३ जेष्ठ २०८१, बिहीबार

 

चेल्सीलाई युएफा युरोपा लिग उपाधि

आफ्नै देशको आर्सनललाई ४–१ ले हराउँदै इङ्लिस क्बल चेल्सी युएफा युरोपा लिग च्याम्पियन बनेको छ । उसले आठ वर्षपछि उपाधि उठाएको हो । चेल्सीको जितमा इडेन हजार्डले दुई गोल गरे ।

त्यस्तै ओलिवर जिरु र पेड्रोले एक–एक गोल हाने । आर्सनलका लागि एक मात्र गोल इवोबीले ६९औं मिनेटमा गरेका थिए । पेड्रो युरोपा लिग र च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने एक्ला फुटबलर हुन् ।

उनले सन् २०११ मा बार्सिलोनाबाट खेल्दै म्यानचेस्टर युनाइटेडविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए ।

चेल्सीले यो सिजनमा एक खेल पनि हारेन । उसले १५ वटा म्याचमा सबै जितेको छ ।

युरोपेली प्रतियोगिताको सिजनभर कुनै टोलीले एउटै म्याच नहारेको यो ११ वर्षपछि हो । यसअघि सन् २००७–०८ मा इङ्ल्यान्डकै म्यानचेस्टर युनाइटेडले एकै म्याच नहारी च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

अजरबैजानको बाकुस्थित ओलम्पिक मैदानमा भएको यसपालिको फाइनलमा जिरुले ४९ औं मिनेटमा हेडर गोल गरेका थिए । यससँगै यो सिजनमा उनको गोलसंख्या ११ पुग्यो । युरोपा लिगमा एकै खेलाडीले यति गोल गरेको यो १४ वर्षपछाडि हो । सन् २००५ मा न्युक्यासलका तर्फबाट एलन सिएरेरले ११ गोल गरेका थिए ।

खेलको पूर्वाद्धसम्म दुवै टोली ०–० को बराबरीमा थिए । आर्सनलका पिएरे एमिरक अबुमयाङ नवौं मिनेटमा गोल गर्न चुकेका थिए ।

उनले पेनाल्टी एरियाबाहिरबाट हानेको सट गोलपोस्टको छेवैबाट बाहिरियो । त्यस्तै ३९औं मिनेटमा जिरुले हानेको शक्तिशाली प्रहार आर्सनलका गोलकिपर पिटर चेकले उत्कृष्ट बचाउ गरेपछि चेल्सी अग्रता लिनबाट चुकेको थियो ।
चेकको यो दोस्रो फाइनल हो ।

यसअघि सन् २०१३ मा उनले चेल्सीका तर्फबाट फाइनल खेलेका थिए । इङ्ल्यान्डको कुनै एउटा क्लबबाट फाइनल खेलेर अर्को फाइनलमा सोही क्लबसँग विपक्षबाट प्रतिस्पर्धा गर्ने उनी पहिलो खेलाडी बने ।

आर्सनलका मिडफिल्डर हेनरिक मखितार्यन यो म्याचमा देखिएनन् । उनले अजरबैजान र आफ्नो देश अर्मेनियाबीचको राजनीतिक विवादका कारण नखेल्ने फैसला लिएका थिए ।

उनले असुरक्षाको कारण देखाएका छन् । त्यसो त उनले आर्सनलको कुनै म्याच नखेल्ने निर्णय लिएको यो पहिलोपटक होइन । यसअघि समूहचरणमा अजरबैजानको क्लब काराबागविरुद्ध पनि खेलेका थिएनन् ।

चेल्सी र आर्सनल अहिलेसम्म १ सय ९८ म्याचमा आमनेसामने भएका छन् । आर्सनलले ७७ र चेल्सीले ६४ वटा जितेका छन् । ५७ म्याच बराबरीमा टुंगिए । यो सिजनमा दुई टोली तेस्रोपटक आमनेसामने भए ।

यसअघि प्रिमियर लिगमा दुवैले एक–एक म्याच जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्