३ श्रावण २०८३, आईतवार

 

बीपीसँग चार दिन

त्यतिबेला जगन्नाथ आचार्य १७ बर्षका थिए । भर्खरै ओठमा दाह्रीका रेखाहरु बस्दै थिए । यौवनले उनलाई छुँदै थियो । त्यही बेला उनको भेट बुद्धिमान राईसँग भयो । उनको घर पूर्व २ नं रहेछ । उनी अन्धा रहेछन् । अयोध्यामै भेट भएका बुद्धिमानसँग आचार्यको त्यसपछि भने दिनहुँ जसो भेट हुन थाल्यो । हिमचिम बढ्यो । त्यो बेलासम्म जगन्नाथलाई उनी राजनीतिज्ञ हुन् भन्ने हेक्का थिएन ।

त्यसपछि हरेक दिन नेपालको राजनीतिका बारेमा नयाँनयाँ ज्ञान जगन्नाथलाई बुद्धिमानले दिन थाले । राजनीतिको बारेमा केही नबुझेका जगन्नाथ साधुका भेषमा देखिएका ती राजनीतिज्ञको प्रशिक्षणमा लिन हुन पुगे ।

“जतिबेला सैनिक शक्तिको आडमा राजाले निर्दलीय निरङकुश पञ्चायती व्यवस्था जनतामाथि लादेर ३० वर्षसम्म शोषण र दमनले देशलाई अत्यन्त जर्जर अवस्थामा पु¥याए । उक्त काण्डले देशभक्त, इमान्दार नेपालीहरु कति जेल परे, कति मौलामा काटिए, कति ज्यँुदै खाल्टोमा पुरिए, कतिलाई झुण्ड्याएर मारियो, कतिले सर्वस्वहरणमा परेर प्रवासमा जीवन निर्वाह गुर्नप¥यो । सोही काण्डमा परेका व्यक्ति रहेछन् बुद्धिमान राई ।” उनले यो कुरा पछि मात्रै थाहा पाए । नेपाली काँग्रस पार्टीले सञ्चालन गरेको २००७ सालको जनक्रान्तिका अगुवा योद्धा रहेछन बुद्धिमान भन्ने कुरा बुझे ।

२०३३ कार्तिक तिर बीपीको एउटा पत्र तिनै बुद्धिमानलाई आयो । अन्धा बुद्धिमानले जगन्नाथलाई नै त्यो पाण्डुलिपी पढेर सुनाउन भने । “त्यसमा लेखिएको विषय गम्भीर थियो । सबै कुरा बुझने क्षमता पनि त्यतिबेला मसँग भइसकेको थिएन । केही झिल्का अहिले पनि सम्झीरहुन्छु । प्रजातन्त्रका लागि सशस्त्र सङघर्ष गरेर मात्र नपुग्दो रहेछ, जनतामा राष्ट्रियताको भावना मर्दै गयो भने प्रजातन्त्रले मात्र राष्ट्र थाम्न सक्तैन जनताबाट टाढा रहेर निर्वासन भोग्नुभन्दा जनताका बीच रहेर फाँसी झेल्नु उपयुक्त छ त्यसैले राष्ट्रियता बचाउन नेपाल फर्कने विचार लिएको छु । सरसल्लाहका लागि तिमी बनारसमा आऊ आदि कुराहरु त्यस पत्रमा थिए । त्यो मेरो बीपीका करकमलले लेखेको पाण्डुलिपि पढ्ने पहिलो सौभाग्य थियो ।” उनले भने ।

बुद्धिमानले जगन्नाथलाई वनारससँगै जान आग्रह गरे । आफूसँगै पैसा नभएका कारण दोमनमा परेका जगन्नाथलाई बुद्धिमानले पैसाको व्यवस्था आफैले मिलाउने सुनाएपछि उनी विद्यालयमा विदा लेखेर उनीसँग वानरस जान तयार भए ।

बनारसका रेलवेको यात्रा उनीहरुले तय गरे । “वानरस पुगेपछि रिक्सा चढेर सान्दाजु (बीपी) को निवासमा पुग्यौ । बिहान ८ बजेको थियो । सान्दाजु कुनै कार्यक्रममा जानु भएको रहेछ । सुशीला भाउजु हुनुहुन्थ्यो अरु दुइ तीन जना राजनीतिक कार्यकर्ता पनि थिए । सुशीला भाउजु अत्यन्त खुसी हुनुभयो । म त अपरिचित थिएँ तर बुद्धिमानजी चिरपरिचित हुनुहुन्थ्यो । भाउजुले आदरका साथ बस्न भन्नुभयो । उहाँको सद्व्यवहार देख्दा आफ्नै आमालाई भेटेको अनुभुति भयो । उहाँले चिया लिएर दिनुभयो । चिया पियाँै । रात्रीको रेलयात्राले शरिर थकित थियो । दुवैले स्नान ग¥यौ ।” उनले भने ।

त्यहाँ सुशिला भाउजूले गरेको आदर र सम्मान उनको लागि आमाले गरेको भन्दा पनि राम्रो लागेछ । प्रेमपूर्वक दिएको खाना अत्यन्तै स्वादिलो र सम्मान पनि उस्तै पाएको जगन्नाथले सुनाए । ‘अहिले पनि ती कुराको याद गर्दा सान्दाजु र सुशिला भाउजू आफ्नै नजिक भएको महसुस हुन्छ, आँखा भरी आँशु हुन्छ’ उनले मलिन हुदैँ भने ।

अतिथि सत्कारमा सुशीला भाउजुमा जुन विशिष्ट गुण मैले देखे त्यो अहिलेसम्म कुनै नेता मन्त्री वा अन्य नारीमा पाएको छैन । उनले हामीसँग भने । “साँच्चै असल गृृहिणी हुनुहुन्थ्यो सुशीला भाउजु । त्यस्तो गुण कोइराला परिवारको पारिवारिक अनुशासनले गर्दा उहाँमा सरेको हो वा सान्दाजुको व्यवहार कुशल मानवीय गुणको प्रभावले हो या स्वयं भाउजुसँग रहेको अन्तरनिहीत सद्गुण हो मैले अनुमान लगाउन सक्तिन ।” जगन्नाथले भने ।

“सुशीला भाउजु आर्दश नारी हुन् । नेपाली प्रजातन्त्रकी आमा हुन् । उनका बारेमा अहिलेसम्म कुनै कृति लेख्ने आँट कसैबाट भएको छैन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको अतुलनीय योगदान छ । उहाँले खाना खुवाएर हुर्काएका धेरै राजनीतिक हस्तीहरु अझै जीवितै छन् ।” उनले ती दिन स्मरण गर्दै भने ।

दिउँसो बाह्र बजेतिर सान्दाजु (बीपी) निवासमा आउनुभयो । राईजीलाई देख्दावित्तिकै प्रेमपुर्वक अङ्कमाल गर्नु भयो । मेरो अनुहार नियाल्दै शिर सुमसुमाउदै स्नेह, प्रकट गुर्नभयो । पहिलो भेटमै मेरो हृदयमा उहाँप्रति आस्थाको बत्ती बल्यो । उनले भने ।

“उच्च कद, अनुहारको आकर्षण वाणीमा माधुर्यता साँच्चै मेरो जीवनमा त्यति श्रेष्ठ र मर्यादित आदर्श पुरुष भेट्न पाएको छैन । बुद्ध, कृष्ण, राम, गान्धी, माक्र्स आदि युग द्रष्टा महापुरुषहरुलाई भेट्न त पाइएन सान्दाजुजस्तै थिए वा अझै उच्च थिए म भन्न सक्तिनँ तर मेरा लागि उहाँ जत्तिको विराट व्यक्तित्व भएको व्यक्ति भेटेको छैन । साँच्चै महामानव हुनुहुन्थ्यो उहाँ, नेपाली समाज समुत्थानका आधारस्तम्भ र प्रजातान्त्रिक समाजवादी राजनीतिक चिन्तनका सगरमाथा अहिलेसम्म मेरो मनले सान्दाजुलाई नै मानेको छ ।” जगन्नाथले भने ।

त्यसपछि राईजीसँग मेलमिलापमको नीति लिएर नेपाल फर्कने विषयमा लामो छलफल भएको तर आफूले बुझ्न नसकेको उनी बताउँछन् । तर बङ्गलादेश, अफगानिस्तान, वर्मा, पाकिस्तान र दक्षिण एशियाली देशको राजनीतिक अस्थिरतका कारण नेपालको राष्ट्रियताका बारेमा पर्ने खतरा र विश्वका शक्तिशाली राष्ट्रहरुको बल मिचाइको उदाहरण दिएर प्रजातन्त्रको लागि मात्र लडाँइ लड्दा राष्ट्रियता नै गुम्न सक्ने सम्भावना देखिएकाले आफु राष्ट्र बचाउन मेलमिलापको नीति लिएर नेपाल फर्किन लागेको कुरा मैले बुझेँ उनले भने ।

सान्दाजुसँगै दुई ओटा कार्यक्रममा सँगै सहभागी हुने मौका जगन्नाथले पाए । एउटा साहित्यिक कार्यक्रम थियो भने अर्काे राजनीतिक भेटघाट । म सान्दाजुसँग हिड्न पाएकोमा फुरुङग थिएँ र भाग्यमानी पनि ठानेको थिए । उहाँले धौलागिरी अञ्चलका धेरै गाउँका नामहरु बताउनु हन्थ्यो । मैलाई थाहा थिएन ती गाँउका नामहरु धेरै काँग्रेसी कार्यकर्तालाई चिन्छौ भनेर सोध्दा पर्वत मल्लाजका मोहनबहादुर मल्लबाहेकहरु कसैलाई मैले चिनेकै थिइन ।

मेरै गाउँ जिमु कुलपति उपाध्यायको नामभन्दा म आश्चर्यचकित भएको थिए उनले सुनाए ।वनारसको छोटो बसाइमा सान्दाजुको पितृस्नेह, सुशीला भाउजुको मातृस्नेह प्राप्त गरेको चिरस्मरणीय र सदास्मरणीय भइरहेको उनले बताए । चार दिनको त्यो साँझपछि विदाईका बेला बीपीले उनलाई दुई पुस्तक हातमा थमाएका थिए ।

हिन्दीमा अनुबाद गरिएका लुई फिशरले लेखेको ‘गान्धी और स्टालियन’ र गोर्कीको ‘माँ’ उपन्यास बीपीले उनको हातमा थमाई दिएका थिए । त्यतिबेला बिपीले जगन्नाथलाई भनेका थिए “बाबु तिमीले यी कितावहरु धेरैपटक पढ्नु र व्यवहारमा उतार्ने प्रयास गुर्न ।गान्धी र स्तालिन पुस्तकले विचार दिन्छ भने साहित्यकार माक्सिम गोर्किको प्रसिद उपन्यासले संगठन कसरी गर्ने भन्ने ज्ञान दिन्छ । सँधै तिमीलाई अगाडि बढ्ने उज्यालो बाटो देखाउने छन् ।” उनले हामीलाई सुनाए ।

(जगन्नाथ आचार्यसँग नयाँ विश्वट डट कमका कार्यकारी संम्पादक मुकेश राजभण्डारीले गरेको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung