– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले एक लाख घुससहित बाराबाट एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रहरी निरीक्षक लक्ष्मणबहादुर खड्काले जानकारी दिए ।
स्थानीय व्यापारीसँग तस्करीको लाइन मिलाउने शर्तमा रकम लिदै गर्दा प्रहरी हवल्दार हजरालाई रङ्गेहात पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले बताए । अख्तियारको टोलीले कलैया उपमहानगरपालिका, १ स्थित देवकीलाल धर्मशाला परिसरबाट प्रहरी उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार पक्राउ परेको विषयमा अख्तियारले आफूलाई जानकारी गराएको बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए ।
प्रहरी जवानबाट हालै मात्र प्रहरी हवल्दारमा बढुवा भएका हजरा जिल्ला प्रहरी कार्यालयको फटिक कमाण्डरका रुपमा कार्यरत रहेको एसपी भट्टराईले बताए ।


















































































































































































































