१८ कात्तिक
गलकोट नगरपालिका–७ मल्ममा सोमबारदेखि छैठौँ तिहारे मेला शुरु हुँदैछ । जनहित कला केन्द्र, मल्मले आयोजनामा हुने मेला तीन दिनसम्म चल्नेछ । मेलाको तयारी पुरा भएको केन्द्रका संयोजक ज्ञानबहादुर थापाले बताउनुभयो । मेलामार्फत् खेल, कला र संस्कृति प्रवद्र्धनको उद्देश्य लिइएको छ ।
केन्द्रले विसं २०७० देखि मेलाको आयोजना गर्दै आएको छ । मेलामा प्रतियोगितात्मक खेल र विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । मेलामा साविकको वडा स्तरीय पुरष भलिबल, सामूहिक नृत्य, पुरुष रस्साकस्सी र तिहारे भाइ माला उन्ने प्रतियोगिता राखिएको केन्द्रले जनाएको छ ।
‘मेलाको तयारी पुरा भएको छ’, प्रमुख थापाले भन्नुभयो ‘उद्घाटनपछि सोमबारबाटै खेल तथा सांस्कृतिक कार्यक्रम शुरु हुन्छ ।’ केन्द्रको आफ्नै खेल मैदान मल्मको गैराखर्कमा मेला आयोजना हुँदै आएको छ ।’ केन्द्रले पाँच लाख लगानीमा जग्गा खरिद गरि खैलमैदान र कार्यक्रमस्थल व्यवस्थापन गरेको छ ।
मेलामा राखिएको भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम र द्वितियलाई क्रमशः रु. २५ हजार र १५ हजार रुपैयाँ छ । त्यस्तै खुला सामूहिक नृत्यमा प्रथम हुनेलाई रु. १० हजार र द्वितिय हुनेलाई रु. ७ हजार पुरस्कार छ । रस्साकस्सीमा प्रथम र द्वितियलाई क्रमशः रु. ३ हजार रु. २ हजार, माला उन्ने प्रतियोगितामा रु. २ हजार र १५ सय पुरस्कारको व्यवस्था गरिएको छ । मेला राखिने तिहारे भाइ माला उन्ने प्रतियोगिता सिर्जनशील र रोमाञ्चक हुने गरेको छ ।
छिटो मालो उन्ने विजेतालाई पुरस्कृत गर्ने गरिएको छ । मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । गायक विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, ईश्वर सिंह, कर्ण परियार, आशिष अविरल, राम खत्री लगाएतले मेलामा सांगीतिक प्रस्तुती दिनेछन् ।
मेला अवलोकनका लागि गलकोट क्षेत्रका विभिन्न स्थानबाट दर्शकहरु मल्म पुग्ने गरेका छन् । मेलाको तयारी र प्रचारप्रसारको कामलाई तिव्र पारिएको आयोजकले जनाएको छ । मेला सफल पार्न सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ । मेलामा राखिएको विभिन्न पुरस्कार र सम्मानको लागि देश विदेशमा रहेका शुभेच्छुकबाट प्रायोजन जुटाइएको छ ।
















































































































































































