आज (शुक्रबार) पनि काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार देशको पश्चिमी भेगमा बिहीबारदेखि नै वर्षा जारी छ भने काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका पनि केही स्थानमा पानी पर्ने सम्भावना छ।
‘पश्चिमी क्षेत्रमा त अहिले पनि वर्षा भइरहेको हुन सक्छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘अपराह्नपछि काठमाडौंसहित देशका मध्य तथा पूर्वी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ।’
मौमस पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहने देखिन्छ, पश्चिमी भू-भागका अधिकांश स्थानहरूमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
यस्तै राति पनि देशभर सामान्यतया बदली रहने देखिएको छ।
पश्चिमी भू-भागका अधिकांश स्थानहरूमा र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायुको न्यून चापीय प्रणालीले मौसममा पारेको यो असर शनिबारसम्मै जारी रहने मौसमविद् नगरकोटीले जानकारी दिइन्। उनले भनिन्, ‘आइतबार दिउँसो वा बेलुकादेखि मात्र मौसम सुधार हुने देखिन्छ।’













































































































































































































