५ कार्तिक २०८३, बुधबार

 

३ महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ५० अर्ब

नेपालले साउनदेखि असोजसम्म ३ खर्ब ५० अर्वको व्यापार घाटा बेहोरेको छ।

असोज सम्ममा २५ अर्ब ७४ करोडको वस्तु विदेश निर्यात भएकोमा ३ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

तीन महिनामा कुल वस्तु निर्यात १६.१ प्रतिशतले बृद्धि भएको देखिएपनि निर्यात ४३.६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैँकले आज जारी गरेको तथ्याङ्कले देखाउँछ।

गन्तव्यका आधारमा भारततर्फ २०.२ प्रतिशत, चीनतर्फ १४.४ प्रतिशत र अन्य मुलुकतर्फ ११.२ प्रतिशतले निर्यात बृद्धि भएको छ। वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, ऊन, गलैँचा, पश्मिना, दन्तमञ्जन लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, रोजिन, छाला, जिआई पाईप, अल्मुनियम लगायतका वस्तुहरुको निर्यात घटेको छ।

वस्तु आयाततर्फ आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४०.८ प्रतिशत, चीनबाट भएको आयात ४५.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५०.५ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ, अन्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा बृद्धि भएको छ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कन्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा ह्रास आएकोछ भने अन्य नाकाबाट भएको आयातमा बृद्धि भएको छ।

३ महिनाको अवधिमा कूल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले विस्तार भई रु ३४९ अर्ब ८४ करोड पुगेको छ।

उक्त अवधिमा निर्यात-आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ।अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.९ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung