सेतै कपाल । मुजा परेका गाला । ढल्कदोँ उमेर । झट्ट हेर्दा इशोधा चौँलागाइ बुढ्यौलीका उदास दिनहरु काट्दै होलिन् जस्तो लाग्छ । तर, त्यो सोचियो भने गलत हुन्छ । ७४ वर्षीया चौँलागाइको अन्र्तकथा बेग्लै छ । भिन्न सोँच, सङ्घर्ष र मेहनतले बुनिएको एक नौलो कथा ।
नेपालमा लाखौँ ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझ्छन् । तर, चौँलागाइ यस्ती पात्र हुन् जसले भत्ता सँगालेर बाख्रापालन गरेकी छिन् । दैनिकी सहज होस् भनेर सरकारले दिएको सुविधालाई आयआर्जनमा लगाएकी छिन् ।
रामेछाप चरीकोटकीकी इशोधा बागलुङ बस्न थालेको दश वर्ष बित्यो । नेपाली सेनामा रहेका छोरा खहरीले २३ नं. बाहिनी बागलुङमा सेवारत हुँदा यतै घरजग्गा जोडेपछि उनीपनि यतै आइन् । उनका श्रीमान रुद्रलाल पनि यतै आए ।
‘छोराले बागलुङमा घर किनेपछि हामीलाई पनि बोलायो, एक्लो छोरोको माया मार्न सकिएन’ इशोधाले भनिन्, ‘जन्मथलो चरीकोट छोडेर आयौं ।’ फुर्सदका दिन काटन् गाह्रो भएपछि चौँलागाइ दम्पत्तीले बाख्रा पाल्ने जुक्ति निकाले ।

बाख्रापालनको योजना सरकारले दिएको भत्ताले साकार बनेको इशोधाले सुनाइन् । बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने चौलागाइ दम्पत्तीले छुट्टाछुट्टै बाख्रा पालेका छन् । छोराबुहारीले पनि छुट्टै बाख्रा पालेका छन् । ‘भत्ता पाएको पहिलो रकमबाटै बाख्रा खरिद गरी पाल्न शुरु गरेकी हुँ’ इशोधाले भनिन् । भत्ता रकम थपिदैँ जाँदा बाख्रा पनि बढ्दै गए । बाख्रापालनले व्यवसायको रुप लियो । अहिले श्रीमान श्रीमतीका गरी सात बाख्रा छन् ।
छोरा खहरीले घरमै पसल समेत चलाएका छन् । त्यही पसलमा दिनभरी चौँलागाइ दम्पत्ती बस्छन् । अगाडिको चौरमा बाख्रा हेर्छन् । रुद्रलालका दुई बोका, एक पाठी र दुई माउ बाख्रा छन् । इशोधाका एक पाठी र माउ मात्रै छ ।
इशोधाले शुरुमा ओडारचौरबाट दश हजारमा माउ बाख्रा ल्याएर व्यवसाय शुरु गरेकी हुन् । ‘यस्ले गर्छी भनेर पत्याएका थिएनन्, तर गरेरै छाडेँ’ इशोधाले भनिन्, ‘काम नगरी खाली त बस्नै सक्दिन ।’ बच्चादेखि नै खेतबारी, वनमा घाँस दाउरा गर्दै आएको उनले सम्झिइन् ।
कुलपूजा, भाकल, विवाह, भोजभतेरको बेला मानिसहरु बोका खोज्न इशोधाकहाँ पुग्छन् । ‘एउटै बोकाको मुल्य १५/२० हजारसम्म पर्छ’ उनले भनिन्, ‘मेहनतको फल उठ्छ, हामी यसैमा खुसी छौँ ।’ बढ्दो उमेरमा पनि श्रमप्रतिको लगावका कारण इशोधा प्रशंसा पनि बटुल्न सफल छिन् । परिश्रम र मेहनत गर्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी छिन् ।
बाख्रपालनबाटै उनले गरगहनासमेत जोडेकी छिन् । सात गेडी, तिलहरी, ढुङ्ग्री लगाएतका गहना कमाएको उनको भनाइ छ । ‘कानमा अझै सुन थप्ने इच्छा छ, चन्द्रमा पनि बनाउनु छ’ इशोधाले सुनाइन् । उनले भत्ता रकमलाई फजुल खर्च नगरी लगानी गर्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने प्रमाणित गरेकी छिन् ।
चरन क्षेत्र नहुँदा समस्या भएको उनले गुनासो गरिन् । ‘एउटा मात्रै छोरा, छोराको मायाले बागलुङसम्म आइयो, जेष्ठ नागरिक भत्ताले बाख्रा पालेर यतिसम्म आम्दानी भएको छ’ इशोधाले भनिन्, ‘सरकारले भत्ता बढाउँछ भनेर चुनावमा सुनेको हो, भत्ता बढाइदिए बाख्रापालनमा सहयोग पुग्थ्यो ।’
भिडियाे













































































































































































































