७ कार्तिक २०८३, शुक्रबार

 

चाडपर्वको रौनकसँगै चोरीका घटना बढे

दशैं तिहार जस्ता ठुला चाडपर्वमा चोरीका घटना बढ्ने गरेका छन्।

दशैंमा काठमाडौंमा धेरै स्थानमा धनमाल चोरी भएकोमा तिहारको रमझमसँगै फेरि चोरीका घटनामा वृद्धि भएको छ। काठमाडौंका विभिन्न स्थानमा आइतबार मात्रै करिब ६ लाख २ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–३२ सोल्टीमोड पेप्सीकोला डेरा गरी बस्ने ओखलढुंगा गमनटारका लोकेन्द्र मगर र राज कुमारको कोठाबाट आइतबार दिउँसो सुन तथा चाँदीका गहना र नगद ११ हजार ८ सय रुपैयाँ समेत गरी करिब १ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

यसैगरी काठमाडौं महानगरपालिका–११ बबरमहलमा डेरा गरी बस्ने ३८ वर्षीया रमिला थापामगरको कोठाबाट सुनका गहना, मोबाईल १ थान र नगद ५ हजार समेत गरी करिब १ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

साथै काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा डेरा गरी बस्ने दोलखाका २६ वर्षीया देवीमाया फुयाँलको र रसुवा उत्तरगया गाउँपालिका–३ की अमृता गरुङको छुट्टाछुट्टै कोठाबाट सुनका विभिन्न गहना र दुबै जनाको नगद ६० हजार रुपैयाँ समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

काठमाडौं महानगरपालिका–३१ जागृतिनगरस्थित डेरा गरी बस्ने खोटाङ्ग बराह पोखरी–३ घर भएकी शान्तिमाया मगरको कोठाबाट ल्यापटप १ थान र नगद ६० हजार रुपैयाँ समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung