काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात सहित बाक्लो हिउँ जमेको छ।पश्चिमी वायुको प्रभावले सोमबार बिहानैदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। चन्द्रागिरिमा हिउँ जमेको हो।
हिउँ खेल्न चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकाल सहितका व्यवसायी बिहानै केवलकार चढेर चन्द्रागिरि चुचुरोमा पुगेका छन्।मौसमविद् शान्ति कँडेलले पश्चिमबाट सुरु भएको वर्षा पूर्वतिर सर्दै गएको बताइन्। ‘वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ,’ कँडेलले भनिन्, ‘मकवानपुरको दामन, दोलखाको कालिञ्चोक, जुम्ला, हुम्ला लगायतका ठाउँमा हिमपात भइरहेको छ।’
जुम्ला र हुम्लामा पनि हिमपातले जनजीवनसमेत प्रभावित भएको छ। हिमपातले हुम्लामा हवाई उडानसमेत रोकिएको छ।काठमाडौं उपत्यकामा तीन महिनापछि पानी परेको हो। गएको असोजयता काठमाडौं उपत्यकामा पानी परेको थिएन।सोमबार बिहान ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ।नेपालखबरबाट













































































































































































































