षसको प्रतीकका रुपमा ठड्याइने गठेमङ्गल (प्रतिमूर्ति) तयार गर्नका निमित्त निम्न सामग्री आवश्यक हुन्छ ः
१) स्थानीय स्तरमा सो समयमा पाइने करिब ५÷६ फुट उचाइको पूmल (धानचरी वा चावल) सहितको मकैको डाँठ एक अँगालोभरि अर्थात् करिब २१÷२२ वटा
२) ४÷५ मुठा बाबियाको डोरी, ३) घण्टाकर्ण राक्षसको चित्र,
४) दुईवटा हरिया भोगटे (चखत्रा) र करिब एक फुट जति लामो खिराको डण्डी र रौं करिब एक मुठी (जननेन्द्रिय चिन्हको प्रयोजनका लागि),
५) उपस्थका लागि कालो, रातो रङ तथा अलिकति सिन्दूर आदि तथा
६) मृदङगा र भ्mयाली
यी सामग्रीहरुका अतिरिक्त गठेमङ्गलको प्रतिमूर्तिलाई सेलाउने स्थलसम्म पु¥याउनका लागि मृदङ्गा र झ्याली बजाउने २ जना वाद्यबादक (कलाकार) को पनि आवश्यकता पर्दछ । माथि उल्लिखत सामग्रीको व्यवस्थापन गरी गठेमङ्गलको प्रतिमूर्ति निर्माणका साथै आवश्यक कलाकारहरुको व्यवस्थापन तथा संयोजन गर्ने कार्यमा बजारबासी रङ्गिला, रसिला युवकहरुको प्रमुख हात रहेको हुन्छ ।

सङ्कलित मकैको डाँठमध्ये केही मात्रामा हातको स्वरुप निर्माणार्थ छुट्ट्याई बाँकी डाँठलाई १ मिटरको उचाइ हुने खण्डमा बाबियोको डोरीले बाँधिन्छ । उक्त बाँधिएको खण्डबाट तीनवटा खुट्टाका लागि छुट्टाछुट्टै अंश छुट्ट्याइन्छ । प्रतिमूर्तिको निमित्त चाहिने खुट्टा दुईवटा हो तापनि प्रतिमूर्तिलाई भुइँमा ठड्याउने उद्देश्यले तीनवटा बनाइन्छ । शरीरको अंशका लागि करिब १– ११÷२ फुट जति ठाउँ छोडी धानचरीको ठीक तल घण्टाकर्णको नाङ्लो जत्रो टाउको जनाउन राक्षसको चित्र सजाइन्छ र उसको टाउकोको रौं (लट्टा) जनाउन मकैको धानचरी लट्काइएको हुन्छ ।

तीनवटा खुट्टाको सङ्गमस्थलनिर वा मुन्तिर खिराको डण्डी र भोगटे (चखत्रा) लाई पुरुषको जननेन्द्रिय चिन्ह झल्किने गरी झुन्ड्याइएको हुन्छ भने खिराको डण्डीमा तेलमा मुछिएको सिन्दूरले सजाइएको हुन्छ । यो अवसरमा बजारका केटीहरुले वर्षभरि सङ्गालेका रङ्गीविरङ्गी र बुट्टेदार कपडाका टुक्राटाक्री (थाङ्ना) बाट तयार पारेका पुतलीहरु गठेमङ्गलको व्यवस्थापनमा संलग्न आयोजकहरुलाई दिन्छन् । आयोजकले ती पुतलीहरु गठेमङ्गलको हात, पाखुरा, गला, शरीर, आङ, पेट आदिमा सजाइदिन्छन् जसले गर्दा गठेमङ्गलको आकृति निकै चित्ताकर्षक बन्न पुग्दछ ।

विगत समयमा मनोरञ्जनको कुनै माध्यम नहुँदा हरेक घरका कन्याकेटीहरु पुराना रङ्गीविरङ्गी र बुट्टेदार कपडाका थाङ्ना र कपडा सिलाउँदा बाँकी रहेको टुक्राटाक्री जम्मा गरी विभिन्न किसिमका पुतलीहरु बनाउँथे । कसै–कसैले केटा, केटी, बाबु, आमा, भाइ, बहिनीहरुको समेत पुतली बनाउँदथे । यति मात्र होइन एउटा पुतलीलाई दुलाहा र अर्को पुतलीलाई दुलहीका रुपमा सिँगारी विवाह गराइदिने, दुलान फर्काउने जस्ता खेल खेली बालापनको आनन्द अनुभूत गर्दथे । यसप्रकार नेवार समुदायका छोरीबेटीहरुले बचपनमा खेल्ने गरेको यो खेलको माध्यमबाट आपूm परिपक्व भएपछि बहन गर्नुपर्ने पारिवारिक जिम्मेवारीका जीवनशैली बाल्यावस्थादेखि नै सिक्ने गरेको झल्को दिन्छ ।

यो पुतलीको क्रियाकलाप गठेमङ्गलका दिन उक्त प्रतिमूर्तिमा चढाएपछि समाप्त हुन्छ । यो पुतलीको प्रयोगका कारण गठेमङ्गलको पुतला जलाउन सजिलो पनि हुन्छ । वर्षभरि सङ्गालेका कपडाका टुक्राटाक्री थाङ्नाबाट निर्मित पुतली यो दिनमा समाप्त भएपछि कन्याकेटीहरुले अर्को दिनदेखि फेरि अरु कपडाका टुक्राटाक्री जम्मा गरी नयाँ पुतली बनाउने गर्दछन् । (प्रेम छोटा ः बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेणी, २३–२४) तर अचेल घरघरमा टीभी, हातहातमा मोबाइल भएकाले आजभोलिका केटीहरुलाई पुतली बनाउने यस्तो सिर्जनात्मक गतिविधिमा लाग्ने फुर्सत कहाँ र ? आजभोलि यसरी पुतली बनाउने चलन लोप हुन थालेकाले गठेमङ्गलको प्रतिमूर्ति सेलाउन कठिन हुने हुँदा केही लिटर मट्टितेल लगेर जलाउनुपर्ने भएको छ ।

हरेक दोबाटो, तेबाटो र चौबाटो पर्ने बजारको मुख्य मुख्य चोकमा ठड्याई उक्त चोकको प्रत्येक प्रवेशद्वारमा बाटोको वारपार हुने गरी डोरी बाँधेर साँध लगाइन्छ र गठेमङ्गलको प्रतिमूर्तिमा भेटी चढाई माग्न प्रवेश निषेध गरिन्छ । उक्त बाटो हिँड्ने बटुवा र यातायातका साधनलाई भेटी (जगात) नचढाएसम्म साँधपार गर्न दिँदैनन् अर्थात् चोकको बाटो भई अन्यत्र जान दिँदैनन् । चोक चोकमा यस किसिमको गठेमङ्गल ठड्याइएकाले बटुवाहरु भेटी (जगात) तिर्न विवश हुन्छन् । भेटी चढाउनेहरुलाई प्रवेश दिई ठड्याइएको गठेमङ्गललाई ढोग्न लगाउँछ । गठेमङ्गललाई ढोगेपछि वर्षभरि कुनै भूतप्रेत पिशाचादिले दुःख दिंदैन भन्ने विश्वास गरिन्छ ।

बागलुङ बजारमा पहिला पहिला बुद्धचोक, भोलाचोक, नारायणचोक, भीमसेनचोक, देउरालीचोक, राधाकृष्णचोकसहित धेरै ठाउँमा यो गठेमङ्गलको प्रतिमूर्ति निर्माण गरिन्थ्यो । अहिले घरघरमा सानो परिवार भएको, छोराछोरीहरु बजारदेखि बाहिर पोखरा, काठमाडौंतिर पढ्न जाने, कोही छोराछोरीहरु विदेश जाने र अहिले मनोरञ्जनका थुप्रै साधनहरु घरघरमा भएकाले यसको संख्या घट्दो क्रममा छ । बुद्धचोकका शाक्य समाजका संस्कृतिकर्मीहरु यो पर्वको सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै यसको जगेर्नाका लागि कटिवद्ध देखिन्छन् जुन यो क्षेत्रकै लागि अनुकरणीय मान्नुपर्दछ ।

यसरी तयार गरिएको गठेमङ्गलहरु सेलाउन करिब २०÷२५ वर्षअघिसम्म भुत्लेचौर (यो नामकरणबाटै स्पष्ट छ – यो ठाउँ प्राचीन समयमा विभिन्न किसिमका प्रेतात्माको बास भएको ठाउँका रुपमा लिइन्थ्यो) मा लगेर अन्तिम दाहसंस्कार गर्ने वा जलाउने गरिन्थ्यो भने सेलाउने कार्यमा संलग्न सदस्यहरु, जसलाई मलामीका रुपमा लिइन्छ, नुहाइधुवाइ र चोखो निष्ठाका लागि सेलाउने क्रममा जम्मा भएका साना–साना बालबालिकाहरुलाई समेत यौनोत्तेजक अश्लील शब्दहरु भट्टयाउन लगाई बजार र आकाश नै गुञ्जायमान पार्दै छहरा पँधेरामा जाने गर्दथे । त्यसैले यो दिन मानव जातिलाई सृष्टिसम्बन्धी ज्ञान प्रदान गर्ने दिनका रूपमा समेत स्मरण गरिन्छ र यसलाई छोरो पर्वका रुपमा पनि लिइन्छ । साथै यो दिनमा खराब तत्वबाट बच्नका लागि फलाम वा पञ्चधातुको औंठी लगाउने र महिलाहरूले हातमा मेहन्दी लगाई राम्रो बनी अर्को लिङ्गलाई आकर्षण गर्ने प्रथा पनि रहेको छ ।

(सालाना मनाउँदै आइरहेको चाडपर्व ः विनोदमान राजभण्डारी) ने. सं. ११११ (वि. संं. २०४८) मा बागलुङमा नेपाल भाषा मंकाः खलःको स्थापना भएपछि नेवार जातिको लोक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले खलःले यो पर्वका अवसरमा टोल–टोलमा निर्माण हुने गठेमङगलहरुका बीच प्रतिस्पर्धा गराई संयोजनको भूमिका निर्वाह गर्दै आइरहेको छ । आजभोलि यो सेलाउने वा जलाउने तथा नुहाइ धुवाइ गर्ने दुवै काम छहरा पँधेरामा सम्पन्न गर्ने गरिएको छ ।

घण्टाकर्ण पर्वको ऐतिहासिकताबारे एक चर्चा
घण्टाकर्ण पर्वको प्रचलन कहिलेदेखि, पहिला कहाँ र किन मनाउन थालिएको हो भन्ने तथ्य खोजीकै विषय रहेको छ । यसबारेमा विभिन्न जनश्रुतिहरु रहेका छन् । एउटा जनश्रुतिअनुसार परापूर्वकालमा देशमा मानव जगत्लाई दुःख दिँदै आएको एक राक्षसबाट मुक्ति पाउन एकजना तान्त्रिकले भ्यागुतोको रूप लिई उक्त राक्षसलाई गिज्याउँदै लखेट्ने क्रममा त्यो राक्षस दलदलमा फँस्सिई मारिएको हुँदा सोही घटनाक्रमको स्मृतिमा यस दिन यो पर्व मनाउने गरिएको भनाइ छ ।

