बागलुङ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बागलुङ नगरपालिका–४, कुँडुलेस्थित फुलवारी टोलमा रहेको जलेश्वरधाम शिवालय मन्दिरमा राधाकृष्ण भगवानको विग्रह प्राणप्रतिष्ठा गरिएको छ।
धार्मिक विधि तथा परम्पराअनुसार आयोजित समारोहमा १००८ श्री स्वामी ऋषी प्रपन्नाचार्यले राधाकृष्णको विग्रह प्राणप्रतिष्ठा गर्नुभएको हो। प्राणप्रतिष्ठाका क्रममा वैदिक मन्त्र उच्चारण, पूजा, आराधना तथा विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरिएको जलेश्वरधाम राधाकृष्ण मन्दिरका अध्यक्ष यामलाल आचार्यले नयाँ विश्वलाई जानकारी दिनुभयो।
अध्यक्ष आचार्यका अनुसार राधाकृष्णको विग्रह प्राणप्रतिष्ठापछि मन्दिरको नामसमेत जलेश्वरधाम राधाकृष्ण मन्दिर राखिएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा स्थानीय भक्तजन, श्रद्धालु तथा धार्मिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी श्रद्धालुले राधाकृष्णको दर्शन तथा पूजा–आराधना गरी धार्मिक लाभ लिएका थिए।
जलेश्वरधाम शिवालय मन्दिर परिसरमा राधाकृष्णको विग्रह स्थापना तथा प्राणप्रतिष्ठा भएपछि मन्दिरको धार्मिक महत्व थप बढ्ने स्वामी ऋषी प्रपन्नाचार्यले बताउनुभयो। राधाकृष्णलाई हिन्दू धर्मावलम्बीहरूले प्रेम, भक्ति, समर्पण र धार्मिक आस्थाको प्रतीकका रूपमा पूजा गर्ने भएकाले विग्रह स्थापनाले मन्दिरमा धार्मिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।
श्रीकृष्ण जन्माष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने धार्मिक परम्पराअनुसार देशभरका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा विशेष पूजा, भजन–कीर्तन, प्रवचन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ।
स्थानीय धार्मिक तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने स्थानीय श्रद्धालुहरूको विश्वास छ। राधाकृष्णको विग्रह स्थापना भएसँगै आगामी दिनमा जन्माष्टमीलगायत विभिन्न धार्मिक पर्वमा मन्दिरमा थप भक्तजन, श्रद्धालु तथा धार्मिक पर्यटक भित्रिने अपेक्षा गरिएको छ।


















































































































































































