२२ बैशाख २०८१, शनिबार

 

भेनेजुएलामा कुन देश कसको समर्थनमा ?

बीबीसी । दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग नेपालको खासै लेनदेन वा सोझो साइनो केही छैन।

तर त्यही मुलुकमा मच्चिएको उत्पातले गएको साताभर नेपालको कूटनीति उल्झियो।

सत्ताधारी दलले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको समर्थनमा वक्तव्य निकालेपछि त्यसले अमेरिका नेपालसँग स्पष्टरूपमै चिढिएको छ।

लगत्तै परराष्ट्र मन्त्रालयले अर्को विज्ञप्ति निकाल्यो। तर त्यसको सारमा पनि भेनेजुएलामा “बाह्य हस्तक्षेप” हुन नहुनेमा जोड दिइएको छ।

को कता छन्?
खासमा भेनेजुएलालाई लिएर अहिले विश्वभरनै अन्तर्राष्ट्रिय मत बाझिएका छन्।

शनिवार भेनेजुएलाका सडकमा परस्पर विरोधी दुई थरी र्‍याली निकालिए।

राष्ट्रपति मदुरो एवं स्वघोषित अन्तरिम राष्ट्रपति गुएइदोका पक्षमा हजारौँ प्रदर्शनकारी उत्रिए।

गुएइदोले मदुरोले सत्ता नछाडेसम्म विपक्षीको सडक आन्दोलन जारी रहने बताए भने मदुरोले चाहिँ आफूमात्र भेनेजुएलाको वैधानिक राष्ट्रपति भएको बताए।

पछिल्लो गतिरोध मदुरोले विवादित चुनाव जितेको भन्दै सपथ ग्रहण गरेपछि सुरु भयो।

उक्त चुनावमा कैयौँ विपक्षी नेताहरूले भाग लिएनन् किनकि या त उनीहरू जेलमा थिए या उनीहरूले चुनाव बहिष्कार गरेका थिए।

भेनेजुएलाको राष्ट्रियसभाका अध्यक्ष गुएइदोले त्यसपछि संविधानले राष्ट्रपति अवैधानिक भए अस्थायी रूपमा सत्ता सम्हाल्न भनेको भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

अन्तर्राष्ट्रिय समुदायमध्ये कतिपयले मदुरोको समर्थन गरेका छन् भने कतिपयले उनलाई चुनौती दिएका स्वघोषित अन्तरिम राष्ट्रपति ह्वान गुएइदोलाई समर्थन गरेका छन्। प्रस्तुत छ कुन देशले कसको समर्थन गरिरहेका छन् भन्ने एक विवरण:

गुएइदोको पक्षमा को?
अमेरिका: अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध राष्ट्रपति ट्रम्पले गुएइदोलाई गत साता अन्तरिम राष्ट्रपतिको मान्यता दिनुभन्दा अगाडि देखि नै खराब थियो।

सन् १९९८ मा समाजवादी नेता हुगो चाभेज राष्ट्रपति निर्वाचित भएदेखि नै दुई देशको सम्बन्धमा तनाव आयो। चाभेजले देशको अर्थतन्त्र पुनर्संरचना गरे अनि अमेरिकी विदेश नीतिको विरोध गरे।

सन् २०१३ मा चाभेजको निधनपछि उनको उत्तराधिकारीका रूपमा मदुरो उदाए।

मदुरोले देशको अदालत तथा सुरक्षा फौजलाई राजनीतिक विपक्षी तह लगाउन प्रयोग गरेको भन्दै अमेरिकाले निरन्तर विरोध गरिरहेको छ।

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि गुएइदोलाई समर्थन गरेका छन्।

उनलाई समर्थन गर्ने अन्य देशहरूमा अस्ट्रेलिया र क्यानडा पनि छन्।

युरोपेली युनियनका देशहरूले मदुरोलाई चाँडोभन्दा चाँडो विश्वसनीय चुनाव गराउन नत्र उनीहरूले पनि गुएइदोलाई मान्यता दिने चेतावनी दिएका छन्।

ल्याटिन अमेरिकी देशहरूमध्ये धेरैले गुएइदोको समर्थन गरेका छन्।

लिमा समूह नामक समूहको मेक्सिकोबाहेक सबै सदस्य देशले उनको समर्थन गरेका छन्। तिनमा आर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, ग्वाटमाला, होण्डुरस, पाराग्वे र पेरु रहेका छन्।

मदुरोको समर्थनमा को को?
रुस: रुसले राष्ट्रपति मदुरोलाई निरन्तर समर्थन गर्दै आएको छ। उसले अमेरिकालाई सैन्य कारबाही नगर्न चेतावनी दिएको छ। अवैधानिक रूपमा अमेरिकाले त्यहाँ सत्ता पल्टाउन खोजेको उसले आरोप लगाएको छ।

अन्तर्राष्ट्रिय जगतबाट विस्तारै एक्ल्याइँदै गएका मदुरोको निम्ति रुसले सैन्य तथा आर्थिक सहारा प्रदान गर्दै आएको छ।

गत महिना मस्कोले उनको समर्थनमा दुई वटा आणविक अस्त्रको क्षमता जडित बमवर्षक विमान सो क्षेत्रमा पठाएको थियो।

मदुरोको सरकारको समर्थनमा रुसले अर्बौँ डलरको ऋण सहयोग गरेको छ।

चीन: हुन त रुसले भेनेजुएलामा निकै लगानी गरेको छ तर सो देशको सबभन्दा ठूलो ऋणदाता चाहिँ चीन नै हो।
चिनियाँ कम्पनीहरूले उक्त ल्याटिन अमेरिकी देशमा अर्बौँ डलरका परियोजनाहरूमा लगानी गरेका छन्।

गत साता चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले सबै पक्षलाई संयम अपनाउन र शान्तिपूर्ण राजनीतिक सहमतिका लागि आह्वान गरिन्।

“विदेशी शक्तिहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोप्रति चीन विरोध गर्दछ,” बेइजिङको समर्थन मदुरोप्रति रहेको झल्काउँदै उनले थपिन्।

चीन र रुस दुवै संयुक्त राष्ट्रसंघको भिटो क्षमतायुक्त स्थायी सदस्य राष्ट्र हुन्।

मदुरोको सत्तालाई समर्थन गर्ने अन्य देशहरूमा क्युबा, टर्की र इरान छन्।

निकारागुवा तथा बोलिभियाजस्ता उसका पुराना समाजवादी मित्र देशहरूले मदुरोको समर्थन गरेका छन्।

मेक्सिकोले चाहिँ तटस्थ रहने भनेको छ तर विद्यमान कूटनीतिक सम्बन्ध जस्ताको तस्तै रहने पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्