बागलुङ । कृष्ण जन्माष्टमीको अवसरमा शनिबार बागलुङ बजारमा भगवान कृष्णको रथयात्रा निकालिएको छ। बागलुङ नगरपालिका–३ राधाकृष्णटोलस्थित ऐतिहासिक राधाकृष्ण मन्दिरबाट निकालिएको कृष्णको रथलाई बजारका विभिन्न चोक तथा टोल परिक्रमा गराइएको हो।
रथलाई बजारका विभिन्न स्थानमा परिक्रमा गराउँदै भक्तजनले पूजाआजा तथा दर्शन गरेका थिए। रथयात्रामा स्थानीय श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो।
राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीका अनुसार कृष्ण जन्माष्टमीका अवसरमा परम्परागत रूपमा रथयात्रा निकालिँदै आएको छ। धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले रथयात्रा आयोजना गरिएको उहाँले बताउनुभयो।
बागलुङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीका दिन विशेष पूजाआजा गरिँदै आएको छ। जन्माष्टमीका अवसरमा मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको भीड लाग्ने गर्दछ।
रथयात्राले बागलुङको पुरानो धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कार र संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ।
















































































































































