त्यस्तै द्वापर युगकालीन हिन्दू महाकाव्य महाभारतको कथाअनुसार पाण्डवहरु वानप्रस्थ जीवन व्यतीत गर्ने क्रममा एउटा घना जङ्गल पार गरेर अन्यत्र कतै जानेबारेमा सोच्दै गर्दा तिनीहरुका सामु वेदव्यास ऋषि आइपुगे । ऋषिले पाण्डवहरुले भोग्नु परिरहेको दुःखमा दुखित भई उनीहरुलाई ढाडस दिंदै भने, ‘अन्ततोगत्वा सत्यको जित हुन्छ, दूधको दूध, पानीको पानी भएरै छाड्नेछ ।’ वेदव्यास ऋषिले उनीहरुलाई नजिकको एकाचक्र (कतै चक्रनगरी र कतै चित्रकुट ? पनि भनिएको) नामको ब्राह्मणहरुको वस्ती भएको गाउँको शरण लिन सुझ्याए । उनीहरु त्यहाँ ब्राह्मणको भेषमा एकजना ब्राह्मणको घरमा बस्न थाले । उनीहरु गाउँमा भिक्षा मागेर आप्mनो खानाको जोहो गर्दथे ।

एक दिन मध्यान्हमा जब कुन्ती आराम गरिरहेकी थिइन् ब्राह्मणको घरमा कुनै ठूलै विपद् परेको छनक तिनले पाइन् । कुन्तीको पूरा परिवारलाई आश्रय दिएर त्यो घरले ठूलो गुन लगाएको हुँदा सो गुनको ऋण यही बेला चुकाउनु पर्दछ भन्ने ठानी कुन्ती उनीहरुको कष्टको कारण सोध्न गइन् । तब ब्राह्मणले तिनीहरुको कष्टबारे बताउँदै भन्छन्, ‘वर्षौं अघि बकासुर नाम गरेको एउटा राक्षसले यो गाउँका बासिन्दालाई दुःख दिइरहेको थियो । यो क्षेत्रका राजाले आप्mना रैतीहरुको सुरक्षा गर्नुृको साटो आपूm अर्कै बस्तीमा गएकाले त्यो राक्षसले गुफाबाट निस्की गाउँमा पसेर आपूm खुसी जो कोही पुरुष, महिला र बच्चाहरुमाथि आक्रमण गर्ने, मार्ने र खाने गर्न थाल्यो ।

बकासुर राक्षसको मनमानीपूर्ण क्रियाकलापबाट विलकुल असहाय बनेका यहाँका नागरिकहरु बकासुरसँग एउटा सम्झौता गर्न बाध्य भए । सम्झौताअनुसार हरेक दिन गाउँबाट एकजना मानिसले दुईवटा गोरुलाई बोकाइएको खानाका साथ आपूmलाई पनि बकासुरको आहाराका रुपमा सुम्पनु पर्ने हुन्छ । संयोगवश त्यो पालो आज हाम्रो घरमा परेको छ । यो घरको लागि चाहिने सबै खर्च मैले नै जुटाउनु पर्दछ । अब म आफै बकासुरको आहारा बनेपछि मेरा सन्तानको हालत के होला ? यही चिन्ताले मलाई पिरोलिरहेको छ ।’

घरपति ब्राह्मणको दुःखेसो सुनेपछि कुन्तीले ‘अरे पण्डितजी, मेरा पाँच भाइ छोरा छन्, म कुनै एक छोरालाई पठाउँछु । उसले त्यो राक्षसलाई पक्कै पनि मारेर तपाइँ र यो गाउँको समस्या समाधान गर्नेछ ।’ तर ब्राह्मण आप्mनो घरमा पाहुना बनेका परदेशीलाई त्यस किसिमको भार बोकाउनु उचित ठानिरहेका थिएनन् । फेरि कैयौं शक्तिशाली र पुरुषार्थी व्यक्तिको पनि त्यो राक्षसको अगाडि केही नलागेको हुँदा ब्राह्मण मानिरहेको थिएन । कुन्तीले फेरि ढाडस दिँदै भनिन्, ‘मेरो माहिलो छोरा भीम बलियो र पराक्रमी छ, उसले त्यो राक्षसलाई मार्नेछ, तपाइँ चिन्ता नलिनुहोस् । बरु यो कुरा गाउँमा कसैलाई नबताउनुहोला, गोप्य रहन दिनुहोला ।’

