७ कार्तिक २०८३, शुक्रबार

 

१२ वर्षीया बालिका बलात्कार र हत्या आशंकामा पाँच पक्राउ, कुकुरले गर्‍यो संकेत

उदयपुरकी १२ वर्षीया बालिकाको बलात्कार र हत्या आशंकामा पाँच युवा पक्राउ परेका छन्। घर नजिकै जंगलमा बाख्रा चराउन गएकी रौतामाई गाउँपालिका– ३ का दुर्गाबहादुर खड्काकी १२ वर्षीया छोरी एल्जीना खड्काको शव दुई दिनअघि जंगलमा फेला परेको थियो।

प्रहरीले बालिकाको बलात्कार र हत्यामा संलग्न भएको आशङ्कामा स्थानीय नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राईलाई पक्राउ गरेको हो। पक्राउ परेका अर्का एक व्यक्तिको नाम खुलेको छैन।

एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो।

एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ।

शनिबार बाख्रा चराउन गएकी बालिकाको शव आइतबार स्थानीयले खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेका थिए।

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार पाँच युवालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए।

तालिम प्राप्त कुकुरको संकेतका आधारमा प्रहरीले स्थानीय पाँच युवालाई पक्राउ गरेको हो। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ। पोष्ट मार्टमपछि हत्याको थप विवरण खुल्ने एसपी राईले बताए।

‘पक्राउ परेकामाथि अनुसन्धान भैरहेको छ,’ राईले भने, ‘स्थानियवासीले पनि बालिकाको हत्यामा उनीहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको हो।’

अनुसन्धानमा गएको कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुनसक्ने अनुमान गरेको छ। मृतक बालिकाको चप्पल शवभन्दा केही पर फेला परेको थियो।

घटना स्थल सदरमुकाम गाईघाटबाट ७५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्छ। मृतकका बुबा खड्काले छोरीको बलात्कारपछि हत्या भएको बताए।

गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा आइतबार दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा उनी मृत भेटिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung