काठमाडाैं । आज मे ५ तारिख अर्थात् विख्यात दार्शनिक कार्ल मार्क्सको २०१ औँ जन्मदिन।
प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो कार्ल मार्क्स। उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा “अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।”
बालबालिकालाई पढाउनुपर्छ
केही मानिसहरूले यो कुरालाई एउटा भनाइका रूपमा मात्र लिन सक्छन्। तर सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखिरहेका बेला मार्क्सले बालश्रमको चर्चा गरेका थिए। अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१६ को तथ्याङ्क अनुसार अहिले पनि संसारमा १० मध्ये एक बच्चा बालश्रमिक छन्।
धेरै बालबालिकाहरू कलकारखाना छाडेर विद्यालय जानुमा मार्क्सको ठूलो देन छ। ‘द ग्रेट इकोनोमिस्ट’ पुस्तककी लेखिका लिण्डा यू भन्छिन्, सन् १८४८ मा जारी मार्क्सको घोषणापत्रमा बालबालिकालाई निजी विद्यालयमा निःशुल्क शिक्षा दिइनुपर्ने कुरा १० बुँदामध्ये एउटा थियो। कलकारखानामा हुने बालश्रममाथि रोक लगाउनुपर्ने कुराको पनि त्यसमा चर्चा गरिएको थियो।
आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ
के तपाईँ हप्ताको सात दिन काम गर्नुहुन्छ? कामका बेला खाजा–खाना खाने समय लिनुहुन्छ? एउटा निश्चित उमेरपछि तपाईँ सेवा निवृत्त हुन र निवृत्तिभरण पाउन चाहनुहुन्छ? यदि तपाईँको जवाफ सकारात्मक छ भने तपाईँ मार्क्सलाई धन्यवाद दिन सक्नुहुन्छ। समय तपाईँको हुँदैनथियो भने तपाईँ आफ्नो जिन्दगीका लागि सोच्न पाउनु हुँदैनथियो।
पुँजीवादी समाजमा मान्छेलाई बाँच्नका निम्ति उनीहरूको श्रमलाई कसरी वाध्यता बनाइनेछ भन्नेबारे मार्क्सले लेखेका थिए। उनका अनुसार मानिसहरूलाई अधिकांश समय उनीहरूको परिश्रम अनुसारको पारिश्रमिक दिइने गरिएको थिएन र उनीहरूमाथि शोषण गरिएको थियो।
मार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस्। उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस्।
वास्तवमा मार्क्स भन्छन् हामीले हाम्रो जीवन यसरी जिउनुपर्छ कि जसको मूल्याङ्कन कामले नगरियोस्। एउटा यस्तो जीवन जसको मालिक हामी आफैँ होऊँ, जहाँ हामी आफैँले यो कुराको निर्धारण गर्न सकौँ कि हामी कसरी जिउन चाहन्छौँ। आजकाल यही सोचका साथ मानिसहरू जिउन चाहन्छन्।
रूचि अनुसार काम र श्रम अनुसारकाे दाम
आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई खुशी मिल्छ। तर आफूले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ निराश हुन्छ। यी कुराहरू अरूले नभइ स्वयं मार्क्सले भनेका हुन्। सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा मार्क्सले काममा पाइने सन्तुष्टिलाई मान्छेको भलाइसँग जोडेर हेरेका थिए।
तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति थिए। उनको तर्क थियो हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौँ। अतः यो आवश्यक छ कि आफ्नो कामबाट हामीलाई खुशी मिलोस्।
भेदभावको विरोध गर्नुपर्छ
यदि समाजमा कोही खराब छ, यदि तपाईँलाई लागेको छ कि कसैप्रति अन्याय, भेदभाव वा गलत भइरहेको छ भने तपाईँ त्यसको विरोध गर्नुस्। तपाईँ संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस्।
संगठित विरोधका कारण कैयौँ देशको दिशा बदलिएको छ। विभिन्न प्रकारका भेदभावविरूद्ध कानून बनोस्। लण्डनमा हुने मार्क्सवादी कार्यक्रमका आयोजकमध्येका एक लुइस निल्सन भन्छन्, समाजलाई बदल्न क्रान्ति आवश्यक हुन्छ। हामी समाजको राम्रोका लागि विरोध प्रदर्शन गर्छौँ। यसरी सर्वसाधारणले आठ घण्टा काम गर्ने अधिकार पाएका हुन्।
मार्क्सको व्याख्या एक दार्शनिकको रूपमा गरिन्छ। तर निल्सन यो कुरासँग असहमत छन्। उनी भन्छन्, उनले जे लेखे र गरे त्यो एउटा दर्शन जस्तो लाग्छ। तर जब तपाईँ उनको जीवन र कामलाई नजिकबाट नियाल्नुहुन्छ तब तपाईँ महसुस गर्नुहुन्छ कि उनी एक अभियानकर्मी थिए। उनले अन्तर्राष्ट्रिय कामदार संघको स्थापना गरे। उनी गरीबहरूसँगै हड्तालमा सहभागी भए।
महिलालाई मतदानको अधिकार कसरी प्राप्त भयोरु यो अधिकार संसद्का कारण नभइ महिलाहरू संगठित भएर विरोधमा उत्रिएकाले पाए। काम गर्नेहरूले साप्ताहिक बिदा कसरी पाएरु मजदुरहरू संगठित भएर हड्तालमा उत्रिएकाले पाए।
सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छ
सरकार र ठूला व्यापारिक घरानाले साठगाँठ गरे तपाईँलाई कस्तो लाग्ला ? व्यापारिक प्रतिष्ठानले तपाईँका सबै जानकारी सरकारलाई उपलब्ध गराइदिए के तपाईँ आफूलाई सुरक्षित महसुस गर्नुहुन्छ ?
१९ औँ शताब्दीमै मार्क्सले यस्तो महसुश गरेका थिए। हुन त त्यो बेला सामाजिक सञ्जालहरू थिएनन्, तथापि मार्क्स पहिलो व्यक्ति थिए जसले त्यस्तो साठगाँठको व्याख्या गरे।
ब्वेनस आइरिज विश्वविद्यालयका प्राध्यापक भालेरिया वेघ वाइस भन्छन्, मार्क्सले त्यतिबेलै सरकार, ब्याङ्क, व्यापार र उपनिवेशीकरणका प्रमुख एजेन्टहरूबीचको साठगाँठबारे अध्ययन गरे।
उनी थप्छन्, मार्क्सले सञ्चारमाध्यमको शक्ति बुझेका थिए। मानिसहरूको सोचाइ प्रभावित गर्नका लागि सञ्चारमाध्यम उपयुक्त माध्यम थिए। आजकल हामी झुटा समाचारका कुरा गर्छौँ। तर मार्क्सले उहिल्यै यस्तो कुरा बताइसकेका थिए।
मार्क्सले त्यतिबेला प्रकाशित हुने गरेका लेखहरूको अध्ययन गर्दथे। उनी यो निष्कर्षमा पुगेका थिए कि गरीबहरूले गर्ने अपराधलाई सञ्चारमाध्यमले ठूलो स्थान दिन्छन् जबकि नेताहरूले गर्ने अपराधको घटनालाई दबाउँछन्।













































































































































































