यति कुरा भएपछि कुन्तीले आफ्ना छोरा भीमलाई सबै कुरा बताई बकासुरका लागि भनी जम्मा गरिएको खाना लिएर त्यो राक्षस बस्ने गुफातिर जान भने । बकासुरको लागि भनेर पठाइएको खाना भीमले बाटोमा जाँदै गर्दा आफैले खाए । बकासुरले ढिलो गरी आएको आहाराले रित्तो गाडा लिई आएको देखेपछि रिसले चूर भयो र भीममाथि आक्रमण ग¥यो ।

बलवान् भीमले बकासुरलाई मारेरै छाडे । भीमले बकासुरको मृत शरीरलाई गाउँको प्रवेश द्वारमा ल्याएर छाडे ताकि सबै गाउँलेलाई थाहा होओस् कि तिनको दुःखको पहाड अब सधैं सधैंका लागि समाप्त भएको छ । भोलिपल्ट गाउँलेहरुमा यो घटना एक कान दुई कान मैदान भयो । सबैले ब्राह्मणसँग सोधपूछ गरे । उनले यो सबै भगवानको खेल हो भनेर सबैलाई शान्त पारे । ९जततउकस्ररभल।m।धष्पष्उभमष्ब।यचनश्रधष्पष्श्रद्यबपबकगच०
एक सामान्य व्यक्तिको हातबाट आप्mना पति बकासुरको मृत्यु भएपछि राक्षस्नी लखी अत्यन्त दुःखित बनिन् । आपूmलाई पटक्कै नियन्त्रण गर्न नसकी बहुलाही जस्तै भई यताउता उफ्रने र पछारिने गर्न थालिन् । यिनै लखी राक्षस्नीको आवेग र विव्हलतालाई तत्कालीन वैश्य (नेवार) जातिले लाखे नाचका रुपमा लोक सांस्कृतिक नृत्यमा रुपान्तरित गरी यसै दिनदेखि लाखे नाच नचाउने परम्परा रहेको कुरा नेवार समुदायका सदस्यहरु विश्वास गर्दछन् । बागलुङ बजारमा यो नाच शाक्य समाजबाट सञ्चालन गर्ने गरिएको छ ।

त्यस समयमा बकासुर राक्षसले त्यो ठाउँका मानिसहरुलाई निकै सताएका हुँदा त्यस ठाउँको जनजीवन अति कष्टकर र त्रासदीपूर्ण थियो । वीर भीमसेनको पराक्रमबाट त्यहाँका वासिन्दाहरुको दुःख दूर भएको हुँदा त्यहाँका मानिसहरु खुशी भई भीमसेनलाई आफ्ना प्राणदाता र पूजनीय व्यक्तित्वका रुपमा जय जयकार मनाउन थालेको भन्ने भनाइ रहेको पाइन्छ । नेवार (वैश्य) जातिको बसोबास भएको हरेक ठाउँमा भीमसेनको मन्दिर निर्माण गरी उनको शक्तिको स्मरण गर्दै भिं द्यका रुपमा आराधना (उपासना) र आजापूजा आजपर्यन्त हुँदै आएको छ ।

बागलुङ बजारमा नेवारहरु आएर बस्न थालेदेखि नै नेवारहरुले आप्mनो उद्गम स्थलमा मनाउने गरिएका लोकसंस्कृति, लोकनृत्य तथा अन्य चाडपर्वहरुको संरक्षण र सम्बद्र्धन गर्नमा अहम् भूमिका निभाउँदै आएका छन् । राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा देशको गौरव र यश बढाउनमा महत्वपूर्ण भूमिका रहेका यी लोकसंस्कृति, लोकनृत्य र चाडपर्वहरुलाई वर्तमानमा संरक्षण र सम्बद्र्धनका लागि थप प्रयास गर्नुपर्ने आजको समयको माग हो । यस किसिमका लोकसंस्कृति बचाउनतर्फ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै आजका युवावर्गले आप्mनो काँधलाई बलियो खम्बाका रुपमा थाम्न जुट्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung