नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताए । चितवनका पत्रकारसँग कुराकानी गर्दै उनले अभियान कांग्रेस सुधारका लागि प्रारम्भ भएको जानकारी गराए ।
जागरण अभियानले कांग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने, “कांग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।” योमार्फत् कांग्रेसले गति लिएको भन्दै उनले थपे, “कांग्रेसको गाडी स्टार्ट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टार्ट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनकाे दाबी छ ।अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरे ।
शर्माले भने, “जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम कांग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।” पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।
















































































































































































